२०६४ सालमा पहिलो थरूहट आन्दोलन भयो। जसमा पाँच जना थारू शहीद भए। आन्दोलन उचित/अनुचित के हो भन्ने एक दिन अवश्य समीक्षा होला।
थरूहट आन्दोलनबारे थारूहरूसँग न सल्लाह भएको थियो‚ न उनीहरूबीच हल्ला नै। तर एकाएक आन्दोलन उठ्यो‚ चैत-वैशाखको डढेलो झैं। आन्दोलन परिचालित थियो। राज्यको सहयोग थियो। तर‚ राज्यलाई सहयोग गर्दागर्दै पनि किन पाँच जना थारूट शहीद भए? यो गम्भीर विषय हो।
थारू आन्दोलन मधेश लक्षित थियो। आन्दोलन उचाल्नेको एउटै उद्देश्य थियो, मधेश मधेशीको मात्रै होइन थारूहरूको पनि हो। बस, यही शब्दको झिल्काले आन्दोलनको डढेलो लाग्यो। सारा थारू सडकमा आए। आन्दोलन किन र कसरी भइरहेको छ भन्ने बुझेका हामीले त्यो भीडलाई नियन्त्रण गर्न सक्ने अवस्था थिए। थारूहरू परिचालित आन्दोलनबारे अनभिज्ञ थिए।
आन्दोलनको ज्वारभाटा रोक्ने प्रयास गर्यौं। आन्दोलनको यथार्थबारे दुईचार ठाउँमा बोल्यौं। तर‚ जहाँ बोल्थ्यौं, उल्टै थारू विरोधी, आन्दोलन विरोधीको संज्ञा पाउँथ्यौं। सत्य उजागर गर्दा भइने बवकुफीको कारण म सोच्थें‚ ‘‘जनता जंगलमा ठडिएका वृक्ष हुन्। हावा चलेपछि पात हल्लिनै पर्छ। पात हल्लाउने हावालाई दुईचार जनाले फुकेको फुङ्कारले थाम्न सक्दैन।’’
म फूलबारी एफएमबाट सम्झाउन प्रयत्न गर्थें। बेवकुफ बनियो तर सम्झाउन सकिएन। जीवनमा पहिलोपटक आभाष भयो‚ ‘‘विष फैलिसकेपछि अमृतको कामै रहेनछ।”
राज्यलाई सरल सहज रुपमा परिचालित हुने जनता चाहिन्छ। ती जनतालाई नियाल्ने अगुवा आफ्नो खल्तीको भए झन् गज्जब हुन्छ। आवश्यक परेको बेला खर्चियो, नत्र धन्सारमा थन्कायो। त्यस वेला राज्यले त्यस्तै आन्दोलन अगुवा भेट्टायो, जस्तो राज्यले चाहेको थियो।
आन्दोलन सकियो। मधेशी हारे झैं देखियो। आन्दोलनकर्मी थारू पनि हारे। तै पनि थारूहरूमा विजयीभाव थियो। किनकि‚ मधेशीहरूले ताकेको २३ जिल्ला मधेश भएन। यही खुशीयालीमा थारूहरूले भोज गरे। थरूहटमा खुशीयाली छायो। आन्दोलनका अगुवाहरूलाई अबिर घसिदिए। त्यो आन्दोलनका सीमित अगुवाहरूले लङ्का विजयको डङ्का फुकेर झुठको पगरी सिउरिए‚ बहादुरको संज्ञा पाए। आफ्नो स्वार्थ पूरा भएकोमा राज्य सबैभन्दा बढी उमंगित थियो।
आन्दोलनका अगुवाहरूलाई मिडियाले खोजी खोजी अन्तर्वार्ता लिए। यदि अन्तर्वार्तामा दुवै पक्ष सँगै भए मधेशी नेता अत्यन्त शालीन भएर जवाफ दिन्थे। थारू नेताहरू सिद्रा बेचुवा, मिर्चा बेचुवा भन्दै उग्र हुन्थे। दुवैलाई उचालेर राज्य रेफ्री भएको थियो। गोल भए पनि सिट्ठी, फाउल भए पनि सिट्ठी। मधेशीले फाउल गर्दा पनि राज्यले सिट्ठी बजाउँथ्यो। थारूले गोल गर्दा पनि राज्यले सिट्ठी बजाउँथ्यो। हामी वास्तविक खेलाडीहरू बाहिर थियौं। मैदानभित्र प्रवेश नपाएकाले न फाउल गर्न सक्थ्यौं, न गोल गर्न सक्थ्यौं। साँच्चै भन्नुपर्दा मैदानमा हामी प्रवेश गर्न सक्ने अवस्थै भएन।
२०६४ सालको थारू आन्दोलनलाई मधेशी बुद्धिजीवीहरूले नजिकबाट नियालिरहेका थिए। उनलाई थाहा थियो, थारूले साथ मात्रै दिए मधेश एक प्रदेश हुनसक्थ्यो। तर‚ थारूलाई पहाडीले उचाल्यो। जसका कारण मधेश एक प्रदेश बनाउने सपना चकनाचुर भयो। यदि थारूले ‘मधेश एक प्रदेश’ बनाउन सघाएको भए मधेशी बुद्धिजीवीले आधा आधा बाँडेर थरूहट प्रदेश दिन तयार थिए।
मधेश एक प्रदेश हुन नदिने आन्दोलन उठाउन राज्यले नगद सहयोग पनि गर्यो। आन्दोलन सफल भएपछि अगुवाहरूलाई राज्यले पुरस्कार दियो। केही आँखा चिम्लिए प्राकृतिक सम्पदा दोहन गर्न दिएर सहयोग गर्यो। खोलानालाको ढुङ्गामा गुण्डा डनले कर उठाउँथे, आज थारूले उठाउँछन्। हिजो भन्सार भन्सारमा तस्करहरूसँग साँठगाँठ गर्दै उरन्ठ्याउला राजनैतिक संरक्षण प्राप्त दादाहरूले कर उठाउँथे, आज थारूले उठाउँछन्। राज्य जहिल्यै जान्दछ, ‘‘यस्तै मान्छे आफ्नो कमैया भैदिए सधैं खेत जोताउन पाइन्छ।’’
२०६४ को आन्दोलन मधेश एक प्रदेशको विरुद्ध थियो भने २०७० को थरूहट आन्दोलन संविधानमा हक अधिकार प्राप्तिका लागि। थारूहरू आफ्नो भूगोलमा आफ्नो राज्य स्थापनाका लागि संघर्ष गर्ने दाउमा थिए। तर‚ पहाडीहरूले २०७० को आन्दोलनलाई आफू विरुद्धको ठाने। थारूहरूको राजनैतिक कूटनीति यहीनेर फेल भयो। थारूहरू मधेशी र पहाडी दुवैका आँखाको छारो भए।
यही समयमा एकीकृत नेकपा माओवादीबाट सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान सभा भंग गरी निर्वाचनको घोषणा गरिदिए। थारूहरू मधेशी र पहाडी दुवैबाट पूर्णरुपमै अलग भैसकेको संकेत तत्कालीन मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले बुझिसकेका थिए। त्यही अनुसार उनी २०७० संविधान सभा निर्वाचनमा होमिए।
थारूहरूले पनि पहाडी र मधेशीलाई नेता मान्नुभन्दा आफ्नै वर्ग समुदायकालाई नेतृत्व चुन्नु ठीक ठाने। गच्छदारले त्यसको लाभ उठाए। थारूहरूले त्यत्रो जनमत एकीकृत भएर साथ दिंदादिंदै पनि गच्छदारले आफ्नो पार्टीलाई कांग्रेसमा विलय गरे। यसले थारूहरूको एक हुने सपना उध्रियो।
२०७० को निर्वाचनपछि संविधान सभा सदस्यहरू जनमत संकलनका लागि गाउँगाउँ खटिए। उनीहरूले बोराका बोरा जनताका विचार/सुझाव बोकेर आए। तर‚ राज्यले नचाहेपछि कसको के लाग्छ र! ती विचार/सुझाव सिंहदरबारको एक कोठामा थन्काइयो। ती बोरा खोलिएनन्। अर्बौं रुपैयाँ खर्चिएर संकलन गरिएको सुझावको बोरा नखोल्नुको रहस्य के हो? जनताले त्यति वेलै बुझ्नुपर्थ्यो नेताहरू हाम्रो इशारामा चल्दैनन्। उनीहरू त हामीलाई केवल मतका लागि मात्र प्रयोग गर्छन्। यिनले गर्ने शासनको साँचो अन्य कसैका हातमा छ।
सुझावको पोको नखोलेर संविधान सभाका सदस्यहरूले नागरिक विचारको बलात्कार गरे। राज्यको अर्बौं ढुकुटी खर्चिएर नागरिकको विचार सार्वजनिक नगर्ने राजनैतिक दलहरूले नागरिकको हक स्वतन्त्रता, विचारको दमन गरे। इतिहासले त्यसको हिसाबकिताब राख्ने छ। सभासदले बोकेर ल्याएका तिनै बोरामा दुईतिहाइभन्दा बढी पहिचान सहितको थरूहट प्रदेशका नाममा सुझाव प्रषित थिए। त्यसैले राज्यलाई थाहा थियो, ‘‘बोरा खोले जनताको विचारले जित्ने छ। हाम्रा स्वार्थहरू सधैंका लागि हार्ने छन्। हाम्रा राजनैतिक मार्ग सदाको लागि बन्द हुनेछ।’’ त्यही ठानेर जनताको सुझावको बोरा सिंहदरबारमा थन्काइयो।
जनताको विचार थन्काउने राज्यले आवश्यक परे विद्रोहलाई समेत थन्को लगाइदिन्छ। अहिले हामी राज्यको हत्केलामा सर्कसेले खेलाउने बल जस्तै भएका छौं। स्वार्थी हाम्रै जमातले हामीलाई सधैं सर्कसको जनावर बनाइरहन चाहन्छन्। तर, हामी स्वतन्त्रता चाहन्छौं। दुई चार फिला मासु पाउने चाहनामा सर्कसमा नाच्ने बाघ बन्न चाहँदैनौं।
त्यसैले पहिचानका लागि अनवरत लडिरहेका छौं र लडिरहनेछौं। तर‚ कहिले काहीं लाग्छ, राज्यसँगको लडाइँमा सँगै हिंडेका भ्राता विभीषणहरूका कारण स्वर्ण लङ्का गुमाउनुपर्ने त होइन? तर, एउटा प्रतिवद्धता छ‚ “थरूहट माता, म तिमीलाई जोगाउन सक्छु कि सक्दिनँ। तर प्रयत्नरत संघर्षबाट म भाग्दिनँ।”
(कैलाली–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरी २०७२ भदौ ७ गतेकाे कैलाली घटनामा अदालतबाट दोषी ठहर भएपछि डिल्लीबजार सदरखोरमा बन्दी छन्।) हिमाल खबरबाट साभार