भूकम्प प्रतिरोधात्मक घर निर्माणबारे अभिमुखीकरण

पार्वती बस्नेत

दाङ, २१ असार । ग्रामीण महिला उत्थान केन्द्र, दाङले घोराही उपमहानगरपालिका १७ बेलभारमा भूकम्प प्रतिरोधात्मक भौतिक निर्माण तथा जग्गा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

ग्रामीण महिला उत्थान केन्द्र, दाङ र एलकेएस संस्थाको साझेदारीमा दाङको घोराही उपमहानगरपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा सञ्चालन भइरहेको ‘महिला परिवारलाई सुरक्षित आवासमार्फत सुदृढीकरण तथा भूमिमा महिलाको स्वामित्व सम्बन्धी सचेतना र पैरवी’ परियोजनाअन्तर्गत आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको सहकार्यमा संस्थामा आबद्ध सदस्यहरूलाई अभिमुखीकरण प्रदान गरिएको हो ।

भगवती महिला उत्थान केन्द्रकी अध्यक्ष कल्पना चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका प्राविधिक/इन्जिनियर आशिक चौधरीले भूकम्पको प्रकृति, भूकम्प प्रतिरोधात्मक घरको आवश्यकता, घर निर्माणका क्रममा सिमेन्ट र बालुवाको उचित मिश्रण, उपयुक्त जग्गाको छनोट तथा सुरक्षित घर निर्माण गर्दा ध्यान दिनुपर्ने प्राविधिक पक्षबारे सहजीकरण गर्नुभयो ।
त्यसैगरी संस्थाकी पार्वती बस्नेतले जग्गाका प्रकार, जग्गा दर्ता प्रक्रिया तथा नेपालमा प्रचलित कानुनी व्यवस्था र नीतिका विषयमा जानकारी गराउनुभयो। तालिममा सहभागीहरूले विभिन्न जिज्ञासा राख्दै अन्तरक्रियात्मक रूपमा छलफलमा सहभागिता जनाएका थिए। २२ महिला र दुई पुरुष गरी २४ जनाको सहभागिता रहेको कार्यक्रममा घर निर्माणका क्रममा संस्थाबाट प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने मागसमेत गरिएको थियो । सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान समुदायका अन्य व्यक्तिसम्म पनि पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै यस्ता तालिमलाई निरन्तरता दिन आग्रह गरेका थिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष कल्पना चौधरीले सिकाइ प्रक्रिया निरन्तर हुने भएकाले यस्ता ज्ञानमूलक कार्यक्रम नियमित रूपमा सञ्चालन हुनुपर्ने बताउनुभयो। उहाँले संस्थाले घरदैलोमै पुगेर सुरक्षित घर निर्माण, उपयुक्त स्थानको छनोट, निर्माण प्रक्रियामा अपनाउनुपर्ने सावधानी, जग्गा दर्ता प्रक्रिया तथा सरकारी नीति–नियमबारे जानकारी गराएकोमा ग्रामीण महिला उत्थान केन्द्र, दाङप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडसँग लामो समयदेखि आबद्ध भएपछि बचत र उद्यमशीलतामा प्रेरणा प्राप्त गरेको उल्लेख गर्दै अहिले सुरक्षित आवास र भूमिसम्बन्धी ज्ञानले थप सशक्त बनाएको बताउनुभयो।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित