आज उज्याली गौरा पर्व मनाइँदै

धनगढी, १८ भदौ । सुदूर र मध्यपश्चिममा आज उज्याली गौरा पर्व मनाइँदैछ । भाद्र शुक्ल अष्टमीका दिन मनाइने पर्वमा उमा महेश्वरसहित दुबोको पूजा गरिन्छ ।

भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरिन्छ ।

गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा, तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा छ ।

यो पर्वका लागि भाद्र शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रूपमा बिरुडा नै बाँडिन्छ, पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ ।

दुईरतीन दिन पूजा गरिसकेपछि मङ्गलबार र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ । देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित