सुकुम्बासी बस्तीबाट उठेर उपमहानगरको मेयर

तुलसीपुर उपमहानगरको मेयरमा निर्वाचित टीकाराम खड्का

दिउँसो स्कूल जान्थे भने बिहान-बेलुका जमीनदारको हलो जोत्थे। बिदाको दिन त हली हुनैपर्थ्यो। “एसएसली गर्दासम्म हली भएर काम गरें,” उनी भन्छन्।

सानैमा आमाबुबा गुमाएपछि भारतमा मजदूरी र गाउँमा हली भएर जीविकोर्पाजन गरेका टीकाराम खड्का सुकुम्बासी बस्तीबाट तुलसीपुर उपमहानगरको मेयर चुनिएका छन्।

लामो समय नेकपा (एमाले) को सामान्य कार्यकर्ताका रूपमा क्रियाशील खड्का पाँच वर्षअघि सुकुम्बासी समस्या समाधान आयोग, दाङको जिल्ला अध्यक्ष चयन भएका थिए। तर, राम्ररी काम गर्न नपाउँदै एमाले सरकार ढलेसँगै तीन महीनामै अध्यक्ष पद गएपछि धेरैले उनको राजनीति सकियो भनेका थिए।

अहिले तुलसीपुर उपमहानगरको मेयरको उम्मेदवार बनाउँदा पनि धेरैलाई जित्छ भन्ने विश्वास लागेको थिएन। पाँच दलीय गठबन्धन भएकाले उनलाई ‘हार्ने भएर उम्मेदवार बनाएको’ चर्चा थियो। त्यो अनुमानलाई गलत सावित गर्दै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदावर गेहेन्द्र गिरीलाई तीन हजार ६११ मतले पराजित गर्दै उनी मेयर बने।

तुलसीपुर-१८, अक्कासी गाउँस्थित ऐलानी जग्गामा बस्दै आएका उनको यात्रा भने संघर्षपूर्ण छ। डेढ वर्षको उमेरमा आमा गुमाएका उनको बाल्यकाल गाह्रोसाह्रोमै बित्यो। बुबाको सहारामा हुर्किएका उनले राम्ररी पठनपाठन गर्न पनि पाएनन्। १४ वर्षको हुँदा बुबा पनि गुमाए।

टीकाराम खड्का

बुबाको मृत्युपछि घरमा ऋण लाग्यो। दाङमा केही कामकाज थिएन, मजदूरी गर्न भारततिर लागे। “बुबा गुमाएपछि साह्रै आपत् भयो। ऋण तिर्न मजदूरी गर्न भारत गएँ,” उनी सुनाउँछन्।

केही समय भारतमा काम गरे। भारतमै मजदूरी गर्दा पढाइ छुट्यो। त्यसपछि उनी गाउँ फर्किए। “गाउँकै जमीनदारको घरमा हली भएर काम गरें,” खड्काले स्कूले दिन सम्झिए।

दिउँसो स्कूल जान्थे भने बिहान-बेलुका जमीनदारको हलो जोत्थे। बिदाको दिन त हली हुनैपर्थ्यो। “एसएसली गर्दासम्म हली भएर काम गरें,” खड्का भन्छन्।

स्कूलमा छँदै उनी अनेरास्ववियूमा आबद्ध भएका थिए। एसएसलीपछि क्याम्पस पढ्ने इच्छा त थियो, तर घरको आर्थिक अवस्थाले सम्भव भएन। हली बसिराख्न उनलाई पनि मन लागेन। त्यसपछि क्याम्पस पढ्ने चाहना त्यागेर विद्यार्थीबाट पार्टी राजनीतिमा सक्रिय भए।

२०४३ सालसम्म अनेरास्ववियूमा सक्रिय उनी २०४४ सालमा जेल परे। जेलबाट छुटे लगत्तै २०४५ सालमा अखिल नेपाल किसान संघको जिल्ला सदस्य भएर भूमिगत भए । २०४६ सालको जनआन्दोलन ताका देउखुरी उपत्यकाका सचिव थिए।

प्रजातन्त्र पुनःस्थापनापछि उनी राेल्पा खटिए । २०४९ देखि २०५७ सम्म रोल्पाका सचिव भएका उनी २०५८ सालमा फेरि दाङ झरे। लामो समयपछि २०७२ मा आएर  उनी जिल्ला अध्यक्ष बने।

पछिल्लो समय लुम्बिनी प्रदेश किमिटीका सदस्य रहेका खड्का मेयरमा निर्वाचित भएका छन्। मेयरमा निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिंदै आफूले लामो समयदेखि गरेको संघर्षलाई जनताले साथ दिएको बताए।

उनले आफ्नो पहिलो प्राथमिकता सुकुम्बासीलाई व्यवस्थित बसोबासको व्यवस्था गर्नु भएको बताए। “म आफैं पनि सुकुम्बासी हुँ,” नवनिर्वाचित मेयर खड्काले भने, “मेरो पहिलो प्राथमिकता सुकुम्बासीलाई लालपुर्जा दिनेदेखि व्यवस्थित बसोबासको व्यवस्था गर्ने हुनेछ।”

मतदाताको अपेक्षा अनुसार काम गर्ने उनले प्रतिबद्धता जनाए। मेयरका रूपमा कुनै गलत काम नगर्ने बताउँदै उनले भने, “मलाई विश्वास गरेर आफ्नो अमूल्य मत दिने सबै मतदातालाई धन्यवाद व्यक्त गर्दछु। मतदाताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता गर्छु।”

हिमाल खबरबाट साभार

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित