अट्वारी र यसको महत्व


-छविलाल कोपिला
अट्वारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । योे पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने अट्वारी भदौ महिनामा पर्छ । तर कुनैै साल असोजमा पनि मानेको देखिन्छ । जे जस्तो भएपनि अट्वारी धेरैजसो कृष्ण अष्टिम्की पछिको दोस्रो आइतवार अथवा कुश अमाँवस (कुशे औंशी) पछिको पहिलो आइतबारलाई अट्वारी मान्ने चलन छ । तर अट्वारीको विषयमा विभिन्न मतमतान्तर पनि हुँदै आएको छ । ठाउँ अनुसार चालचलनमा विविधता छ र यसको ऐतिहासिक, धार्मिक, सामाजिक पृष्ठभूमिको बारेमा पनि विभिन्न धारणाहरु अगाडि आएको देखिन्छ । यसकारण पछिल्लो समय यस पर्वको निश्चित तिथि, मिति हुनु पर्ने कुरा थारू समुदायका बौद्धिक वर्गहरुको बहसको विषय पनि बन्दै आएको छ ।

अट्वारी, कुशे औंसीको पहिलो आइतबार ‘बर्का अट्वारी’को रुपमा मानिन्छ भने त्यसपछिको चार आइतबार अांशिक रुपमा छुट्की अट्वारी व्रत बस्ने गर्छन् । यसरी बर्का र छुट्की गरी पाँच आइतबार ‘अट्वारी’ व्रत बस्ने थारू समुदायमा पुरानो चलन हो । यसरी ‘पाँच अट्वारी’ पछि दशैं आउँछ । अथवा कुशे औंसी र दशैको बीचमा आउने पाँच आइतबारलाई अट्वारी मान्न सकिन्छ । यसरी पाँच अट्वारी व्रत बस्ने चलनले पनि कुशे औंसीको पहिलो आइतबारलाई अट्वारी मान्ने चलनको प्रमाण बलियो देखिन्छ । यसरी हेर्दा यस बर्ष कुसे औसी पछिको आइतबार भदौ १५, २२, २९ असोज ५ र १२ गते पर्छ र त्यसपछि दशैं आउँछ । अथवा कुशे औंसी र दशैं बीचको यिनै पाँच वटा आइतबार मात्रै हुन् । त्यसैले पनि यस बर्षको बर्का अट्वारी १५ गते नै हो भन्ने प्रमाणित हुन्छ ।

केही मानिसहरुको धारणा हिन्दु नारीहरुको हरितालिका तीज अनि ऋषि पञ्चमी पछिको आइतबारलाई अट्वारी मान्ने पनि छ । तर योे त्यति सान्दर्भिक देखिदैन । यदि तीजपछिको आइतबारलाई मान्ने होे भने ‘पाँच अट्वारी’ व्रत बस्नेहरुको अट्वारी प्रभावित हुन्छ । अर्को कुरा थारू समुदायमा तीज र ऋषि पञ्चमीको प्रभाव पनि निकै पछिबाट परेको देखिन्छ । यो थारू समुदायको मौलिक पर्व पनि होइन । त्यसकारण यसलाई आधारण बनाएर आफ्नो पर्वको समय निर्धाण गर्न पनि उचित देखिदैन ।

थारू वस्तीमा आजको जस्तो हिजो मिश्रित जातजातिहरुको बसाइ थिएन । थारू समुदायको एकलौटी बसाई थियो । आफ्नै कला, संस्कृति र सामाजिक मान्यताभित्रै रमाउने थारू समुदाय, अन्य समुदायको पर्वलाई आधार बनाएर आफ्नो पर्वको निर्धारण गर्ने विषय पनि हुँदैनथ्यो । अहिलेको जस्तो विभिन्न जातजातिहरुको मिश्रित बसाई र सबैले एकअर्काका कला, संस्कृतिलाई स्वीकारी सकेको अवस्थामा योे कुरा उठ्नु स्वभाविक भएपनि वास्तविकता भने होेइन ।
उसो त कुशे औंसी पछिको पहिलो आइतबार प्रायः तीज पछि नै पर्छ । योे एउटा संयोग मात्र हो । यसले पनि तीज पछिको आइतबारलाई मान्ने भन्ने कुराको बढावा दिन सक्छ । तर योे सत्य होेइन र सँधै यस्तै पनि हुँदैन । कहिलेकाही त तीजकै दिन आइतबार पर्छ । पछिल्लो समय यही तर्ककै भ्रममा परेर फरक फरक आइतबार अट्वारी मान्ने समस्या देखापरेको छ । यसले पाँच अट्वारी मान्नेहरुको व्रत प्रायः प्रभावित पार्छ । कुनैै कुनैै साल समय अनुकूल नभए (गाउँमा हैजा लगायतका रोगको प्रकोप बढी देखिए वा दैविक प्रकोपका कारण) समय हेरेर अट्वारी पर्व मान्ने चलन पनि छ । यसो गर्दा पाँच अट्वारी व्रत बस्नेहरु सबै आइतबार व्रत बस्न सक्दैनन् र अट्वारी पनि फरक फरक मितिमा मनाउने बाध्यात्मक समस्या देखापर्छ ।

रुपन्देहीका साहित्यकार बमबहादुर थारूले ‘रुपन्देहीको थारू समाज र संस्कृति’ भन्ने आफ्नो पुस्तकमा कुशे औंसीको आठौं दिनपछिको आइतबारलाई बर्का अट्वारी मान्ने कुरा उल्लेख गरेका छन् । उनले ‘पाँच अट्वारी’को विषयमा भने कुनैै कुरा उल्लेख गरेका छैनन् । त्यसो त रुपन्देही, नवलपरासी, चितवन लगायतका पूर्वका केही जिल्लामा मनाइने विधि प्रक्रियाहरु पश्चिमा जिल्ला भन्दा फरक छ । तर, कपिलवस्तु, दाङ देउखुरी, बाँके, बर्दिया, कैलाली, सुर्खेत र कञ्चनपुरका थारूहरुमा वैचारिक धारणा फरक फरक भए पनि विधि प्रक्रियामा भने एकरुपता पाइन्छ ।

प्रकृति पुजक थारू समुदायमा खास गरेर योे पर्व सूर्यको पूजा गरेर रुपमा मनाइन्छ । आइतबारलाई रविबार पनि भनिन्छ । रवि भनेको सूर्य (सुरज) अथवा अग्नी । जब भयावह कालरात्रिमा सूर्यको जन्म भयो । त्यसपछि योे संसार उज्यालो भयो भन्ने किम्बदन्ती छ । सूर्यले अँध्यारो चिरेर उज्यालो गराउँछ । जसले गर्दा मान्छे मात्रै होेइन यस पृथ्वीमा बस्ने हरेक प्राणीलाई सजिलो हुन्छ । प्रकृतिप्रति विश्वास गर्ने थारू समुदाय, सूर्य उज्यालोको प्रतीक भएकोले यसको पूजा उज्यालोदाताको रुपमा गरेका हुन् ।

अर्को मिथक महाभारत कथासंग जोडिएको छ । पाँच पाण्डव मध्ये सबैभन्दा बलियो भेवाँ (भीम) थिए । जब कौरव र पाण्डवको लडाइ भयो । त्यसै समय भीम रोटी पकाउँदै थिए । लडाई चरमोत्कर्षमा पुगेपछि उनी रोटी पकाउँदा पकाउँदै टावामै छोडेर लडाईमा हिंडेँ । जब लराइबाट फर्किदा उनी निकै भोकाएका थिए । टावामा छोडेर गएको एक पट्टी मात्र पाकेको रोटी खाएर पेट भरे । अट्वारीमा अक्केकरे रोटी (एक पट्टी मात्र पकाएको रोटी) पकाउने चलन छ । यसरी अक्केकरे रोटी उनै भीमलाई पुज्ने गरिन्छ भन्ने किम्बदन्ती छ भने भीम, थारू राजा दंगीशरणलाई लराइमा सघाएको र सबैभन्दा बलियो पुरुष भीम भएकोले उनी जस्तै बलियो हुने संकल्पका साथ पुरुषहरु उनकै पूजा गरेर अट्वारी व्रत बस्ने विचार पनि जनमानसमा छ । यसरी अट्वारी पर्वको बारेमा अध्ययन गर्दा वैचारिक एकरुपता रहेको पाइदैन । ठाउँ अनुसार फरक फरक विचार, चालचलन र प्रक्रिया रहेको पाइन्छ ।

अट्वारी, व्रत बसेर मनाउने पर्व भएकोले यसमा पनि ‘डटकट्टन’ (दर) खाने चलन छ । दर खानाका लागि शनिबार दिनभरि माछा मार्ने र अरु तिहुन, तरकारीको जोहो गरिन्छ । माछाको सुखौरा (सुकुटी) धेरैजसो पहिल्यै तयार गरिएको हुन्छ । अट्वारीमा माछाको सुखौरा विशेष मानिन्छ । तर अन्य कुनैै चीजको मासु भने हुँदैन । सागमा पोंइ अनिवार्य जस्तै हुन्छ । भिन्डी, टोरैं, ठुसा (मास जस्तै एक प्रकारको दाल बाली, झिलिङ्गी, सिल्टुङ) लगायतका तरकारी हुन्छ । ‘डटकट्टन’ व्रत बस्नेहरु भाले बास्नु भन्दा पहिले खानु पर्छ । यदि खानुभन्दा पहिले भाले बासे भने ‘डटकट्टन’ खान पाइदैन । खाए भने ऊ व्रत बस्न पाउँदैन । उसलाई जुठो मान्ने चलन छ ।
आइतबार अथवा अट्वारीको दिन व्रत बस्नेहरुको खान भान्सामा पाक्दैन । उनीहरु बिहानै नुहाएर बहरी (घरको प्रवेशद्वारको पहिलो कोठा) या आँगनमा गाईको गोबरले लिपपोत गर्छन् । लिपपोत गरेर ‘कोरे आगी’ (भान्सामा पहिले प्रयोेग नभएको आगो, चोखो आगो) मा रोटी पकाइन्छ । पुरानो आगो आज अपवित्र मानिन्छ । त्यसकारण गनयारी काठ या फोर्सा काठ घोटेर निकालेको चोखो आगो प्रयोग गर्ने गर्छन् । बाटुलो रोटी सूर्यको प्रतिकात्मक परिकारको रुपमा लिइन्छ । योे पर्वमा रोटी अनिवार्य हुन्छ । अन्य खानेकुरा भने सहायक हुन्छन् । अट्वारीमा अन्डी र र गहुँको गरी, दुई थरीको रोटी हुन्छ भने पक्की, अम्रुट् (अम्बा, बेलौटी), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी पनि हुन्छ । पहिलो दिन नुन, बेसार, खुर्सानी, माछा, मासु भने आजको दिन बर्जित हुन्छ ।

रोटी पकाएर तयार भयो भने स्नान गरी बिहान लिपपोत गरेको ठाउँमा पिर्का या कुनैै काठको वस्तुमा संगै बसेर आफ्नो प्रक्रिया अगाडि बढाउँछन् । खानुभन्दा पहिले अगयारी (अग्यारी) दिने चलन छ । निश्चित ठाउँमा गाईको गोबरले पुनः लिपेर त्यसमा आगो (फिलिङ्गो) राखिन्छ । त्यही आगोमा सर्री धूप (सल्लाको धूप), नौनी र खानका लागि तयार गरिएको बस्तु (अन्डीको रोटी, गहुँको रोटी, पक्की, काँक्रो, अम्बा (बेलौटी), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी) अलिअलि सबै चीज एकैमा मिसाएर त्यसमा हवन गरिन्छ (चढाइन्छ) । यसरी आगोमा चढाउने कामलाई ‘अग्यारी’ दिएको भनिन्छ ।

सूर्य आगोको मुख्य श्रोत हो । सूर्य आफैमा अग्नी हो । त्यसैले सबैभन्दा पहिले अग्नी (आगो)लाई अथवा सूर्यलाई प्रसादको रुपमा अगयारी दिने चलन आएको होे । अगयारी दिएर तीन पटक दायाँ र तीन पटक बाँयाबाट पानीले पर्छने (पानीको घेरो हाल्ने) चलन छ । कोइ–कोइ पाँच या सात फेरा पनि पर्छने गर्छन् । त्यसपछि आफ्ना चेली–बेटीहरुका लागि पहुरको रुपमा ‘अग्रासन’ छुट्याउने चलन छ । अथवा चेली बेटीहरुलाई दिनका लागि छुट्टै भाँडोमा निकालेर मात्रै खाने चलन छ । योे काम दिउँसो हुन्छ । अन्य व्रत जस्तो अट्वारीमा दिनभरि निराहार बसिदैन । दिउँसो नै पूजा गरी खाने चलन छ । योे क्रम सूर्यास्त नहुँदासम्म चल्छ । सूर्यास्तपछि खाने काम पूर्ण रुपले बन्द हुन्छ ।

अर्को दिन सोमबार, ‘फर्हार’ गरिन्छ । फर्हार नहुँदासम्म पानी समेत नखाएर निराहार बस्नु पर्छ । फर्हार अट्वारीको अन्तिम पूजा होे । यस दिन व्रतालुहरु बिहानैदेखि खानपिनको तयारीमा जुटेका हुन्छन् । घरका अन्य सदस्यहरुले पनि सहयोग गरेका हुन्छन् । आजको खानामा खास गरेर भात, खँरिया, फुलौरी, पोंइ मिसाएको ठुसा, सुखौरा माछा, चिचिण्डो, घिरौला, भेन्डी लगायतका विजोर संख्यामा तरकारीहरु बनाइएको हुन्छ । माछाको सुखौरा विशेष मानिन्छ तर मासु भने हुँदैन । फर्हारपछि मात्रै मासु ल्याउने या खाने गरिन्छ ।

फर्हार, सबै पकवान तयार भएपछि शुरु हुन्छ । व्रतालुहरु हिजोको जस्तै आज पनि नुहाई धुवाई गरी अगयारी दिएर आफ्ना चेली बेटीहरुका लागि ‘अग्रासन’ निकाल्ने गर्छन् । अग्रासन धातु वा प्लाष्टिकको भाँडामा निकालिदैन । अग्रासन बिशेषताः नम्ह्रैन (मालु), कमल या केराको पातमा निकाल्ने गरिन्छ । अट्वारी आउनुभन्दा केही दिन पहिले नै पात टिप्ने काम हुन्छ । प्रायः अग्रासन पात खुटेर बनाएको दुना टपरीमा निकालिन्छ । त्यो नभए विकल्पको रुपमा कमलको पात या केराको पात प्रयोेग भएको पनि पाइन्छ । यसरी प्रक्रियागत रुपमा सबै कार्य पूरा भइसकेका पछि मात्र व्रतालुहरु अन्न ग्रहण गर्छन् ।

अन्य पर्वमा जस्तै अट्वारीमा आफ्ना चेलीबेटीहरुलाई घरमै बोलाउने चलन छैन । ब्रतालुहरुले निकालेको पहुर ‘अग्रासन’ उनीहरुकै घरमा पुर्याउन जाने चलन छ । अग्रासन पु¥याउन प्रायः दाजु भाइ नै जाने गर्छन् । दाजु भाइ नभए अन्य सदस्यहरु जान्छन् । चेलीहरु पनि अग्रासन दिन आउनेलाई मानसम्मान गर्छन् । सम्मानार्थ जाँड, रक्सी र मासु खुवाउने गर्छन् । अतिथि सत्कारका लागि थारू समुदायमा जाँड रक्सी ठूलो मानिन्छ । त्यसकारण जाँड रक्सी खुवाउन पाए सन्तुष्ट भएको महसुस गर्छन् ।

योे पर्व भातृत्वप्रेम र सद्भावको पर्वको रुपमा पनि लिने गरिन्छ । लामो समयसम्म आफ्नो माइता जान नपाएका चेलीबेटीहरु यस पर्वमा आफ्ना दाजु भाइ तथा परिवारसंग दुःखसुखका कुरा खुलेर पोख्छन् । यसरी एकै ठाउँमा बसेर सुखदुःखका कुरा र खानपिनले एकापसमा विश्वास र आत्मीयता बढाउँछ । पारिवारिक सम्बन्ध पनि सुमधूर बनाउँछ । तर यसका केही गलत पक्षहरु पनि छन् । सम्मानका नाममा अत्याधिक मदिरा सेवन गर्ने र गराउने परम्परा समय सापेक्षित देखिदैन । यसकै कारण अनावश्यक झैझगडा, पानीमा डुबेर मृत्यु, सडक दुर्घटना लगायत विभिन्न घटनाहरु भएको पनि देखिन्छ । यसको न्यूनीकरणमा ध्यान दिन जरुरी देखिन्छ । त्यसैगरि अग्रासनका नाममा बासी खानेकुरा, खानेकुरामा रंगको प्रयोेग, अनावश्यक खर्च, कुनैै साल आफ्ना चेलीबेटी कहाँ अग्रासन पु¥याउन नसके चेलीहरुमा नकारात्मक सोचाई राख्ने र एकापसमा मनमुटाव भएको पनि देखिन्छ । त्यसकारण पर्व, सबैले पर्वको मर्म अनुसार मनाउनु पर्छ । यसलाई समय अनुसार परिमार्जन गर्दै आफ्नो गछ र मौलिकतामा सबैले सबैलाई खुशी पार्ने हिसाबमा मनाउन सक्नु पर्छ । अट्वारी सबैको शुभ रहोेस् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित