थारू समुदायमा माघ : परम्परा र संस्कृति

–छविलाल कोपिला
बाबाकि सगर गैनु हाँ, मुरिया लहाने
सखी ए हो, सेंडुर छुटल पानिघाट, सखी ए हो ! …….

केही दिन यता थारू वस्तीहरूमा यी र यस्तै गीतहरु सुनिन थालेका छन् । यो मघौटा गीत हो । माघ पर्वमा मघौटा, ढमार र ढुम्रु विषेशगीतको रूपमा लिइन्छ । माथिको गीतले माघ आगमनको संकेत गर्छ र मनभित्र गुम्सिएर रहेका पीडाहरूलाई पनि बिर्साउँछ अनि धेरै दिनदेखि छुट्टिएर बसेका साथी, भाइ, इष्टमित्रहरूसंग भेटघाटमा जोडिदिएको अनुभूत गराउँछ । यसरी सद्भावपूर्ण महत्वका साथ गाइने यस गीतले माघको वास्तविक सांस्कृतिक झल्को पनि दिन्छ । समयसंगै अहिले माघ मनाउने शैली फेरिदै गएको छ । हिजो गाउँघरमा नाचगान गरेर मनाइने माघ अहिले मञ्च कार्यक्रम गरेर राजधानी लगायत शहर केन्द्रित भइरहेको छ भने विदेशमा रहेका थारू समुदायले पनि महोत्सवको रूपमा मनाउँदै आएको खबर आइरहेका छन् । यसैले यसको महत्व अझै बढ्दै गएको अनुभूति गर्न सकिन्छ। अब माघ पर्वको बारेमा थोरै चर्चा गरौं ।

माघ के हो ?

माघ खासमा पश्चिमा थारू समुदायले मनाउने एक विषेश पर्व हो । माघ पर्वलाई ठाउँ अनुसार थारू समुदायले माघ, खिचरा, खिचरी भन्ने गरिन्छ भने मगर समुदायले माघे संकराती र अन्य समुदायहरुले माघे संक्रान्ति अथवा मकर संक्रान्ति भन्ने गर्छन् । तर केही वर्षयता केही कार्यक्रमका व्यानर र केही संगीतहरुमा माघ शब्दमा विशेषण जोडेर माघी शब्द प्रयोगमा आएको देखिन्छ र माघी थारू समुदायको पर्व हो भन्ने भ्रम छ । तर, वास्तवमा थारू समुदायको माघ नै मौलिक पर्व हो, माघी होइन । यो पर्व माघ महिनामा मानिने हुनले यसलाई माघ भनिएको हुनु पर्छ अथवा आदिम समुदाय थारू जातिको विषेशपर्वको नाममा माघ महिनाको निर्धारण भएको हुनु पर्छ भन्ने तर्क पनि छ । थारू समुदायमा यसलाई नयाँवर्षको रूपमा मान्ने गर्छन् । कसैले यस पर्वलाई आर्थिक बर्षको रुपमा पनि लिने गर्छन् । जसले जे भने पनि माघ पर्व थारू समुदायको मौलिक पर्व हो र यसलाई नयाँ वर्ष र आर्थिक वर्ष दुबै रुपमा लिने गरिन्छ । केही वर्ष पहिले अथवा कमैयाँ, कम्लहरीहरू मुक्त हुनुभन्दा पहिले हलिया, मुक्त कमैयाहरू विषेशछुट्टी पाउँथे भने रैती या अन्य व्यक्तिहरू केही समयको लागि छुट्टी पाउँथे । यसरी कामबाट मुक्त भएर अथवा स्वतन्त्र रूपमा मनाइने भएकोले यसलाई मुक्ति दिवसको रूपमा पनि लिने गरिन्थ्यो । यस अवसरमा नयाँ रीति–थिति, नयाँ गणनेता र नीति–नियम निर्माण हुने गर्छ । गाउँको अगुवा ककन्दारदेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने ? लेनदेन घरसल्लाह लगायतका छलफल हुने भएकोले यसलाई नयाँ आर्थिक वर्षको रूपमा पनि लिने गरिन्छ । त्यसैगरि यस पर्वका बाहिर र गाउँमै रहेका इष्टमित्रहरू स्वतन्त्र रूपमा मान्ने र मनोरञ्जनका नाच–गान पनि गरिने हुँदा यसलाई सद्भाव र सांस्कृतिक पर्वको रूपमा पनि लिने गरिन्छ

तर केही वर्षयता केही कार्यक्रमका व्यानर र केही संगीतहरुमा माघ शब्दमा विशेषण जोडेर माघी शब्द प्रयोगमा आएको देखिन्छ र माघी थारू समुदायको पर्व हो भन्ने भ्रम छ । तर, वास्तवमा थारू समुदायको माघ नै मौलिक पर्व हो, माघी होइन ।

कहिले र कसरी मनाइन्छ ?

थारू समुदायमा धुमधामसंग मनाइने माघको तयारी केही दिन पहिलेदेखि नै शुरु हुन्छ । पात टिप्ने, दाउरा ल्याउने, जाँड–रक्सी पार्ने, माछा मार्ने ठाउँको छनौट लगायतका कार्य गरिने गरिन्छ । माछा मार्नका लागि माघ अगावै कुलो, खोलानालामा चिनो राखिन्छ । यसलाई थारू भाषामा झुक्का डर्ना अथवा भ्युँरा–डर्ना भनिन्छ । झुक्का (चिनो) राखिएपछि त्यस ठाउँमा कसैले माछा मार्न पाउँदैन । माघमा सुंगुरको मासु विषेशमानिन्छ । त्यसैले माघ अगावै कहाँ सुंगुर काट्ने भन्ने कुराको निश्चितता पनि पहिले नै भइसकेको हुन्छ ।

पुस अन्तिम दिन
पुस पहिनाको अन्तिम दिन जसलाई ‘सुवर मर्ना’ दिन भनिन्छ । यस दिन बिहानैदेखि झुक्का हालेर रख्वारी गरेका कुलो तलाउमा माछा मार्ने र सुंगुर मार्ने गरिन्छ । साँझ परेपछि आफ्नो इष्टमित्र, साथी भाइ कहाँ गएर जाँड, सुंगुरको मासु खाँदै पर्व गीत ‘ढमार’ गाउँदै माघ पर्वको प्रारम्भ गर्छन् । ढमार माघमा मात्रै गाइने आवधिक गीत होे । थारू समुदायमा सुंगुरको मासु विषेशरूपमा लिने गरिन्छ । यसकारण पनि यस दिनलाई ‘सुवर–मर्ना’ दिन भनिएको हो । रैतीहरू आफ्ना जमिन्दार कहाँ दाउरा, पात दिन जान्छन् । उनीहरूलाई जमिन्दारहरूले पनि ठूलै सम्मानका साथ खुवाउने पिलाउने गर्छन् । र, खानपिनसंगै उनीहरूले ‘ढमार’ गाएर मनोरञ्जन गर्छन् । त्यस दिन राती ककन्दारको घरमा गाउँभरिका मान्छेहरू जम्मा भई मादल, डफको तालमा ढमार गाउँछन् । अँगनामा ठूल–ठूला मूढा बालेर धुनी जलाइन्छ । त्यही धुनी टप्दै उनीहरू जाँड खाँदै रातभरी जाग्राम बसेर ढमार (ढुमरु) गाउने चलन छ । आधुनिक ढमार गीतको केही अंश यस्तो छ :
जागो–जागो, जागो रे मोरे डाडु
अब हमार सुट्ना बेला नाइ हो ऽऽ
–पहिल टो बनुवाँ फँरलै मलिकवन
बनि गैलैं बरे जिम्डार हो ऽऽ
अब टो बनुवा फँरटै हो टस्कर
कैसिक बचाइ बर्का बनुवा हो ?ऽऽ

ढमार गीतका विभिन्न सन्दर्भहरू रहेका छन् । पहिलेका पुराना ढमारमा प्रकृतिप्रेम, स्तुतिगान, प्रेमालाप र मनोरञ्जनको प्रभाव बढी भेटिन्थ्यो भने अहिलेको आधुनिक ढमारमा भ्रष्टाचार, अन्याय, अत्याचार, शोषण, दमनप्रतिको वितृष्णा र मुक्ति, अधिकार, राष्ट्रियता, प्रकृति एवं शान्तिप्रतिको आशाका भाव झल्किन्छन् । जुन गीतभित्रका गम्भीर अभिव्यक्तिले सकारात्मक चिन्तन, एकापसमा सदभाव र समयबोध गराउँछ । ढमार गीतसंगै माघमा मघौटा नाच विषेशमानिन्छ । देउखुरीक्षेत्रमा ढमार गीत गाइए पनि माघ विषेश भनेर कुनैै छुट्टै प्रकारको नाच हुँदैन अथवा माघ पर्वमा मघौटा नाच नाचिदैन । योे क्षेत्रबिशेषको चलन अन्तर्गत पर्छ । गाउँको सबै रस्तीवस्ती मिलिसकेपछि गाउँका खास जिम्मेवारी पाएकाहरूले ‘संग मिलाई’ चुक्की या माघ आउनुभन्दा पहिले ‘संग छुटाई’ चुक्की खाने चलन छ । यही चुक्कीमा झुम्रा नाच नाचेर रमाउँछन् । जुन नाच अरु मनोरञ्जनको अवसरमा पनि नाचिन्छ । तर दाङ लगायत पश्चिमा थारू जिल्लाहरूमा ‘मघौटा नाच’ प्रचलित छ । माघ आउनुभन्दा पहिलेदेखि थारू युवायुवतीहरू मघौटा गीत गाउँदै नाचेर रमाउने गर्छन् । नाचमा मादल, झाल, कस्टार बजाउँदै छाता ओढेर नाच्ने गर्छन् । मघौटा गीतको केही अंश :
‘सखि ए हो !
माघक पिलि, गुरि–गुरि जाँर, सखि ए हो !

पहिलेका पुराना ढमारमा प्रकृतिप्रेम, स्तुतिगान, प्रेमालाप र मनोरञ्जनको प्रभाव बढी भेटिन्थ्यो भने अहिलेको आधुनिक ढमारमा भ्रष्टाचार, अन्याय, अत्याचार, शोषण, दमनप्रतिको वितृष्णा र मुक्ति, अधिकार, राष्ट्रियता, प्रकृति एवं शान्तिप्रतिको आशाका भाव झल्किन्छन् ।

माघ १ गते
राती भाले बासेपछि महिलाहरू बिहान ढिक्री÷रोटी बनाउन उठ्छन् भने गाउँका मानिसहरू ढमार गाउँदै, मादल, डफ बजाउँदै नदी, कुलो, खोलानाला, घाट, जलाशयमा नुहाउन जान्छन् । थारू समुदाय प्रकृतिपुजक भएकोले यस पर्वमा उनीहरू ‘कुवँरवर्ती’ (जलदेवी) संग आफ्ना दुःख, सुख सुनाउने र मागहरू माग्ने गर्छन् । उनीहरू पानीमा डुबेर आफ्ना मागहरू राख्छन् । यसरी मागे माग पुरा हुने जनविश्वास छ । त्यत्तिमात्रै होेइन आजको दिन नयाँ कपडा फेर्ने दिनको रूप पनि लिइन्छ । वर्षभरि पुराना लुगा लगाए पनि आजको दिन लुगा फेर्न सके राम्रो हुने पुरानापुस्ताका जानकारहरू बताउँछन् ।

माघमा नुहाउने चलन स्वस्थ्यको दृष्टिकोणले पनि बैज्ञानिक देखिन्छ । जाडोका कारण कतिपय मानिसहरू महिनौं ननुहाएका कारण छालारोग, लुतो, घाउ, खटिरा लगायत कपालमा जुम्रा पर्ने सम्भावना पनि बढी हुन्छ । तर, माघ पर्वमा सबैले अनिवार्य नुहाउनै पर्ने चलन भएकोले शरिर सफा हुन्छ । घाउ खटिरा लगायत रोग लाग्न पाउँदैन र जलदेवीसंग मागेको मनोइच्छा पनि पुरा भएको अनुभूति हुन्छ । यस अवसरमा कोही लामो समयदेखि विरामीमा परेको छ या कुनैै समस्या छ भने मनोकामना गर्दै जलदेवीलाई भाकल गर्ने गर्छन् । स्वेच्छाले भाले, परेवा या पुज्ने बाचा गर्छन् । यदि आफ्नो माग पुरा भए ३ या ५वर्षमा आफूले बाचा गरेका भाले, परेवा पुज्ने गर्छन् र यसरी पुज्ने कामलाई ‘मनौटा पुज्ना’ भनिन्छ । नुहाउन जाँदा साथमा पिठो या चामलको टीका र तीलको छन्टी लिएर जान्छन् । थारू समुदायमा सेतो टीका लगाउने चलन छ । सेतो टीका शान्तिको प्रतीकको रूपमा लिइन्छ । यसलाई चोखो अथवा पवित्र वस्तुको रूपमा पनि लिइन्छ । सेतो टीका पारदर्षिताको प्रतीक पनि हो । सेतो वस्तुमा कुनैै पनि दाग लाग्यो भने प्रष्टै देखिन्छ । त्यसैले माघ नुहाएर कुनैै किसिमको गलत क्रियाकलाप नगर्ने प्रतिबद्धताका साथ सपथ खाने गरिन्छ । त्यसैगरि आजको दिन तीलको आँगो ताप्ने चलन छ । तीलको आगो पवित्र मानिन्छ । यसको आगो तापेमा मन पनि पवित्र हुन्छ भन्ने मान्यता छ थारू समुदायमा ।

यसरी नुहाएर घरमा आई ‘निस्राउ’ निकाल्ने चलन छ । निस्राउ भनेको चामल, मासको दाल र नुनको पाहुर होे । जुन आफ्ना चेलीबेटीहरूलाई पाहुरको रूपमा दिने जाने चलन छ । निस्राउ आफ्नो औकात हेरेर केही थप गरेर पनि दिने गरिन्छ । निस्राउ निकालेर जन्म दिने आमा–बुबालाई ढोग गरेर आर्शिवाद लिने गरिन्छ । आमा–बुबा नभएकाहरूले आफ्ना घरमूली वा नजिकको नाता पर्ने ठूला बडाहरूसंग आर्शिबाद लिने गरिन्छ । नाता अनुसार ढोग आशिर्वाद लिदै खानपिन पनि शुरु हुन्छ् । आज दिनभरि गाउँमा यसैगरि सेवा–ढोग गर्दै माघ स्वतन्त्र भएर मान्ने चलन छ । यसले समुदायमा एकता, प्रगाढ सम्बन्ध, आपसी सहयोग सद्भाव आदानप्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ । समाजमा बसेपछि कहिलेकाहीं कसैसँग ठाकठूक पर्नु स्वाभाविकै हो । यसरी एकापसमा सेवासलाम (ढोग) लागेर अंकमाल गर्दा मेलमिलाप तथा सम्बन्ध प्रगाढ हुन्छ । त्यसैले माघलाई मेलमिलापको दिनको रूपमा पनि लिइन्छ । मानिसहरू स्वतन्त्र रूपमा माघ मनाए झैं पहिले–पहिले घरमा पालिएका पशुहरू सुंगुर, भेंडा–बाख्रा, गाई–गोरु, राँगा–भैंसी पनि छाडा छाडिन्थे । कसैको बाली नोक्सानी गरेपनि त्यस दिन आममाफी हुन्थ्यो । तर, योे चलन अहिले छैन । योे समयको माग पनि हो । हिजोको अवस्थामा जे जस्तो भएपनि आज यसरी छाडा छोड्दा नोक्सान बढी हुने भएकोले रोक लगाइएको होे ।

माघमा सुंगुरको मासु, मुलासहितको सुंगुरको मासु, मेंवाको अचार, मसिनो आलुको चट्नी, अन्डीको जाँड र लामो ढिक्री खास परिकार मनाइन्छ । ढिक्री थारू समुदायमा हरेक पर्वमा फरक फरक प्रकारका हुन्छन् । माघमा लामो ढिक्री हुन्छ । माघ पछि समय लामो हुने भएकोले लामो ढिक्री बनाएको तर्क छ थारू समुदायमा । अर्को तर्क अनुसार माघमा लामो ढिक्री खाएपछि आयू लामो हुने जनधारणा पनि छ । योे खोजको विषय होे यद्यपि ढिक्रीमा थारू समुदायको मौलिकता झल्किन्छ । आजको दिन साना–साना बालबालिकाहरू पनि निकै रमाउँछन् । उमेर पुगेकाहरू घर–घरमा गएर जाँड, सुंगुरको मासु खाँदै ढमार गएर मनाए जस्तै उनीहरू घर–घरमा गई ढिक्री मागेर रमाउने गर्छन् । उनीहरू समुह–समुह बनाएर घरमा पुग्छन् र कराउँछन् ‘माघ माने अइलि, डसिया–डेवारि ।’ यता घरका मुली महिलाले ती बालबालिकाहरूलाई ढिक्री दिएर विदाई गर्छिन् । उनीहरू खुशी भएर उफ्रिदै अर्को घर लाग्छन् । योे क्रम पनि दिनभरि चल्छ । तर, योे चलन अहिले हराउँदै गएको छ । गाउँमा ढमार गाउने चलन पनि घट्दो छ ।
माघ २ गते
दोस्रो दिन ‘खिच्रहवा’ । खिचडी पकाएर खाने दिन भएकोले ‘खिच्रहवा’ भनिएको हो । खिचडी मासको दाल, चामल, नुन, बेसार, घ्यू या तेलमा पकाइन्छ । खिचडी जस्तै जमिन्दार, रैती, किसान, कमैयाँ, ओर्गि्नियाँ, छेग्रहवा, बर्डिवा, भैंसरवा सबै एकै ठाउँ बसेर छलफलमा सहभागी हुने र समान व्यवहार गरिने भएकोले पनि ‘खिच्रहवा’ भनिएको हुनुपर्छ । आज कसैले कसैप्रति पदीय भेदभाव, विभेद गर्न पाउँदैन । सबै स्वतन्त्र रूपमा बोल्न पाउने भएकोले दिल खोलेर छलफलमा सहभागी हुन्छन् । घरभित्रको आन्तरिक छलफल पनि जमेर हुन्छ । को, कुन कामको जिम्मा लिने, उमेर पुगेकाहरूको विवाह गर्ने नगर्ने, ‘छारा’ (बसाई सर्ने) जाने नजाने, घर छुट्टिने नछुट्टिने, अधिया–बटैया लिने–दिने, बर्षभरिको काम गर्दा मनमुटाव भए त्यसैबेला छलफल गरी सहमतिमा ल्याउने, कसैसंगको लेनदेन, हिसाब–किताब लगायतका घरायसी कुराहरूको गम्भीर छलफल गरी पुनः एक वर्षको लागि जिम्मेवारी लिने–दिने काम हुन्छ । अधिया–बटैया गरी खेती किसानी गर्ने रैतीहरू आफ्नो जमिन्दार कहाँ ‘करै’ (रक्सी राख्ने करुवा जस्तै माटोको भाडा)मा रक्सी लिएर माघ दिवानी गर्न जान्छन् । वर्षभरिको कामको समीक्षा गर्ने र पुनः जिम्मेवारी लिन–दिन गरिने छलफललाई माघ दिवानी भनिन्छ । आजकल करैको रक्सी बोक्ने चलन नभएपनि दुबै पक्षको सल्लाहमा खानपिनको व्यवस्था हुन्छ या जमिन्दारकै घरमा छलफल हुने भएकोले उसैले खानपिनको जिम्मा लिएको हुन्छ । छलफल खानपिन पुर्व नै शुरु हुन्छ । अधिया–बटैयाको कुरामा सहमति भए दुबैले एकार्कालाई सेवा–ढोग गरी खुशीयालीमा खानपिनसंगै रमाउँछन् । र, पुनः अघिल्लो दिन बाँकी रहेको ढमारलाई अगाडि बढाउँछन् । यसरी गरिने कामको सम्झौता थारू समुदायमा अलिखित हुन्छ । जुन सम्झौता एक बर्षको लागि मात्रै रहन्छ, अर्को माघपछि स्वतः खारेज हुन्छ ।

मुलतः चाड पर्वहरू खानपिन र मनोरञ्जनकै लागि हो यद्यपि थारू समुदायको लागि माघ आंशिक रूपमा यी दुबैसंग जोडिने कुरा स्भाविक भएपनि खासमा यसको महिमा व्यवस्थापन हो । लोकतान्त्रिक ढंगले थारू समुदायमा अगुवा चुन्ने, नीति–निर्माण गरिने भएकोले यस पर्वलाई अझ व्यवस्थित बनाउन जरुरी छ । यसले परम्पराभन्दा पनि अझ लोकतान्त्रिक तथा समृद्ध संस्कृतिको विकास गर्छ । त्यसकारण यसलाई अझ समृद्ध बनाउनका लागि थारू समुदाय आफै लागिपर्नु पर्छ र राज्यले पनि सबै जाति समुदायलाई सद्भावमा रहि एक अर्काको अस्तित्वलाई स्वीकार्न सक्ने नीति र वातावरण सिर्जना गरी दिनुपर्छ ।

माघ ३ गते
तेस्रो दिन ‘भुराखेल’ (ख्याला) । भुराखेल भनेको गाउँभरिका किसान, जमिन्दार, रैतीहरूको बृहत भेला हो । भेलामा एक घरबाट एकजनाको अनिवार्य उपस्थिति हुनुपर्छ र भेला गाउँको अगुवाको घरमा हुन्छ । आज आगामी वर्षको लागि गाउँका अगुवा पनि चुनिने भएकोले विषेशमहत्व मानिन्छ । अगुवालाई ठाउँ विषेशअनुसार बरघर, ककन्दार, भल्मन्सा, महटाँवा भनिन्छ । अगुवा चुनिएपछि कुलापानी हेर्ने अघरिया, पन्हेर्वा, गाउँको मर्वा (भूँइह्यारथान)को हेरचाहका लागि चिरकिया, गाउँको रक्षक एवं हुलाकीको रूपमा काम गर्ने चौकिदार पनि चयन गरिन्छ । बैठकमा गतवर्षमा भए गरिएका बाटो–घाटो, कुलानाला, सडक, धार्मिक पूजापाठ लगायत विकासको काम सम्बन्धी समीक्षा हुन्छ । नयाँ नीति–नियम, नियम उलंग्घन गर्नेलाई दण्डजरिवाना बारे छलफल गरेर क्षतिको मूल्य अनुसार रकम तोकिन्छ, जसलाई ‘खारा लेना’ भनिन्छ ।

राज्यबाट विभेद

शदियौंदेखि परम्परागत अनुशासनमा रही आफ्नो शासन पद्धति चलाइरहेको थारू समुदायप्रति भने राज्यले सँधै विभेद गर्दै आएको छ । माघमा मनोरञ्जन मात्रै होइन महत्वपूर्ण छलफल र जिम्मेवारी बाँडफाँड हुन्छ । यसको लागि गाउँको बौद्धिक अथवा जान्नेमान्ने व्यक्तिहरूको अनिवार्य सहभागिता हुन जरुरी हुन्छ । तर, राज्यले आम नेपालीहरूलाई दिइने मकर संक्रान्तिको नाममा माघ १ गते मात्रै बिदा दिएको छ । जुन समय थारू समुदायमा आफ्ना आफन्त, ठूलावडाहरूसंगको भेटघाट, खानपिन र मनोरञ्जनको समय मानिन्छ । बाँकी २ र ३ गते अत्यन्त जिम्मेवारी र गम्भीर विषयमा छलफल हुने गर्छ । तर यस्तो महत्वपूर्ण समयमा पनि राज्यले बिदा दिएको छैन । बिदा नभएकै कारण महिनौ दिनसम्म रीति–थिति बन्न नसकेर माघ लम्बिने बाध्यात्मक अवस्था सिर्जना हुन्छ । अर्को कुरा बरघर प्रणाली पनि थारू समुदायको लोकप्रिय र बैज्ञानिक प्रणालीको रूपमा मानिन्छ । पछिल्लो समयमा मिश्रित बसाई र कैयौं कानुनी अड्चनका कारण यो प्रणाली पनि बिवादमा तानिदै गएको छ । यसलाई व्यवस्थित गर्नका लागि केही वर्षयता केही जागरुक थारू अगुवाहरूले गाउँपालिका, नगरपालिका र जिल्ला स्तरीय समिति निर्माण गरेका थिए । तर यसबाट पनि आशातीत् उपलब्धि हुन सकेको छैन । यसकारण राज्यले समयमा स्पष्ट नीति र कम्तिमा पनि ३ दिनको बिदा दिनु पर्ने थारू अगुवाहरूको माग हुँदै आएको छ ।

माघलाई कैयौंले मनोरञ्जन र खानपिनसंग तुलना गर्ने गर्छन् । मुलतः चाड पर्वहरू खानपिन र मनोरञ्जनकै लागि हो यद्यपि थारू समुदायको लागि माघ आंशिक रूपमा यी दुबैसंग जोडिने कुरा स्भाविक भएपनि खासमा यसको महिमा व्यवस्थापन हो । लोकतान्त्रिक ढंगले थारू समुदायमा अगुवा चुन्ने, नीति–निर्माण गरिने भएकोले यस पर्वलाई अझ व्यवस्थित बनाउन जरुरी छ । यसले परम्पराभन्दा पनि अझ लोकतान्त्रिक तथा समृद्ध संस्कृतिको विकास गर्छ । त्यसकारण यसलाई अझ समृद्ध बनाउनका लागि थारू समुदाय आफै लागिपर्नु पर्छ र राज्यले पनि सबै जाति समुदायलाई सद्भावमा रहि एक अर्काको अस्तित्वलाई स्वीकार्न सक्ने नीति र वातावरण सिर्जना गरी दिनुपर्छ । केही वर्षयता शहर, राजधानी लगायत विदेशमा पनि माघ मनाइदै आएको छ । यसले पनि यसको महत्वलाई झल्काउँछ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित