यसरी मनाउदै छन् थारु समुदायका महिला दिदीवहिनीहरुले ‘अस्टिम्की’

सन्तोष दहित

थारु समुदायको महिलाहरुको महान पर्व भनेको ‘अष्टिम्की’ हो । श्रीकृष्णा जन्माअष्टमीको दिन थारु समुदायका महिलाहरुले ‘अष्टिम्की’ मनाउदै आएकाछन् । श्रीकृष्णा जन्माअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ । अष्टिम्की शब्दको उत्पत्ति ‘अष्टमींटिका’ बाट भएको थारु सस्कृतविदहरुले भन्दै आइरहेकाछन । त्यसैगरि श्री कृष्णलाई थारु भाषामा ‘कान्हा’ भन्ने गरिन्छ । अष्टिम्की’ अर्थ भाद्र महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकाले उनलाई टिका लगाउनु हो ।
‘कान्हा’ को जन्मदिनलाई थारु महिलाहरुले विशेषरुमा मनाउने गरेको हुनाले यसदिनलाई थारु समुदाले ‘अष्टिम्की’ भन्ने गर्दछन् । ‘अष्टिम्की’ को दिन थारु महिलाहरुले दिनभर केहि पनि नखाई व्रत बसेर ‘कान्हा’ को जीवनी चित्रनमा भित्ते चित्र कोरेर धुमधामसंग टिका, फलफूल, अर्पण तथा दीप प्रज्वलन र जलले पूजा अर्चना गर्नेगर्दछन् । ‘अष्टिम्की’ पर्व खासगरि दाङ, वाँके, वर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायका महिलाहरुले उल्लासमय वातावरणमा मनाउदै आएको पाइन्छ । स–सानो १०/११ बर्षको बच्चा देखि लिएर ६०/६५ वर्षको वृद्ध महिलाहरुले यो पर्व मनाउदै आइरहेकाछन् ।

एक हप्ता अगाडिदेखि ‘अष्टिम्की’को तयारी
‘अष्टिम्की’ आउने एकडेढ हप्ता अगाडीदेखि थारु महिलाहरुले ‘अष्टिम्की’को तयारीमा जुटेका हुन्छन् । थारु महिलाहरुको सवै भन्दा महान पर्व भएकोले त्यसदिनमा विशेष गरि नया कपडा (रातो, कालो चोली, सेतो गुन्यु), विभिन्न थरथरिका गहनाको तयारी गर्ने गर्छन । यसरी कपडा गरगहना तयारी गरिसकेपछि ‘अष्टिम्की’को अघिल्लो रात दर खानको लागि माछा मार्ने, घोङघी खोज्न जाने गर्दछन् । अष्टिम्कीमा विशेषगरि थारु महिलाहरु ले घोङघी र माछासंग दर खाने गर्दछन । त्यसैसंग मासु अन्य मिठो मिठो परिकारको लागि पनि तयारी गर्नेगदर्छन । त्यसैगरि चित्र बनाउको लागि विभिन्न थरिको रंग, चुन, गोवर माटो, चित्र कोर्नको लागि वाँसको व्रस, आदि जुटाउने गर्दछन् । त्यस्तै पकाउनको लागि दउरा, अग्रासन ‘कोसेली’ दिन जानको लागि सालको पात टिपेर टपरी लगाउने, घर सरफाई गर्ने लगायत कामको तयारी गरेकाहुन्छन् ।

‘अष्टिम्की’ मा के–के चित्र बनाइन्छ
‘अष्टिम्की’को पूजा गर्नको लागि महटावा घरको वैठक (बह्री) कोठा लाई उपयुक्त मान्दछन । त्यो दिन वैठक कोठा विहानै लिपपोट गरेर सफा गरिन्छ । र त्यहि वैठक कोठाको उत्तर पत्तिको भित्ता या ‘डेह्री’मा चतुर्भुज आकारमा बनाई गोवर माटोले लिपपोट गरिसकेपछि त्यसलाई सेतो चुनले पोटिन्छ भने त्यसको छेउमा छेउमा विभिन्न थरिको रंगी चंगी रंगले चारैतिर पोटीसकेपछि त्यसैको विचमा सवैभन्दा माथि पाँच जनाको चित्र वनाइन्छ । त्यहि सवै भन्दा विचको चित्रलाई श्रीकृष्णको चित्र हुन्छ । ‘अष्टिमी’को दिन श्रीकृष्णलाई हिरो वनाइन्छ । किनकी अष्टिम्कीको दिन श्री कृष्ण अर्थात ‘कान्हा’को पूजा गरिन्छ । यसरी श्री कृष्णको दाँया सुर्य र बाँया चन्द्रमाको चित्र कोरिन्छ । त्यसैगरि दोस्रो लाईनमा सात जना मान्छेको चित्र कोरिन्छ । जहाँ सात भाई कौरबको प्रतिनीतित्व हुन्छ । यसैगरि तलको भागमा दुलाहा दुलही, दुलहीलाई पठाउन जान लागेको ‘डोली’, दुलाहालाई पठाउन जानलागेको ‘ड्वाला’ माछा, गंगुता, बाघ, हात्ति, मयुर, सर्प, गाई, बल्ला, विराले,बनजंगल, विभिन्न चरा, चरिंगी, जनावर, विच्छी लगायतको चित्र बनाइन्छ ।

यसरी पुज्छन ‘अष्टिम्की’ मा पूजा
‘अष्टिम्की’को दिन जब साँझ पर्छ । थारु महिलाहरु विभिन्न रंङ्गीचंङ्गी राटो, कालो, निलो चोली, सेतो गुन्यु, विभिन्न घाँटीभरि गरगहना लगाएर र वलिरहेको दियो, त्यसैमा रंङ्गीचंङ्गी फूल लिएर लाइनबद्ध गाँउभरिको महिलाहरु महटवाको घरमा जुटछन् । सवै गाँउभरिका महिलाहरु भेला भइसकेपछि महटावाँकी श्रीमति आइपुग्छन । र अष्टिम्की’को पूजाको सुरुवाट महटावाँकी श्रीमतिबाट हुन्छ । यसरी भित्तामा कोरिएको चित्रको सवै भन्दा माथिको लाइनमा रहेको पाँच चित्र मध्य विचमा रहेका श्री कृष्ण (कान्हा)लाई टिका लगाएर अन्य चित्रमा क्रमस सिन्दुरको टिका, कलशको जलद्धारा पूजा गरिन्छ । यसरी महटवाँकी श्रीमतिले पूजा गरिसकेपछि क्रमस गाँउका सवैभन्दा ठुलाबाट अन्य महिलाहरु पुज्ने गर्दछन् ।

अष्टिम्की’को पहिलो दिन
‘अष्टिम्की’ अघिल्लो रातमा दर खाइसकेपछि ‘अष्टिम्की’को दिन थारु महिलाहरु दिनभरि व्रत वस्छन् । त्यसैगरि अष्टिम्कीकै दिन ‘अष्टिम्की’को चित्र वनाउको लागि पुरुष मान्छे पनि व्रत वसेका हुन्छन् । यसरी यो दिन थारु महिलाहरुले दिउसो ११/१२ बजेतिर नुहाइधुवाई गरि अष्टिम्कीमा पूजा गर्नको लागि विभिन्न थरिको फूल, ज्यामिर, दियो बाल्नको कपासको बत्ति, माटाको दियो, सालको पातको टपरी बनाउने तयारी गर्छन भने पुरुष मान्छले अष्टिम्कीको चित्र बनाउन तिर लाग्छन । अष्टिम्कीको चित्र बनाउनको लागि थारु महिलाहरुले पनि सहयोग गर्ने गर्दछन् । यसरी चित्र वनाइसकेपछि बेलुका अर्थात साझ ७/८ वजेतिर गाँउका सवै थारु महिलाहरुले आ–आफ्नो घरबाट टपरीमा थोरै चामल, दियो, फुल, ज्यामिर, लिएर लाइबद्ध रुपमा महटावाको घरमा जाने गर्दछन । त्यहाँ गाँउका सवै थारु महिलाहरु जुटीसकेपछि महटावाको श्रीमतिले सवै भन्दा अगाडी पूजा गर्नसुरुवाट गर्छन । यसरी महटावाको श्रीमतिले पूजा गरिसकेपछि गाँउको ठूलाबाट क्रमस सानोले पूजा आजा गर्नगर्दछन । पूजा गर्ने बेला श्रीकृष्णलाई सवै भन्दा अगाडी सेन्दुरले टिक्ने गर्छन अर्थात श्री कृष्णलाई टिका लगाइसकेपछि भित्तामा कोरिएको अन्य सवैचित्रमा क्रमस टिका लगाउने र टिका लगाइसकेपछि तीन या पाँच चोटी जल चढाउने सुरु गरिन्छ । त्यहिक्रममा अष्टिम्कीको गित पनि गाइन्छ ।

यसरी गाँउका सवैले पूजा गरिसकेपछि सवैले आ–आफ्नो घरमा गएर दहि, फलफुल, खाइसकेपछि पुन महटवाको घरमा गई रातभरि सामुहिकमा ‘अष्टिम्की’को गीत गाइन्छ । अष्टिम्कीमा यसप्रकारको गीत हुन्छ ।
हरे पहिल छ सिर्जल जल थल धरती
सिरीजी ट गइल हो कुशकै डाब २
सिरजी ट गैल लारी लरीचक साम
सिरजी ट गैल अन्न पुरुष
सिरजी ट गैल डाखी डरीउनक् साग २

‘अष्टिम्की’ दोस्रो दिन
यसरी रातभरि गीत गाइसकेपछि विहान ६ वजे गाँउभरिको सवै थारु महिलाहरुले आ–आफ्नो टपरीमा रहेको बलिरहेको दियो ‘दिप पज्वलन’, ज्यामिर, फूल लिएर लाइनबद्धमा नजिकैको खोलामा पुग्छन । खोलामा गइसकेपछि सवैले पानीमा गएर लाइन लागेर बलिरहेको दियो ‘दीप पज्वलन’, ज्यामिर, फूल एकसाथ वगाउने गर्छन ।

यता पछाडी पुरुषहरु लंगी लुटनकोलागि खोलामा पर्खिरहेका हुन्छन । त्यो दिन वगाएको ज्यामिर धेरै मिठो हुने गरेको थारु जानकारहरु वताउछन् । यसरी थारु महिलाहरुले बलिरहेका दियो ‘दीप पज्वलन’, लंगी, फूल वगाई सकेपछि सवैले नुहाई धुवाइगरि आ–आफ्नो घरमा जन्छन । घरमा आइसकेपछि उनिहरु हिजैकै दिन जस्तै भात, तीन थरिको तरकारी, अन्य मिठा मिठा परिकार आ–आफ्नो दाजुभाइको नाममा निकाल्ने गर्छन्, जसलाई थारु भाषामा अग्रासन भन्ने गरिन्छ । त्यहि अग्रासन विवाहित महिलाहरुको दाजुभाई छनभने आ–आफ्नो दाजुभाईहरुलाई अग्रासन दिन जाने चलन छ । त्यसैगरि अविवाहित महिला अर्थात (वठिन्या) हरु एकठाउमा जम्मा भएर नजिकै नाचिरहको जात्रा (लाखे) हर्न जानेगर्दछन् ।
यसरी धुमधाम र उल्लासमय वातावरणमा थारु महिलाका दिदीवहिनीहरुले दुइदिनसम्म अस्टिम्कीलाई महान पर्वको रुपमा मनाउने गर्दछन् । उनिहरुले यो पर्वलाई स्वतन्त्रताको दिनको रुपमा पनि मान्ने गर्दछन् । यस अवसरमा सम्पूर्ण महिलादिदीवहिनीहरुमा सु स्वास्थ्य दिर्घायुको शुभकामना व्यक्त गर्दछु ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित