सुरक्षा माग्नेलाई प्रहरीले गोली हान्यो, सुरक्षा माग्न कहाँ जाने ?

बर्दियाको मधुवन नगरपालिका-२ सोनाहीकी ४१ वर्षीया अस्मिता थारू गत सोमबार बिहान करीब साढे ८ बजे बारीमा थिइन्। उनलाई एक्कासि बाघले झम्टियो। बाघको आक्रमणमा परेपछि अस्मिता चिच्याइन्। बचाओ भन्दै गुहार मागिन्।

अस्मिताको चिच्याहट नजिकै खेतबारीमा काम गरिरहेका स्थानीयले सुने। उनीहरू होहल्ला गर्दै अस्मिता भएको ठाउँमा गए। स्थानीय पुग्दा अस्मितालाई घाइते बनाएर बाघ भागिसकेको मधुवन नगरपालिका(२ का वडा अध्यक्ष आशाराम चौधरी बताउँछन्।

बाघको आक्रमणबाट अस्मिता घाइते भएको खबर गाउँभरि फैलियो। खबर सुनेपछि गाउँलेहरू उनको घरमा जम्मा हुन थाले। केहीले भने अस्मितालाई उपचारमा लैजान तयारी गरे।

त्यस गाउँका स्थानीय पटक पटक बाघको आक्रमणमा परिसकेका थिए। अस्मिताको घरमा भेला भएकामध्ये केहीले बाघबाट सुरक्षा हुनुपर्ने माग गर्दै आन्दोलन गर्नुपर्ने सुझाए। त्यही अनुसार‚ गाउँलेहरू सडकमा उत्रिए। उनीहरू गाउँबाट करीब एक किलोमिटर टाढा रहेको ओराली बजारतिर अघि बढे। स्थानीयहरूले वन वरिपरि तारजाली लगाउन माग गर्दै सडकमा नाराजुलूस सहित शान्तिपूर्ण प्रदर्शन गरिरहे। स्थानीय प्रशासनले बन्द गरिएको सडक खोल्न आग्रह गर्‍यो। तर, माग पूरा नहुँदासम्म सडक नखोल्ने उनीहरूले अडान लिए।

प्रहरीले बल प्रयोग गरेपछि स्थिति तनावपूर्ण भयो। बेलुका करीब ५ बजे आन्दोलनले उग्र रूप लियो। त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो। यसले स्थिति झन् बिग्रियो। आन्दोलनकर्मीले प्रहरीमाथि ढुङ्गामुढा गर्न थाले।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर गर्‍यो। केही राउन्ड आन्दोलनकर्मीमाथि प्रहार गर्‍यो। प्रहरीले चलाएको गोली १८ वर्षीया नवीना थारू र २२ वर्षीय राकेश थारूलाई लाग्यो। गोली लागेर ढलेकी नवीना उठिनन्। राकेश घाइते भए।

वडाध्यक्ष चौधरी गोली चलाएर प्रहरीले ठूलो गल्ती गरेको बताउँछन्। दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने उनको माग छ। “स्थानीयको आन्दोलन शान्तिपूर्ण थियो। जायज थियो। प्रहरीले गोली हान्नुपर्ने कारण थिएन,” वडाध्यक्ष चौधरी भन्छन्‚ “गोली हानेर ठूलो गल्ती गरेको छ। दोषीलाई हदैसम्म कारबाही गरिनुपर्छ।”

वडाध्यक्ष चौधरीका अनुसार‚ मुधवन नगरपालिकाका वडा नम्बर २ र ३ मा बाघको आक्रमणबाट बर्सेनि १२–१३ जना घाइते हुन्छन्। गत जेठ १० गते ५४ वर्षीया कौशिला देविपालको बाघको आक्रमणबाट मृत्यु भएको थियो। बाघले पटक पटक आक्रमण गर्न थालेपछि स्थानीयले सुरक्षा मागेको वडाध्यक्ष चौधरीको भनाइ छ।

प्रहरीको गोलीबाट ज्यान गुमाएकी नवीना मधुवनको राष्ट्रिय नमूना माध्यमिक विद्यालयमा पढ्दै थिइन्। उनको र अस्मिताको घर करीब ४०० मिटर दूरीमा छ। अस्मिता नवीनाकी सानीआमा हुन्।

वन्यजन्तुबाट सुरक्षित रहन पाउनुपर्छ भनी माग गर्दा प्रहरीले गोली हानेर आफ्नी छोरीको हत्या गरेको नवीनाका बुबा दुलारो चौधरी बताउँछन्। “बाघले गाउँमा पटक पटक मान्छेलाई आक्रमण गरिरहेको छ। त्यसबाट बच्न पाउनुपर्छ भनी सुरक्षा माग्न गएकी छोरीलाई सुरक्षा दिनेले नै गोली हानेर मारिदिए,” उनी भन्छन्‚ “मेरो छोरीको के गल्ती थियो ? किन मारियो ? हत्यारालाई छिटोभन्दा छिटो कारबाही हुनुपर्छ।”

प्रहरीको गोलीबाट मृत्यु भएकी नवीनाको परिवार र स्थानीय प्रशासनबीच सहमति भएको छ। प्रशासनले पीडित परिवारलाई क्षतिपूर्ति बापत २० लाख रुपैयाँ दिने, नवीनालाई शहीद घोषणा गर्ने र ओराली बजारमा शालिक निर्माण गर्ने सहमति भएको वडाध्यक्ष चौधरी बताउँछन्। यस्तै‚ बस्तीलाई वन्यजन्तुबाट सुरक्षित गर्न २० किलोमिटर तारबार गर्ने समेत सहमति भएको छ।

नवीनाका बुबा सहमतिमा भएका सबै बुँदा कार्यान्वयन हुनुपर्ने बताउँछन्। दुलारो चौधरी भन्छन्, “यस ठाउँका मानिसलाई बाघबाट सुरक्षित गर्न तारजाली लगाउनुपर्छ।”
हिमाल खबरबाट साभार

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित