जलाशयबाट सिँचाइ सुविधा

 घोराही उपमहानगरपालिकाले विभिन्न स्थानमा निर्माण गरेका जलाशयबाट ७३८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । कृषि उत्पादन वृद्धि, जलस्रोतको संरक्षण र बर्खायामको पानी सङ्कलन गर्ने उद्देश्यले उपमहानगरपालिकाले ४३ वटा कृत्रिम जलाशय निर्माण गरेको छ ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जलाशयबाट विस्तार गरिएको सिँचाइ सुविधाले खेतीयोग्य जमिनमा उत्पादन बढाउन महत्वपूर्ण योगदान पुगेको बताउनुभयो । उहाँले कृषिक्षेत्रसँगै जल संरक्षण, वातावरणीय सन्तुलन र पर्यटन प्रवर्धनमा पनि जलाशय उपयोगी बन्दै गएको बताउनुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो, “यी जलाशयबाट अहिले ७३८ हेक्टर जमिनमा सिँचाइ पुगेको छ ।”

घोराहीमा अधिकांश जलाशय सिम भएको जमिनमा ठुलो पोखरी निर्माण गरेर तथा साना खोल्सामा बाँध बाँधेर बनाइएका छन् । उहाँले वर्षायाममा सङ्कलित पानी हिउँदसम्म खेतीमा प्रयोग हुने गरी संरचना तयार गरिएको बताउनुभयो । उपमहानगरपालिकाका अनुसार घोराहीका १९ वडामध्ये १४ वटा वडामा कृत्रिम जलाशय निर्माण गरिएका छन् । वडा नं. ३, ७, ९, १४, १५ र १९ बाहेक अन्य सबै वडामा जलाशय बनाइएका छन् ।

सबैभन्दा बढी आठ वटा जलाशय वडा नं. १७ मा निर्माण गरिएका छन् । यस वडामा कटही, ढिकपुर, आरोग्य, कर्जाही, डवरी, गुलरिया मघै, ओखरा र कमलपोखरी जलाशय सञ्चालनमा छन् । त्यसपछि वडा नं. १८ मा छ वटा जलाशय निर्माण गरिएका छन्; जहाँ अम्बापुर, गिठेपानी उपल्लो, गिठेपानी तल्लो, सुँगुरे, रानीजरुवा र काभ्रेखोला जलाशय छन् ।

त्यसै गरी वडा नं. १ मा पनि छ वटा जलाशय निर्माण गरिएका छन् । तीमध्ये घोराही–१ र २ को सिमानामा रहेको चेपे जलाशय विशेष चर्चित छ । करिब साढे सात बिघा क्षेत्रफलमा फैलिएको यो जलाशय अहिले सिँचाइसँगै स्थानीय आकर्षणको केन्द्रसमेत बनेको छ ।

यसै गरी वडा नं. २ मा एक, वडा नं. ४ मा ६, वडा नं. ५ मा एक, वडा नं. ८ मा एक, वडा नं. १० मा एक, वडा नं. १२ मा तीन, वडा नं. १३ मा दुई र वडा नं. १६ मा दुई वटा जलाशय निर्माण गरिएका छन् । उपमहानगरपालिकाका अनुसार जलाशय निर्माणले बर्खायाममा खेर जाने पानीको उपयोग बढेको छ ।

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित