दाङमा दुई दिन माघ महोत्सव हुने

घोराही , ५ पौष।
थारू समुदायको ठूलो पर्व माघ नजिकिदै गर्दा थारू बाहुल क्षेत्रहरुमा माघ कार्यक्रमका लागि तयारी तिब्र पारिएको छ। यस्तै बिगतका वर्षहरुमा जस्तै दाङमा यस वर्ष पनि दुई दिन माघ महोत्सव हुने भएको छ।

थारू कल्याणकारीणी सभा दाङको मुख्य आयोजना र एक दर्जन बढी संघसंस्थाको सह-आयोजनामा दाङको घोराहीमा माघ महोत्सव गर्ने भएको छ। थाकस दाङका सभापति भुवन चौधरीको अध्यक्षतामा आज घोराहीमा बसेको एक भेलाले यहि पुस २५ र २६ गते घोराहीको कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा महोत्सव गर्ने निर्णय गरेको हो।
महोत्सवमा दाङ जिल्लाभरिका विभिन्न गाउँहरुको मघौटा नाच, बर्का नाचसङ्गै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने थाकस दाङका सचिब प्रकाश चौधरीले जानकारी दिए। साथै महोत्सवमा थारु जातिका विभिन्न मौलिक खानपनीको स्वाद एवं थारू हस्तकला र थारू संस्कृति झल्कने विभिन्न सामग्रीहरुको प्रदर्शनी समेत रहने सचिब चौधरीले बताए।
महोत्सवमा थारू समुदायबाट गत वर्ष सीईईको नतिजामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याउने एक छात्रा र एक छात्रलाई सम्मान पनि गरिने सचिव चौधरीले जानकारी दिए।

महोत्सवले पर्यटन वर्ष २०२० लाई सफल बनाउन मद्दत गर्ने थाकस दाङका सभापति भुवन चौधरीले बताउनु भयो।

यसैबीच महोत्सवलाई सफल बनाउन थाकस दाङका सभापति भुवन चौधरीको संयाेजकत्वमा १०१ सदस्यीय महोत्सव मूल आयोजक समिती गठन गरिएको छ।
साथै केबि चौधरीको संयोजकत्वमा आर्थिक उपसमिति, सन्तोष दहितको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, लक्ष्मीमान चौधरीको संयोजकत्वमा सांस्कृतिक उपसमिति, अशोक चौधरीको संयोजकत्वमा युवा परिचालन उपसमिति, माधव चौधरीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, अनिल चौधरीको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, भुवन चौधरीको संयोजकत्वमा सम्मान उपसमिति र रामपती चौधरीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ।
महोत्सव सफल बनाउन पुनः अर्को भेला आउँदो शुक्रवार ११ गते बस्ने निर्णय भेलाले गरेको छ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित