प्रधानमन्त्री प्रचण्डको क्याविनेटमा दुइ थारु मन्त्री

प्रचण्ड नेतृत्वको मन्त्रीमण्डलमा थारू समुदायबाट भगवती चौधरी तथा अमनलाल मोदी २ जना मन्त्री नियुक्त भएका छन् ।

भगवती यसअघि राज्यमन्त्री रहिसकेकी छिन् भने अमनलाल पहिलो पटक क्याविनेटमा प्रवेश गरेका हुन् । मंगलबार सपथ समेत भएको छ ।

सुनसरी–३ बाट कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गरेर एमालेकी भगवती चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाएकी छिन् ।

प्रतिनिधिसभा निर्वाचनमा चौधरीले ४० हजार ७८८ मत पाउँदा गच्छदारले ३५ हजार ६ सय मत पाएका थिए । सातौं पटक विजयी बन्ने लक्ष्य लिएका गच्छदारलाई उनै चौधरीले फराकिलो मतले पराजित गरेकी थिइन् ।

चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुन् । उनी २०६४ सालको पहिलो संविधानसभा सदस्य हुँदै वन तथा भू–संरक्षण राज्यमन्त्री समेत भएकी थिइन् ।

२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उनी विजयकुमार गच्छदारसँग पराजित भइन् । चौधरी पुनः नेकपा एमालेबाटै २०७४ सालको आम निर्वाचनमा सोही क्षेत्रमा उम्मेदवार बनिन् तर फेरि पनि गच्छदारसँग पराजित भइन् । त्यसबेला चौधरीले ३८ हजार ६५१ मत ल्याउँदा गच्छदारले त्यो भन्दा ३५७ मत बढी अर्थात् ३८ हजार ९७२ मत ल्याएका थिए ।

५१ वर्षीय चौधरी लामो समयदेखि सामाजिक र आर्थिक क्षेत्रमा सक्रिय छिन् । उनले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था स्थापना गरेकी छन् । सो संस्थालाई हालै थारु आयोगले थारु रत्नले सम्मान गर्ने घोषणा गरेको छ ।

समाजशास्त्र, व्यवस्थापनमा स्नातकोत्तर उनी पिएचडी अध्ययनरत छिन् । सुनसरीको दुहबी–२ स्थायी ठेगाना भएकी चौधरीको जन्मस्थान भने साविक औराबनी गाविस ९हाल गढी गाउँपालिका० हो । दाङ, नर्तीका दिनेश चौधरीसँग विवाह बन्धनमा बाँधिएकोमा दिनेशको निधन भैसकेको छ । उनका एक छोरा छन् ।

२०४८ सालमा एमालेको पार्टी सदस्यता लिएकी उनी २०६४ सालमा नेकपा एमालेको सुनसरी जिल्ला समिति सदस्य बनिन् । ०७० सालमा कोशी अञ्चल समन्वय कमिटी सदस्य र २०७८ मा चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य तथा श्रम तथा स्वरोजगार केन्द्रीय विभागको उपप्रमुख थिइन् ।

सामान्य प्रशासन मन्त्रीमा मोदी

अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । अघिल्लो निर्वाचनमा पूर्वमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै सांसद बनेका माओवादी नेता मोदीले यस पटक एमाले नेता विनोद ढकाललाई पराजित गर्दै तेस्रो पटक संसद यात्रा तय गरेका थिए ।

०७० सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिक तर्फबाट निर्वाचित भएका मोदी अनिच्छाकै बीच ०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका थिए । कांग्रेसको दबदबा रहेको ठाउँमा वाम गठबन्धनबाट उम्मेदवार बनेका मोदी कांग्रेसभित्रको अन्तरविरोधका कारण विजयी बने । त्यसबेला मोदीले ३३ हजार ५२९ मत ल्याएर कांग्रेसका महेश आचार्यलाई पराजित गरेका थिए । आचार्यले त्यसबेला २६ हजार ८०० मत ल्याएका थिए ।

२०४२ साल असोज ५ गते मोरङको बुढीगंगा गाउँपालिका तिलाठेमा जन्मिएका मोदीको शैक्षिक योग्यता भने १२ कक्षासम्म मात्रै हो । उनकी पत्नीको नाम रितेश कुमारी लेखी हो भने उनीहरूका दुई छोरा छन् ।

मोरङकै स्थानीय मोदीको राजनीतिक जीवन २०५६ देखि सुरु भएको हो । मोदी माओवादीको जिल्ला कमिटी सदस्य, राज्य कमिटी सदस्य, केन्द्रीय आयोजक समिति सदस्य बने ।

मोदी अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कमिटी सदस्य हुँदै जिल्ला कमिटी अध्यक्ष, नेकपाको प्रदेश कमिटी सदस्य पनि बने । राजनीतिक रूपमा सक्रिय रहँदा मोदीले जेल जीवन पनि गुजारेका छन् । २०६० मा पक्राउ परी २ वर्ष ३ महिनासम्म जेल जीवन बिताएका थिए ।

उनको हातमा अब देशकै सबै कर्मचारी संयन्त्रको नेतृत्व गर्दै सुशासन कायम गर्ने जिम्मेवारी त छँदैछ, आफ्नो थारु समुदायको जनसंख्या अनुसार निजामति कर्मचारी ऐन पारित गराउनु पर्ने जिम्मेवारी पनि छ । प्रतिशतअनुसार कोटा नछुट्याएको भनेर थारु कल्याणकारिणी सभाले ४७ वटा रिट दायर गरिसकेको छ ।

 

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित