सुकुम्वासी महिलाका पिडै पिडा, सुरक्षित छैन बसोबास

तुलसीपुर, ९ पुस ।
तुलसीपुर क्षेत्रको विभिन्न सुकुम्वासी वस्तीहरुमा बस्दै आएका महिलाहरुले आफूहरुको सुरक्षित बसोबास हुनु पर्ने माग गरेका छन् । नेपाल महिला एकता समाजको स्थानिय निकायसंगको सञ्जाल विस्तार तथा संघसंस्थासंगको परिचयात्मक कार्यक्रममा बोल्ने महिलाहरुले यस्तो माग गरेका हुन् ।
उनीहरुले महिलाहरु अहिले कसैसंग पनि सुरक्षित नभएको, दिनदिनै महिला हिंसा, बलत्कार जस्ता घटनाले त्रसित बनाइरहेको बेला आफ्नो पनि सुरक्षित बसोबास नहुँदा चिन्ता व्यक्त गरेका छन् । ‘आफ्नो जग्गा छैन, ऐलानीमा टहरा बनाएर बसेका छौँ, सरकारले लालपूर्जा दिने भन्छ तर अझैँसम्म दिएको छैन, कहिले दिन्छ? हामी कहाँ गएर बस्ने?’ सुकुम्वासी महिला देवरुपी नेपालीले भन्नुभयो । ऐलानीमा बसेका छौँ आफूसँग लालपूर्जा छैन , सरकारले जतिबेला जहाँ भनेपनि जानुपर्ला बसोबासको ठेगान छैन, कहाँ जाने?, उहाँले भन्नुभयो ।

महिलाहरु दैनिक जघन्य अपराधका घटनाबाट पिडित भएको घटनाहरु स्मरण गर्दै आफूहरुको बस्ने घर बलियो नहुँदा सधैँ डर र त्रासमा वस्नु परेको अर्कि सुकुम्वासी महिला सुमिता नेपालीले दुखेसो पोख्नु भयो । ‘घर र ढोकाहरु बलियो छैन रातीमा जो पनि घर भित्र पसेर महिलाहरुलाई केही गर्नसक्छ अनि त्यसको जिम्मेवारी कसले लिने?’ उहाँले प्रश्न तेर्स्याउनु भयो।
“सुकुम्वासीहरुको समस्या सुरक्षित बसोबासको सुनिश्चित अधिकार हिंसा मुक्तिको निम्ति महिलाको मूल आधार” भन्ने नाराका साथ आज तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्ने महिलाहरुले यस्तो बताएका हुन् ।

‘सुकुम्बासीहरु नदीको किनार, जंगलको छेउछाउमा बस्ने भएको हुनाले जहाँनेर कमजोर हुन्छ, जहाँ अशिक्षा हुन्छ, जहाँ चेतनाको कमी हुन्छ, जुन महिला बोल्न सक्दैन त्यहीँ हुन्छ हिंसा, त्यस कारण सुकुम्वासीहरुको लागि सुरक्षित बसोबास हुनु पर्छ’ , समाजको अध्यक्ष यमुना परियारले भन्नुभयो । सुकुम्वासी भनेको पिछडिएको समुदाय हो । त्यसैले यिनीहरुको लागि राज्यले नै बसोबासको व्यवस्था मिलाउनु पर्छ, उहाँँले भन्नुभयो ।
नेपाल महिला एकता समाज दाङको अध्यक्ष यमुना परियारको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा शिक्षा शाखाका संयोजक देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी विश्वकर्माले, सुकुम्वासीहरुको समस्या समाधानका लागि तुलसीपुर उपमहानगरपालिका सदैव तयार रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । ‘भूमिहीनहरुको समस्या धेरै छ उनीहरुको समस्यालाई मध्यनजर गर्दै हामीले काम गर्ने हो , तपाईहरु आफ्नो समस्या लिएर आउनुहोस्, हामीलाई भन्नुहोस् हामी सहयोग गर्छौँ’ , उहाँले भन्नुभयो ।

यस्तै कार्यक्रममा पत्रकार अञ्जना चौधरीले सुकुम्वासी महिलाहरुलाई प्रदान गरिने विभिन्न खाले तालिमहरु लिएर व्यवहारमा कार्यान्वयन गरी आर्थिक आयआर्जनमा लाग्न आग्रह गर्नु भयो ।
नेपाल महिला एकता समाज दाङको उपाध्यक्ष सुनिता गन्दर्भको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सन्तोष चनाराले गर्नु भएको थियो ।

निता चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित