बरघर बचाउन महिला र युवाको सहभागितामा जोड

बरघर प्रणालीलाई जोगाइ राख्न महिला र युवाहरुको सहभागिता बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । थारु साहित्य संस्कृति प्रतिष्ठान लमहीद्वारा लमहीमा आयोजित थारु समुदायको बरघर प्रणालीमा महिला र युवाहरुको सहभागिता विषयक कार्यक्रममा बोल्दै उनीहरुले यस्तो जोड दिएका हुन् ।

बरघर प्रणालीमा महिला र युवाहरुको उपस्थिति हुन नसक्दा बरघर प्रणाली संकटमा पर्दै गएकोले महिला र युवाहरुहरुको उपस्थिति अनिवार्य गर्न जरुरी रहेकोमा उनीहरुको जोड थियो । गढवा गाउँ‘पालिकाकी उपाध्यक्ष शारदा चौधरीले थारु समुदायको भाषा, कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनको लागि बरघर प्रणाली आवश्यक रहेको बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथिसमेत रहनुभएकी चौधरीले बरघर प्रणालीमा अहिले पनि महिला र युवाहरुको उपस्थिति हुन नसक्नु दुःखद भएको बताउनुभयो । जबसम्म महिला र युवाहरुमा बरघरको पुस्ता हस्तान्तरण हुँदैन, तबसम्म बरघर प्रथालाई दिगो बनाउन नसकिने उहाँको भनाइ थियो । अझै पनि पुरुषहरुले महिलाहरुलाई नेतृत्व सुम्पिन तयार नभएकाले अब महिलाहरु आफ्नो अधिकारको लागि आफै लाग्नुपर्ने कुरामा चौधरीको जोड थियो । पछिल्लो समयमा स्थानीय तहले बरघरलाई कानुनी मान्यता दिन  थालेकाले यसको महत्व पनि बढ्दै गएको भन्दै बरघर प्रणालीमा महिला र युवाहरुको उपस्थिति हुन जरुरी रहेको चौधरीको भनाइ थियो ।

थारु कल्याणकारिणी सभा क्षेत्र नं. १ का प्रकाश चौधरीले स्थानीय विकासको लागि बरघरहरुको अहं भूमिका हुने बताउनुभयो । जनप्रतिनिधिले गर्दै आएको काम बरघरले गर्दै आएको भए पनि उनीहरुलाई कुनै पनि सेवा सुविधा नभएकोले बरघर प्रणाली संकटमा पर्दै गएको चौधरीको गुनासो थियो । यस्तै बरघरमा थारुलाई मात्र सीमित नराखेर अन्य समुदायलाई पनि समेटेर गएमा बरघर प्रणाली दिगो हुने चौधरीको भनाइ थियो ।

थारु साहित्य संस्कृति प्रतिष्ठानका कार्यकारी निर्देशक डा. कृष्णराज सर्वहारीले बरघर प्रणालीमा महिला र युवाहरुको उपस्थिति दयनीय भएको बताउनुभयो । लमही नगरपालिकामा ६० जना बरघर भए पनि एक जना महिला मात्र बरघर रहेको बताउनुभयो । त्यस्तै राप्ती सोनारी गाउँपलिाकामा ७८ जना बरघरमध्ये तीनजना, बारबर्दिया नगरपालिकामा १०४ जनामध्ये छजना महिला मात्र बरघर रहेको जानकारी दिनुभयो । यस्तै स्थानीय तहले बरघरलाई कानुनी मान्यता दिए पनि कार्यान्वयनमा अझै पनि समस्या रहेको सर्वहारीको भनाइ थियो । बरघर प्रणालीमा महिला र युवाहरुको सहभागिता बढाउन युएसआइडी तथा द एसिया फाण्डेशनको सहकार्यमा दाङको लमही, बाँकेको राप्ती सोनारी र बर्दियाको बारबर्दिया नगरपालिकाकामा नौ महिने परियोजना शुरु गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक सर्वहारीले जानकारी दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाको अध्यक्षतामा भएको कार्यक्रममा थाकसका कानुनी सल्लाहकार हल्लुप्रसाद चौधरी, अनुसन्धानकर्ता उदय आले, बरघर सीता चौधरी, प्रतिष्ठानका फिल्ड अधिकृत विमला चौधरीलगायतले बोल्नुभएको थियो ।

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित