आवश्यकता र औचित्यका आधारमा विकास आयोजनामा खर्च गर्न पालिकाहरुलाई मुख्यमन्त्री पोख्रेलको आग्रह

रोल्पा, ७ मंसिर । मुख्यमन्त्री शंकर पोख्रेलले पालिकाहरुले बजेट वडाहरुलाई बाँडफाँड नगरी आवश्यकता र औचित्यका आधारमा विकास आयोजनामा खर्च गर्न आग्रह गरेकाछन् । वडाहरुमा समानुपातिक बजेट बाडँफाँड गर्ने प्रवृतिले बजेट छरिने र नतिजा नदेखिने उनले बताए ।
रोल्पाका विभिन्न गाउँपालिकामा आयोजित जनप्रतिनिधिहरुसंगको अन्तरक्रियामा उनले बजेट छर्ने भन्दा नतिजा देखिने गरी खर्च गर्न आग्रह गरेकाहुन्। “कार्यपालिकाले योजना अनुसार बजेट विनियोजन गर्न ध्यान दिनुपर्छ, वडालाई सेवा केन्द्रको विकास गर्नुपर्छ”–उनले भने ।
रोल्पा जिल्लाको महत्वपूर्ण सडक शहिद मार्गको अवस्था अवलोकन गर्न आएको बताउँदै उनले शहिद मार्गको कामलाई तीब्र ढंगले अघि बढाउन पहल गर्ने बताए । शहिदमार्गलाई दुई लेनको बनाउन डिपिआर तयार भएको बताउँदै उनले दुई लेनको सडक क्षेत्राधिकार छुट्टयाएर घर बनाउन दिने निर्णय तत्काल पालिकाहरुले गर्नुपर्ने बताए।


त्यसैगरी उहाँले रोल्पा र रुकुमको खाम संस्कृति पर्यटन प्रवद्र्धनको प्रचुर संभावना भएको बताएकाछन् । उनले खाम संस्कृतिलाई पर्यटनसंग जोडेर अघि बढ्दा स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन सकिने बताए। खाम मगर संस्कृतिका वस्तीलाई होमस्टेको रुपमा विकास गर्ने गरी योजना बनाउन गाउँपालिका नेतृत्वलाई आग्रह गरे। पर्यटन प्रवद्र्धनका लागि आवश्यक सहयोग प्रदेश सरकारले गर्नेछ–उनले भने । मौलिक र नयाँ ढंगले काम गर्दा नागरिकले परिवर्तनको अनुभूति गर्ने र समाजमा सकारात्मक सन्देश जाने मुख्यमन्त्री पोख्रेलले बताए । उनले पर्यटन प्रवद्र्धन सहित स्थानीय उत्पादनलाई व्यवसायिक ढंगले गर्न आग्रह गर्दै स्थानीय उत्पादनको बजारीकरण गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए। गाउँपालिकाको ध्यान उत्पादनमुखी बन्नुपर्ने कुरामा जोडदिए । अब रुकुम र रोल्पा विकट नहुने सडक पूर्वाधारको बलियो जग तयार भएको बताउदै मध्यपहाडी लोकमार्ग र शहिद मार्गले यी दुई जिल्लालाई यातायात सञ्जाल राम्रो बनाउदै लगेको र अरु आवश्यक सडक प्रदेश सरकारले बनाउँदै जाने उनले बताए । सडक सञ्जाल विस्तारसगैं गाउँका उत्पादन शहर पठाउने योजना अनुसार काम गर्न उनले आग्रह गरे ।
रुकुमको चुनवाङबाट रुकुमकोट र सुलीचौर बाट थवाङ जोड्ने सडकका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी पनि दिए । उनले समाज बदल्ने अभियानमा विरोधका स्वरहरु आउनु स्वाभाविक भएको बताउँदै त्यस्ता आवाजबाट नआत्तिन र निर्धक्क भएर काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरे। मंसिर ४ गते रुकुमको पुथाउत्तरगंगा गाउँपालिकाबाट शुरु भएको मुख्यमन्त्रीको रुकुम रोल्पा यात्रा शनिवार रोल्पाको रुण्टीगढी पुगेर टुंगिएको छ । यो बीचमा उनले रुकुमका तीन बटै गाउँपालिका पुथाउत्तरगंगा, सिस्ने र भुमेका विभिन्न कार्यक्रममा सहभागी भएकाथिए । रोल्पाको थवाङ, परिवर्तन,त्रिवेणी, माडी र रुण्टीगढी गाउँपालिकाका विभिन्न कार्यक्रममा सहभागी भएकाथिए । उनले ती पालिकामा संघीय सरकार र प्रदेश सरकारले अघि बढाएका विभिन्न विकास आयोजनाको अनुगमन गरी जानकारी लिएकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित