हरेक वर्ष १९ जुनमा विश्वभर सिकलसेल दिवस मनाउने गरिन्छ ।
नेपालमा पनि केही वर्षदेखि सिकलसेल दिवस मनाइँदै आएको छ । विशेष गरेर सिकलसेल एनिमिया रोगबारे जनचेतना जगाउने उद्देश्यले नेपालका प्रभावित जिल्ला र क्षेत्रमा सिकलसेल दिवस मनाउने गरिएको छ ।
दाङको घोराहीमा पनि यस अवसरमा कार्यक्रम गर्न थालिएको घोराही उपमहानगरका स्वास्थ्य प्रमुख नारायण घर्तीले बताए। सिकलसेल एनिमियाबाट बच्ने उपाय र यसबारे सचेतना जगाउने उद्देश्यले दिवस मनाउन लागिएको उनले बताए ।
सरकारले पनि सिकलसेलको उपचारमा सघाउँदै आएको छ। यसका बिरामीलाई एक लाखसम्म निःशुल्क उपचारको व्यवस्था गरेको छ।
के हो सिकलसेल एनिमिया ?
भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसिएन डा. राजन पाण्डेका अनुसार, रातो गोलाकार रक्तकोषिकाको स्वरूप परिवर्तन भई हँसिया जस्तै आकारमा रूपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकलसेल एनिमिया भनिन्छ ।
यो वंशानुगत रोग हो । यो रोग लागेका बिरामीका रक्तकोष हँसिया आकारको हुने भएकाले यसलाई हँसिया रोग पनि भन्ने गरिन्छ ।
कसरी सर्छ ?
यो वंशानुगत रोग भएकाले जिनमा हुने खराबीले आमाबुबाबाट जन्मिने सन्ततिलाई सर्ने गर्छ। यो रोग लागेको र अरूमा सार्न सक्ने व्यक्तिमा सामान्यतया खासै लक्षण देखिंदैन ।
यो रोग सार्न सक्ने व्यक्तिबीच विवाह भएमा सन्ततिमा देखिन सक्ने डा. पाण्डेले बताए ।
यसरी बच्न सकिन्छ
सरकारले चाहेमा र समुदायले स्विकारेमा १० वर्षमा सिकलसेल एनिमिया नियन्त्रण गर्न सकिने डा. पाण्डेले बताउँछन्। “सिकलसेल एनिमिया रोग वंशानुगत भए पनि यसबाट बचाउन सकिन्छ,” उनी भन्छन्, “यसलाई रोक्न सबैभन्दा उत्तम उपचार भनेको बिहे हुनुअघि अनिवार्य रूपमा सिकलसेल एनिमिया परीक्षण गर्नु हो।”
सिकलसेल एनिमिया र बिटा थालासेमिया भएका व्यक्तिले सन्तान जन्माउँदा ध्यान दिनुपर्ने उनको भनाइ छ। “विवाह पूर्व हेमोग्लोबिन इलेक्ट्रोफोरेसिस् जाँच गरी सिकलसेल अर्थात् थालासेमिया कुण्डली मिलाएर वैवाहिक निर्णय गरेमा जीवनभर सिकलसेल रोगबाट बच्न र बचाउन सकिन्छ,” डा. पाण्डे भन्छन् ।
त्यसै गरी समयमै पहिचान गरेर नियमिति रूपमा औषधि सेवन गरेमा यस रोगबाट बच्न सकिने उनी बताउँछन्। यससँगै नियमित सङ्क्रमण विरुद्ध खोप, नियमित रूपमा रक्तअल्पताको उपचार गराउनुपर्ने उनी बताउँछन् ।
नेपालमा चार हजार बिरामी
अहिलेसम्म नेपालमा चार हजारभन्दा बढी सिकलसेल एनिमियाका बिरामी रहेको एक अध्ययनमा देखिएको छ। अहिलेसम्म सिकलसेल एनिमिया देखिएकामध्ये धेरैजसो थारू समुदायका रहेको डा. पाण्डे बताउँछन् ।
सिकलसेल थारू समुदायलाई मात्र लाग्छ भन्ने भ्रम रहेको उनको भनाइ छ। तराईमा बसोबास गर्ने अन्य समुदायलाई पनि लागेको पाइएको उनले बताए। यो रोग विश्वका अन्य देशमा पनि देखिएको छ ।
प्रभावित पाँच जिल्ला
यो रोग विशेष गरेर मलेरिया प्रभावित क्षेत्रमा बढी देखिएको छ। सिकलसेल एनिमियाबाट नेपालको पश्चिम तराईका पाँच जिल्ला बढी प्रभावित छन्। बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा यसको प्रभाव धेरै देखिएको छ ।
यी मध्ये पनि सबैभन्दा बढी बर्दियामा देखिएको डा. पाण्डेले बताए। त्यस्तै, पछिल्लो समय प्यूठान र जाजरकोटमा पनि सिकलसेल देखिएको छ ।
(हिमाल खबरबाट साभार https://www.himalkhabar.com/news/130706?fbclid=IwAR2W61UoVXSR6ZsI9TsTlCXC16oSghCfad4F8LqEFE_rGjHaWBQtCvzaodg)