दाङको लमहीका २५ किसान उत्कृष्ट घोषित

दाङको लमही नगरपालिका–२ का व्यावसायिक तरकारी खेतीमा संलग्न २५ जना किसान उत्कृष्ट घोषित भएका छन् । ग्रामीण महिला उत्थान केन्द्र दाङले सञ्चालन गरेको कृषि उद्यम प्रवद्र्धन कार्यक्रमअन्तर्गत वडाभित्र तरकारी उत्पादन गर्दै आएका ३०० किसानमध्येबाट उनीहरूलाई उत्कृष्ट किसानका रूपमा छनोट गरिएको हो ।

लमही नगरपालिका–२ केरुनियास्थित समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्थामाआयोजित कार्यक्रममा उत्कृष्ट घोषित किसानलाई सम्मान गरिएको हो । परियोजना संयोजक हिमाल खड्काका अनुसार उत्कृष्ट घोषित २५ जना किसानलाई उद्यमशीलता तालिम प्रदान गर्नुका साथै खेत तथा समुदायमा आधारित १०० दिने कार्ययोजना बनाएर कार्यान्वयन गरिनेछ । उनीहरूलाई उद्यमशीलता तालिम, तरकारी उत्पादनमा आवश्यक कृषि औजार सहयोग तथा कृषि व्यवसायसम्बन्धी ज्ञान प्रदान गरिनेछ । त्यस्तै विद्यालयका विद्यार्थीसँग कृषि विषयमा छलफल र गाउँका किसान समुहसंग किसान उद्यम चौतारी कार्यक्रम समेत सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । किसानमध्ये जुरीको स्थलगत अवलोकन र जियो कृषि भोटिङका आधारमा १० जना छनोट गरिने उहाँले बताउनुभयो । छनोट भएका किसानलाई पिचिङ तालिम संगै सफलताको कथा र प्रगतिका आधारमा तीन जनालाई अन्तिम विजेता घोषणा गरी पुरस्कृत गरिनेछ । किसानलाई व्यावसायिक कृषि उद्यममा आबद्ध गराउँदै उनीहरूको क्षमता विकास, प्रोत्साहन र कृषि क्षेत्रमा नवप्रवर्तनलाई जोड दिन कार्यक्रम सञ्चालन गरिने छ । तरकारीको मूल्य शृङ्खलामा नवप्रवर्तनमार्फत ग्रामीण महिलाको प्रतिस्पर्धात्मक क्षमता विकास परियोजना’ अन्तर्गत कृषि उद्यम प्रवद्र्धन कार्यक्रम हेफर इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

केन्द्रद्धारा सञ्चालित परियोजनाले किसानलाई आत्मनिर्भर बनाउनमा सहयोग पु¥याउँदै आएको लमहनी नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले बताउनुभयो । पालिकामा केन्द्रले परियोजना संचालन गरेपछि किसानहरुको जिवन स्तर माथी उठाउनमा सहयोग पुगेको बताउँदै चौधरीले उत्पादन र बजारीकरणमा दुवै सहयोग पुगेको बताउनुभयो । परियोजनाअन्तर्गत समुन्नति तरकारी सङ्कलन तथा प्रशोधन केन्द्रमार्फत किसानलाई व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित गरी उत्पादन वृद्धि गर्ने, ग्रामीण महिलाको क्षमता विकास गर्ने तथा उनीहरूलाई कृषि उद्यममा प्रोत्साहित गर्दै नवप्रवर्तनमा जोड दिने लक्ष्य राखिएको ग्रामिण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले बताउनुभयो । उहाले परियोजनाले मौसमी तथा बेमौसमी तरकारी उत्पादन बढाउनुका साथै किसानको आम्दानी वृद्धि र व्यावसायिक क्षमता विकासमा जोड दिएको बताउनुभयो । परियोजनाअन्तर्गत विभिन्न सहकारीमा आबद्ध किसानले उत्पादन गरेको तरकारी सङ्कलन गरी स्थानीय तथा अन्य जिल्लाका बजारमा बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित