मुक्त कमलरीले पाएनन् छात्रवृत्ति बापतको रकम

फाइल तस्विर

स्नातक तहमा अध्ययनरत मुक्त कमलरीहरूले छात्रवृत्ति बापतको रकम पाउन सकेका छैनन्। उनीहरूले गत वर्षदेखि उक्त रकम नपाएका हुन्।

मुक्त कमलरी विकास मञ्चकी पूर्व केन्द्रीय अध्यक्ष मञ्जिता चौधरीले स्नातक तहमा अध्ययनरत २७७ जना मुक्त कमलरीले छात्रवृत्ति बापतको रकम नपाएको बताइन्। यसअघि वार्षिक १० हजारको दरले पाउँदै आएका रकम गत वर्ष निर्देशिका र परिचयपत्र नभएको भन्दै नदिएको उनको भनाइ छ।

“यसअघि मुक्त कमलरी विकास मञ्चको सिफारिशमा जिल्ला शिक्षा समन्वय समितिले मुक्त कमलरी विद्यार्थीलाई छात्रवृत्ति बापतको रकम उपलब्ध गराउँदै आएको थियो‚” चौधरीले भनिन्, “तर विश्वविद्यालय अनुदान आयोग मार्फत दिने भएपछि रकम पाउन सकेका छैनन्। आयोगले मुक्त कमलरी भएको प्रमाणपत्र खोज्छ, सरकारले कमलरीलाई परिचयपत्र दिंदैन, कुन आधारमा छात्रवृत्ति लिन जाने?”

दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका १२ हजार कमलरीहरू मुक्त भएका छन्। यीमध्ये कोही अध्ययन गरिरहेका छन् भने केही सीपमूलक तालीम लिएर व्यवसायमा जोडिएका छन्।

मञ्चका अनुसार, एक हजार ५३३ जना मुक्त कमलरी अध्ययन गरिरहेका छन्। कक्षा १० सम्म अध्ययन गरिरहेका मुक्त कमलरीले वार्षिक एक हजार ८०० र कक्षा १२ का विद्यार्थीले वार्षिक पाँच हजारको दरले छात्रवृत्ति बापतको रकम पाउँदै आएको मञ्चले जनाएको छ ।

हिमाल खवरबाट साभार

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित