समृद्ध उपमहानगरपालिका अबको गन्तव्य : नगर प्रमुख चौधरी

घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले समृद्ध उपमहानगरपालिका अबको गन्तव्य रहेको बताएका छन् ।

आज आइतबार नारायणपुर उद्योग वाणिज्य संघले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले अब उपमहानगरपालिकालाई थप विकास र समृद्धिसँग जोड्न लागिपरेको बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख चौधरीले क्षणिक रूपमा देखिने विकासभन्दा पनि दिगो विकास अबको आवश्यक रहेको कुरामा जोड दिए । १९ वटै वडालाई चौतर्फी विकास र समृद्धिसँग जोड्ने लक्ष्य रहेको छ । नारायणपुुर घोराही उपमहानगरपालिकाको दोस्रो ठूलो र सम्भावना बोकेको बजार रहेको छ, यस क्षेत्रको आवश्यक विकास पहिलो प्राथमिकता रहनेछ। नगर प्रमुख चौधरीले थपे, बजार बिस्तारसँगै उपभोक्ता विस्तारमा पनि ध्यान दिन जरूरी छ । दिगो विकासका लागि विमानस्थल निर्माण आवश्यक छ । स्थानीयवासीले सिङ्गो दाङको विकासका लागि पनि विमानस्थल निर्माणमा सहमति कायम गर्न जरूरी छ । स्थानीयवासीको सहमति भएमा विमानस्थल निर्माणको कार्य अगाडि बढाउन सकिनेछ । दाङ समृद्धिको बाटोमा जानेछ ।

दाङको उदाउँदो बजारको रूपमा रहेको नारायणपुरलाई व्यवस्थित सहरीकरणतर्फ उन्मुख गराउन व्यवसायीहरूले नव निर्वाचित जनप्रतिनिधिहरूलाई अनुरोध गरेका छन् ।

आज नारायणपुर उद्योग वाणिज्य संघले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्ने बक्ताहरूले साविकको त्रिपुरको विकासका लागि पहलकदमी चालिदिन आग्रह गरेका हुन् ।

नारायणपुरमा रहेको बस पार्क व्यवस्थापन, खानेपानी समस्याको समाधान, शैक्षिक उन्नयनका मुद्दा, कृषि उत्पादन तथा बजारीकरण, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, साविक त्रिपुरभित्र रहेका पर्यटकीय तथा धार्मिक स्थलको संरक्षण र विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न, नारायणपुर साविक त्रिपुर नगरपालिकाको केन्द्र भएको र यसलाई ग्रामीण भेगको बजारको केन्द्रका रूपमा विकास गर्न वक्ताहरूले सुझाएका थिए ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा उपमहानगरपालिकाको उप प्रमुख हुमा डिसीले नारायणपुरलाई विशेष केन्द्रका रूपमा लिएर काम गर्ने बताइन् । ञबितेको समयमा अपूरा रहेका योजनालाई पूरा गर्दै नयाँ योजना तर्जुमा गरिनेछ। विकासमा कुनै कन्जुस्याइँ रहँदैन । उप प्रमुख डिसीले बताईन् ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष द्रोर्ण बहकरी , वडा नं. ११ का वडाध्यक्ष कुलप्रसाद लामिछाने, वडा नं.१० वडाध्यक्ष दिपक पाण्डे, नारायणपुर खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद रजौरे (श्रवण) लगायतले मन्तव्य राखेका थिए ।

संघले उपमहानगरपालिकाका नगर प्रमुख, उप प्रमुख तथा साविक त्रिपुरमा अवस्थित वडा नं। ८, ९, १०, ११ र १२ का जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान गरेको थियो ।

संघका अध्यक्ष अभियान बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । संघका मानार्थ सदस्य माधव पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण महासचिव बसन्त न्यौपानेले गरेका थिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित