सशस्त्र युद्धकालमा काँग्रेस नेता कार्यकर्ताहरुलाई धम्काएर चन्दा माग्ने माओवादी नेताहरुले अहिले उनैलाई भोट माग्दै हिडेका छन् ।
युद्धकालमा माओवादीले छानीछानी काँग्रेस नेता, कार्यकर्ता र समर्थकलाई धम्कीपूर्ण भाषामा चन्दा माग्ने गर्थे । चन्दा नदिएमा अपहरण गर्ने, यातना दिने र बिस्थापित गराउनेसम्मका काम गरेका थिए ।
आज तिनै नेता स्थानीय तह निर्वाचनका उम्मेद्वार भएर विगतमा सताएकै नेताहरुसँग भोटका लागि हारगुहार गरिरहेका छन् । माओवादी पीडितहरु भने युद्धकालमा माओवादीले चन्दा माग्न पठाएका पत्र, चन्दा नदिए पक्राउ गर्न जारी गरेका पूर्जी र चन्दा दिएका रसिद् तथा भर्पाई बोकेर बसेका छन् ।
‘हिजो जसले हामीलाई दुःख दिए, आज उनैलाई भोट हाल्नुपर्ने ? हामी अहिले पुराना दुःख सम्झिइरहेका छौं । माओवादीले लेखेका चिठी खोल्दै, हेर्दै गरिरहेका छन् ।’, एक पिडितले भने ।
अधिकांश पत्रमा तत्कालीन नेताहरु इन्द्रजीत चौधरी, हेमराज शर्मा (डायमण्ड) लगाएतले हस्ताक्षर गरेका छन् । गाउँ गाउँमा उहाँहरुकै निर्देशनमा पत्र काटेर चन्दा असुली गरिन्थ्यो । अहिले डायमण्ड नै घोराही उपमहानगरपालिकाको मेयरमा उम्मेदवार हुनुहुन्छ ।
उहाँले अहिले काँग्रेसकै भोटको बलमा निर्वाचन जित्ने आकांक्षा राख्नुभएको छ । काँग्रेस नेता, कार्यकर्ता र शुभेच्छुकहरु भने भोट माग्न आउँदा विगतमा चन्दा माग्न आएको दिन झलझली सम्झिन्छन् ।
एक पीडित कार्यकर्ताले भने, ‘पहिले चन्दा माग्न र हाम्रो घरबार लुट्न आउने माओवादी नेताहरु अहिले लाइन लागेर भोट माग्न आउँछन् । फकाउन खोज्छन् । हामी ती दिन कसरी बिर्सन सक्छौं र ?’
माओवादीकै कारण आफन्त गुमाउनुपरेको, घरबास छोड्नुपरेको र जीवन नै उजाडिएका परिवार धेरै छन् । काँग्रेसलाई मुख्य बर्ग दुश्मन मानेर आक्रमणको निशाना बनाएका कारण युद्धका अधिकांश पिडित काँग्रेस नेता, कार्यकर्ता र समर्थकहरु नै छन् ।
‘आज सत्तामा जानका लागि हामी पिडितको सहारा चाहिने ? हामीलाई यो सह्य हुन सक्दैन । देउवा र प्रचण्ड मिल्दैमा हामी मिल्न सक्दैनौं । हाम्रा घाउहरु आलै छन् ।’ एक पिडितले भने ।
माओवादी नेताहरुलाई भोट हाल्नु भनेको आफ्नो आत्मा आफै मार्नु सरह भएको पीडितहरुको भनाइ छ । ५ बर्षमा एकपटक मत दिने यो महत्वपूर्ण अवसरमा गलत राजनीतिक संस्कारबाट आएका नेताहरुलाई भोट दिन नसकिने उनीहरुको भनाइ छ ।
‘हाम्रो टाउको छिनाउन खोज्नेलाई अहिले कहाँ भोट दिन सकिन्छ? हाम्रा आफन्तका आत्माले के भन्ला ? अपराधीलाई भोट दिएर सत्तामा पठाउन सकिदैन ।’ एक पीडितले दुःख पोखिन् ।