डेंगु नियन्त्रणका लागि घोराही उपमहानगरले आजदेखि औषधी छर्कने

घोराही, १ असोज । डेंगु नियन्त्रणका लागि घोराही उपमहानगरले आजदेखि घोराही नगरक्षेत्र भित्र विभिन्न ठाउँमा औषधी छर्कने भएको छ । दाङमा डेंगुको संक्रमण बढ्दै गएपछि सचेतना अभियान चलाएको घोराही उपमहानगरले डेंगु नियन्त्रणका लागि पाँच लाख रुपैयाँ बराबरको औषधी ल्याएको जनाएको छ । लामखुट्टेको टोकाईबाट सर्ने डेंगुसहित अन्य विभिन्न खाले रोग नियन्त्रणका लागि  औषधी छर्कन लागिएको उपमहानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।

लामखुट्टे नियन्त्रणका लागि स्प्रेमार्फत पाउडर पानीमा घोलेर छर्किने गरी तयारी भएको स्वास्थ्य महाशाखा प्रमुख नारायण घर्तीले जानकारी दिए । घर वरीपरि, झाडी र पानी जमेका ठाउँहरुमा उक्त विषादी छर्ने गरी तयारी भएको उनले बताए ।

स्वास्थ्य मन्त्रालय महामारी रोग नियन्त्रण महाशाखाको सहयोगमा उपमहानगरले मेडिकल स्टोर पथलैया बारामा पुगी उक्त औषधी ल्याइएको हो । आवश्यक थप पूर्वतयारी भैसकेकाले आज (बुधबार) बाट नै औषधी छर्कने काम शुरू हुने स्वास्थ्य महाशाखा प्रमुख घर्तीले बताए ।

डेंगु रोग नियन्त्रणका लागि मुख्यगरी लामखुट्टेको टोकाईबाट बच्ने र लामखुट्टेको बासस्थान पानी भएकाले पानी जम्मा हुन नदिने गरी नागरिकहरुलाई सचेतना अपनाउन विभिन्न कार्यक्रम र सञ्चार माध्यमबाट सचेत पार्दै आएको छ भने विभिन्न टोलमार्फत पनि सचेतना अभियान जारी छ ।

घोराही उपमहानगर भित्र अहिले सम्म १० पुरुष र ८ महिला गरि १८ जनामा डेंगुको संक्रमण भेटिएको छ । यस्तै जिल्लाभर ६५ जनामा डेंगुको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय दाङका डेंगु रोग फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित