थारु पत्रकारले मागे नेपाल पत्रकार महासंघको पदाधिकारीमा थारु कोटा

काठमाडौं, १ मंसिर । थारु पत्रकार संघ नेपालले नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको विधानमा थारु पत्रकारका लागि पदाधिकारीमा कोटा निर्धारण गर्न माग गरेको छ ।

संघको शनिबार काठमाण्डौमा बसेको दोस्रो केन्द्रीय कार्यसमितिको बैठकबाट सो माग गरेको हो । वैठकले पाँचबुदे घोषणापत्र जारी गर्दै भनेको छ, “नेपाल पत्रकार महासंघको विधानमा संविधानले थारु समुदायलाई छुट्टै क्लष्टरको व्यवस्था गरेकाले महासंघको पदाधिकारीमा थारु पत्रकारलाई समेट्नु पर्ने, संघीय सरकारले हरेक वर्ष पत्रकार सम्बद्ध संघ संस्थालाई आर्थिक अनुदान वितरण गर्दै आए तापनि थारु पत्रकार संघलाई अहिलेसम्म अनुदान प्राप्त नभएकाले आगामी वर्षदेखि संघलाई पनि अरु सरह आर्थिक अनुदान दिने व्यवस्था गर्न माग गर्दछौं ।”

सोहीअनुसार नेपाल संवैधानिकरुपले संघियताको कार्यान्वयनमा गइसकेको र राज्यको सबै संयन्त्रमा समानुपातिक व्यवस्थाअनुरुप जाने प्रतिवद्धताअनुरुप पत्रकार सम्बद्ध निकायमा थारु पत्रकारलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागिता गराउनुपर्ने, संघले सरकारी तथा निजी ठूला सञ्चारगृहमा थारु पत्रकारको सहभागिता शुन्यप्राय रहेकाले समानुपातिक सिद्धान्तका आधारमा सहभागिताको व्यवस्था गर्न पनि भनेको छ । त्यसैगरि थारु पत्रकारको सशक्तिकरणमा ध्यान दिइनुपर्ने र थारु पत्रकार संघ नेपालको महाधिवेशन प्रतिनिधि पत्रकार भिमप्रसाद चौधरी मोटरसाईकल दुर्घटनामा परी घाइते भएकाले शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । त्यस्तै, संघ रुपन्देहीका जिल््ला अध्यक्ष राज चौधरीलाई एक अज्ञात समूहले हातपात तथा दूव्र्यवहारको घटनाप्रति आपत्ति जनाएको छ । दोसीको छानविन गरी कारवाहीको माग समेत गरेको छ ।

संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षता तथा थारु आयोगका अध्यक्ष विष्णु थारुको प्रमुख आतिथ्यमा एवं सल्लाहकारद्धय लक्की चौधरी, डा.कृष्णराज सर्वहारीको विशिष्ट आतिथ्यमा भएको बैठकले काठमाडौं उपत्यकाबाट दुईजना पत्रकारलाई सदस्यमा मनोनित गरेको छ । बुनु थारु (दाङ) र लक्ष्मी चौधरी (कञ्चनपुर) लाई सदस्यमा मनोनित गरिएको हो । बुनु थारुलाई काठमाडौं उपत्यका इन्चार्जको जिम्मेवारी तोकेको संघका महासचिव शन्तकुमार चौधरीले जानकारीदिए । त्यस्तै, संघले थारु पत्रकार संघको बार्षिक मुखपत्र फूलरियालाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

बैठकमा संघको महाधिवेशनको समिक्षा, संघको भावी कार्यक्रम तथा संस्थालाई गतिदिने विषयमा समिक्षात्मक छलफल भएको संघका पदाधिकारीले बताएका छन् । उपत्यकासहित १७ जिल्लामा शाखा रहेको थारु पत्रकार संघमा करिब तीनसय पत्रकार आवद्ध छन् । संघ २०६७ चैत १६ गते विधिवत दर्ता भएको थियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित