माघीमय थारु गाउँ

यतिबेला दाङ माघीमय बनेको छ । खासगरि थारु गाउँमा माघीको रौनक छाएको छ । माघीको पुर्वसन्ध्यामा माघ मिलन तथा साँस्कृतिक कार्यक्रम गरेर गाउँ गाउँमा माघीलाई स्वागत गर्ने काम गरिएको छ । त्यसैगरि माघीको दिन थारु गाउँ गाउँमा माघी विशेष कार्यक्रम आयोजना गरिएकाछन्, । माघीलाई उल्लासमय मनाउनको लागि युवा देखि बुद्धवुद्धासम्म लागि परेकाछन् । बर्षको एक पटक आउने माघीलाई थारु समुदायले विशेष रुपमा मनाउने गर्दछन् । माघीमा नाचगान मात्र नभएर वितेका बर्षको कामको समिक्षा, आगामी बर्षको कार्ययोजना र गाउँको नेतृत्व चयन गर्ने जस्ता काम हुने भएकाले माघीलाई सवैले चासोको साथ हेर्र्ने गर्दछन् ।

माघीको दिन मुख्य रुपमा हरेक गाउँमा नयाँ महटावा चुन्ने गरिन्छ । सामाजिक, रिति, विवाहरीत, पूजा, कुलो पैनी, नहर, ताल तलैया, पुलपेलेशा गाउँघरको बाटाघाटा बनाउने जस्ता योजना बनाइन्छ । त्यसैगरि माघीको दिनदेखि करिब एक सातासम्म गाउँ देखि छिमेकी गाउँसम्म घर घरम पुगेर मघौटा नाच नाच्ने र माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।
यसरी थारु समुदायले एक सातासम्म माघी पर्व धुमधाम, उल्लासयम बातावरणमा मनाउने गर्दछन् । पछिल्लो समय गाउँबाट शहरसम्म माघीको रौनक देख्न सकिन्थ्यों । तर, विगत २ वर्षदेखि कोभिडको कारणले यसवर्षको माघी पनि शहरतिर त्यति उल्लासमय देखिएन । यदपी गाउँ घरमा भने माघीमय भएको थारु अगुवाहरुले बताउदै आएकाछन् । कोभिडको तेस्रो भेयिन्ट कारणलले घोराहीमा आयोजना गरिएको माघ महोरत्सव स्थगति गर्नुपरेको थारु कल्याणकारिणी सभा दाङका सभापति भुवन चौधरी बताए । ‘विगतको बर्ष झै यस वर्ष पनि घोराहीमा भब्य माघ महोत्सव आयोजना गर्ने अन्तिम तयारीमा थियो, उनले भने, तर कोभिडको कारणले तयारी भइसकेको माघ महोत्सव स्थगित गर्नुपरेको छ ।’ यदपी गाउँ घरमा माघीको बेग्लै रौनक रहेको चौधरीले बताए ।

माघीको तयारी
थारु समुदायले माघीको तयारी माघी आउनुभन्दा दुइ हप्ता अगावै माघीको तयारीमा जुट्ने गर्दछन् । हरेक वर्ष पुस महिनाको १२-१५ गतेदेखि नै थारु समुदाये माघी तयारी जुट्ने गरेको थारु अगुवाहरु बताउछन् । माघीमा ढिक्री, रोटी, जाँर बनाउनको लागि नजिकै जंगलमा गई दाउरा ल्याउने, पात टिप्ने गर्दछन् । त्यसैगरि घरआँगन सफा गर्ने, घर, पोटने, दुना टपरी लगाउने, मासुको लागि सुंगुरवंगुर खोज्ने, माछा मार्ने, घोङघी खोज्ने, जाँड, रक्सी वनाउने ढिक्री वनाउको लागि पिठो पिसाउने, रोटी पकाउनेको लागि तेल पेलाउने जस्ता तयारी गरिन्छ । त्यसैगरि माघीमा नाच्नको लागिचाहिने आवश्यक सामाग्री मादल बनाउने, मन्जौरा खोज्ने, नाच्ने ड्रेस लहंगाको तयारी गर्ने गरिन्छ । यी तयारी गर्दै गर्दा माघी आइपुग्छ, अध्यक्ष चौधरीले बताए । माघीको अगाडीको दिन अर्थात पुस महिनाको अन्तिम दिनको अगाडि माछा मार्ने र पुस महिनाको अन्तिम दिन सुंगुर काट्ने, ढिक्री बनाउने गरिन्छ ।

कसरी मनाइन्छ माघी
यसरी माघीको सवै तयारी गरिसेकपछि माघीको पुर्व सन्ध्यामा अर्थात पुसको अतिम दिनमा बेलुका खानपिन गरेर महटावाको घरमा गाउँका अगुवाहरु जुट्छन् । सवैजनामा जम्मा भइसेकपछि रातभरि ढुम्रु गीत गाउने गर्दछन् । भोलीपल्ट अर्थात माघ १ गते भाले बाजेपछि ढुम्रु गीत गाउँदै मघौटा नाच नाच्दै गाउँभरिका पुरुषहरु एकैसाथ गाउँकै नजिकै खोला या तालतलैयामा स्नान गर्न जानेगर्दछन् । यसरी खोलमा नुहाइधुवाई गरेर घर फर्किसेकपछि घरको वैठक कोठामा राखिएको मास, चामल, नुनलाई ३-३ पटक निकालेर अर्काे टपरीमा राख्ने गरिन्छ । जसलाई थारु भाषामा निस्राउ कहर्ना भनिन्छ ।

यो कार्य सकिएपछि आफुभन्दा ठूलाबडाहरुसंग ढोक गरेर आर्शिवाद लिने र आफुभन्दा सानालाई अर्शिवाद दिने गर्ने गरिएको थारु अगुवाहरु बताउछन् । घर परिवारका सवै सदस्यहरु एउटै कोठामा वसेर ढिक्रि, मासु, तरुल संगै मिठो मिठो परिकार खादै सुख दुःखको कुरा साटासाट गर्ने गरिन्छ । यसैगरि घरपरिवारमा वर्षभरिको लागि के के काम गर्ने, कुन कामको जिम्मा कसलाई दिने लगायत घर परिवार भित्र कचेहरी गरिन्छ ।

घरमा छलफल पश्चात गाँउका गरधु¥या (घरमुली) हरु महटवाको घरमा जुटने गरिन्छ । त्यहि दिन सवै गरधु¥याहरुले महटावा, अघवा तथा चौकिदार चयन गर्ने गर्दछन् । त्यहा जम्मा भइसकेपछि महटावाले बर्षदिनमाा भएका कामको विषयमा लिखित अलिखित प्रतिवेदन पेश गर्छन, र सोहि अनुसार वितेको वर्षको कामका लेखाजोखा गर्ने के कति काम सम्पन्न भयोे के के काम गर्न वाँकी छ त्यसको समिक्षा गर्नुको साथै आगामी बर्षको लागि वर्षिक नयाँ कार्ययोजना बनाउने गरिन्छ ।
यसैगरि माघी पर्व नाचगान गरेर रमाउने पर्व भएकोले बालबालिकादेखि वृद्धवृद्धासम्मले आ आफनो समुह समुह बनाएर मघौटा नाच नाच्ने गर्दछन् । गाउँको कुनै पनि घर नछोडेर मघौटा नाच नाच्ने र शुभकामना आदाप्रदान गर्ने गर्दछन् । थारु समुदायले करिब एक सातासम्म यसरी नाचगान गरेर माघी मनाउने गर्दछन् । त्यसपछि त्यहि पैसा केहिले सामुहिक कार्यमा लगाउने र माघीमा नाचेका सवैजना एक ठाउँमा भेला भएर मिठो मिठो परिकार सहित खादै रमाउदै, नाच्दै माघीलाई विदाइ गर्ने गर्दछन् ।

माघीको मौलिक्ता हराउँदै

पछिल्लो वर्ष थारु समुदायमा माघी पर्वको मौलिक्ता हराउँदै गएको छ । विगतको वर्षमा थारु समुदायमा माघीको बेला मादल, लहंगामा नाचिने मघौटा नाच हिजआजका युवाहरु डिजेमा आकर्षित भएकाछन् । थारु समुदायको आफ्नै छुट्टै खालको बाजागाजा थिए, आफ्नै मौलिक नाचगान थिए, तर, अहिले डिजेको प्र्भावले आफुहरुको मौलिक संस्कृति धरापमा पर्दै गएको थारु अगुवाहरुले चिन्ता व्यक्त गर्दै आएकाछन् । आफ्नै छुट्टै गीत, आफ्नै छुट्टै बाजागाजाको तालमा नाचिने मघौटा नाच अहिले डिजेको प्रभावले मघौटाको मौलिक्ता घटेको थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णवहदुर चौधरीले बताए । ‘हाम्रो राम्रो संस्कार, संस्कृतिलाई अंगालेर जानसक्यो भने हाम्रो मौलिक्ता पनि घट्दैन र यसलाई बजारीकरण गर्न सकियो भने राम्रो आम्दान पनि लिने सकिने ठाउँ छ तर त्यो गर्न सकिएको छैन,–उनले भने । ’

समय परिस्थिति अनुसार नयाँ प्रविधि प्रयोग गर्नुपर्छ, यसमा दुइ मत छैन, तर नयाँ प्रविधिको नाममा आफ्नो पहिचान, अस्तित्व मेटाउनु त भएन नि, चौधरीले भने । हाम्रो मौलिक संस्कृतिको महत्वलाई घट्न नदिनको लागि युवा पुस्ताहरु लाग्नुपर्ने जरुरी रहेको उनले बताए । पुरानो पुस्ताले मात्र संस्कृति जोगाएर हुदैन ती पुराना पुस्ताले नयाँ पुस्तालाई आकर्षित गर्दै पुस्ता हस्ताणतरण सकियो भने केहि हकसम्म हाम्रो मौलिक संस्कृतिहरु बचाउन सकिने चौधरीको भनाइथियो ।

माघीलाई रुपान्तरणको आवश्यक
विगतको वर्षभन्दा पछिल्लो पटकका माघी पर्वमा धेरै रुपान्तरण आएको देख्न सकिन्छ । पहिला पहिला माघीमा आफ्नो छोरा छोरीलाई कस्को घरमा कमैया, कम्लरी पठाउने, कस्को जग्गा लगाउने काम हुन्थ्यो पुर्व कम्लरी एवं सांसद शान्ता चौधरीले भनिन्, –‘तर पछिल्ला माघीमा धेरै रुपान्तरण आएको छ, अहिले आफ्ना छोरोछोरीलाई कमैया, कमलरी पठाउने ठाउँमा कापि कलम लिएर स्कूल पठाउने काम भएको छ, जुन हाम्राले लागि सुखद र खुशीको कुरा हो ।’
अझ पनि हाम्रो थारु समुदायको बालबालिका स्कूल न जाने, पढ्दा पढदै विचमै स्कूल छोड्ने जस्ता भएकोले यसपटकको माघीमा सवै अभिभावकले आफ्ना छोराछोरीलाई कसरी पढाउन सकिन्छ भन्ने कुरामा व्यापक छलफल गर्नुपर्छ उनले भनिन्, माघी हाम्रो साँस्कृतिक धरोहरको हो, यसमा दुइमत छैन, यसलाई अझ रुपान्तरण गरेर आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक अभियानसंग जोडेर छलफल, बहस गर्न सक्यौं भने अझ फलदायी हुने चौधरीले बताए ।

यसैगरि साँस्कृतिक अभियान्ता सुशील चौधरीले माघ पर्व हर्सोल्लास बाँड्ने चाड मात्र होइन जुग जुगदेखि दासताको विरुद्ध मुक्तिको खोजि गर्ने सन्देश छर्ने साँस्कृतिक पर्वको रुपमा लिनुपर्ने बताए । त्यसैगरि स्थानिय सरकारसंग छलफल गरेर महटावा प्रथालाई विकासको मुलप्रवाहमा ल्याउन सकिएमा माघीले सार्थकता पाउने चौधरीको भनाइथियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित