दाङको पुरानो साँस्कृतिक थारु संग्रहालय अलपत्र

थारु समुदायको पहिचान झल्काउने उद्देश्यले स्थापना गरिएको दाङको पूरानो साँस्कृतिक थारु संग्रहालय संकटमा परेको छ । १३ वर्ष अगाडि घोराही १७ स्थित पनौरामा स्थापना गरिएको थारु साँस्कृतिक संग्रहालय आर्थिक अभाबमा संकटमा परेको हो ।

२०६६ मा स्थापना गरिएको संग्रहालय केही वर्षसम्म सञ्चालनमा आएको थियो । स्थापनासंगै देशको विभिन्न ठाउँ र बाहिर देशबाट जिल्लामा आउने पर्यटकहरु अवलोकन गर्न आउने गरेका थिए । तर करिब २-३ वर्ष यतादेखि संग्रहालय बन्द भएपछि संग्रहालयमा अवलोकन गर्न आउने पर्यटकहरु फर्केर जाने गरेको स्थानिय बताउँछन् ।

लामो समयसम्म संग्राहलय खुल्न नसक्दा संग्राहलय भित्र रहेका विभिन्न सामग्रीहरुमा ढुसि लागेर कुहिन थालेको स्थानिय तेजमान चौधरीले बताए । उनका अनुसार संग्रहालयमा रेखदेख गर्ने कर्मचारी, स्रोतसाधनको कमि, व्यवस्थापनमा समेत समस्या र आर्थिक अभाबको कारण संग्रहालय अलपत्रमा हुनपुगेको हो ।

‘थारु समुदायको उदगम थलोको रुपमा चिनिएको दाङ जिल्लामा आउने जो कोहिले पनि थारु समुदायको बारेमा अवलोकन तथा अध्ययन गर्न चाहन्छन्, थारु कल्याणकारिणी सभा दाङका सचिब प्रकाश चौधरीले भने, -आन्तरिक होस् या बाह्य पर्यटक उहाँहरुलाई हामीले देखाउने त्यहि थारु संग्रहालय थियो तर, स्थानीय सरकारको ध्यान नजाँदा संग्राहलय संचालनमा प्रभावकारी हुन सकेको छैन ।’

संग्रहालय संकटमा आएसंगै थारु समुदायको मौलिक पहिचान नै गुम्ने खतरामा रहेको चौधरीको भनाईथियो । उनले संग्रहालयलाई पुनः संचालनमा ल्याउनको लागि स्थानीय सरकारले ठोस योजना ल्याउनुपर्ने बताए ।

यसैबिच घोराही-१७, का नवनिर्वाचित वडा अध्यक्ष रामलौटन चौधरीले हाम्रो वडामा रहेको साँस्कृतिक थारु संग्रहालय संचालन र यसलाई व्यवस्थित बनाउनको लागि आफुहरुले गुरु योजाना बनाइरहेको बताए । अबको केही महिनामा संग्रहालय व्यवस्थित तरिकाले संचालनमा ल्याउने र प्रभावकारी ढंगले अगाडि बढाउने बताए । साँस्कृतिक थारु संग्रहालय थारु समुदायको पहिचान संग मात्र नभइ समग्र जिल्लाको पहिचान र पर्यटन विकाससंग जोडिएकोले यसको बृहत् विकासको लागी स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउने तयारीमा रहेको वडा अध्यक्ष चौधरीले बताए ।

करिब २५ लाख भन्दा बढि लगानीमा बनेको साँस्कृतिक थारु संग्रहालय दाङकै पुरानो संग्रहालय हो । संग्रहालयमा थारु समुदायको पहिचान भल्किने थारु समुदायको परम्परागत विभिन्न सामग्रीहरु राखिएका छन् । पुर्खौली थारु समुदायले प्रयोग गर्दैआएका विभिन्न किसिमका माटाका भाडाँकुडाका सामाग्रीहरु राखिएका छन् । त्यसैगरि पुर्खौली भेषभुषा, गरगहना, भौका, भौकी, खेतिपातीमा प्रयोग गर्दैआएको हलो, वर्षातको समयमा ओढने छत्री, धान राख्नको लागि माटोका भाँडा ‘डेहरी’, भात पकाउने माटाका भाँडाकुडा, तरकारी चलाउने काठको डाडु राखिएकाछन् ।

यसैगरि परम्परागत थारु समुदायले सुत्नको लागि प्रयोग गर्दै आएको खटिया, खटौली, ढक्या गुन्द्री, पटकी गुन्द्री, कपडा राख्ने भौका लगायत सामग्री संग्रहालयमा राखिएका छन् । यसैगरि माटाका विभिन्न किसिमका थारु समुदायले पूजापाठ गर्दै आएका माटाका देविदेताका मुर्तिहरु राखिएकाछन ।

त्यसतै दाङबाट बुह्रान (वाँके, बर्दिया, कैलाली र कन्चनपुर) जिल्लामा बसाइँसराइ गर्दाको झल्को दिनेगरी काठको मानि बनाएर बिबिध बस्तुहरु राखिएकाछन् ।

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित