पुल उद्घाटन् गर्दै मुख्य मन्त्री पोख्रेलले भने, –‘समृद्धिको यात्रा कसैले रोकेर रोकिदैन’

दंगीशरण, ४ कार्तिक । मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारले अघि सारेको समृद्विको यात्रा नरोकिने बताएका छन् । दंगीशरण गाउँपालिका वडा नम्बर ३ र ६ जोड्ने सडकको पक्की पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो बताएका हुन् । मुख्यमन्त्री पोख्रेलले भने ‘प्रदेश नम्बर पाँचले कुल ग्राहस्थ उत्पादनको ७.७प्रतिशत वृद्विदर हासिल गर्न सक्नु समृद्विको यात्रातर्फ उन्मुख हुनु हो ’ संविधान सभा निर्माणपूर्व नेपालको कुल ग्राहस्थ उत्पादन ४ प्रतिशत रहेको र संघीयता कार्यान्वयन भएसंगै ७ प्रतिशत नजिक पुग्नु नेपाल समृद्विको बाटोमा पुगेको गतिलो उदाहरण भएको मुख्यमन्त्री पोख्रेलले बताए । सात वटै प्रदेशमध्ये पाँच नम्बर प्रदेशले जनताको सहयोग र साथले विकास निर्माणका कार्यमा सबैभन्दा बढी रकम खर्चन सकेको मुख्यमन्त्री पोख्रेलले बताएका थिए ।
जनतामा विपक्षीले निराशाको प्रचार फैलाए पनि निराशा हुनुपर्ने कुनै कारण नभएको बताउदै मुख्यमन्त्री पोख्रेलले भने -‘पश्चिम दाङ विगतमा विकासले पछाडि पारिएको क्षेत्रकारुपमा हेर्ने गरेतापनि वर्तमान अवस्थामा भनेँ विकास निर्माणका कार्यले गति लिएको छ ।’ पश्चिम दाङ तुलसीपुर सुर्खेत सडकखण्ड कालोपत्र कार्य दुइ बर्ष भित्र सम्पन्न हुने र त्यसपछि कर्णाली प्रदेशको प्रवेशद्वारकारुपमा पश्चिम दाङको विकास हुने बताएका थिए ।

थारु राजा दंगीशरणलाई आजको पुस्तासम्म चिनाउनका लागि प्रदेश सरकारले दंगीशरणको शालिक निर्माण गर्ने तयारी भइरहेको बताएका थिए । दाङ जिल्लाको दक्षिण क्षेत्रलाई मध्यनजर गर्दै दामोदर मार्गमा सडक कालोपत्र गर्ने काम प्रदेश सरकारले सुरु गरेको बताए । प्रदेश सरकारले गत वर्ष दामोदर मार्गका लागि पाँच करोड विनियोजन गरेकोभ न्दै भने यो वर्ष १० करोड बजेट बिनियोजन गरेको पोख्रेलले बताए । समयमै निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई राज्यले पुरस्कृत गर्ने कामको सुरुवात भएको मुख्यमन्त्री बताएका थिए ।

पाँच नम्बर प्रदेशका भौतिक विकास मन्त्री वैजनाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुजिता शाक्यले सरकारले प्रविधि भित्र्याएर गुणस्तरीय कामको सुरुवात गरेको बताईन् । कार्यक्रममा राष्ट्रिय सभा सदस्य कोमल वलीले जनताहरुको पिडालाई सरकारले महशुस गरीसकेको भन्दै हरेक वर्गको जिवन स्तर माथी उठाउँन सरकार लागिपरेको बताईन् । कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणको विकाश निर्माणका लागि आफु सधै तत्पर रहने भन्दै अवका दिनमा दंगीशरणलाई समृद्ध दंगीशरणको नामबाट परिचित गराउँने बताएका थिए । कार्यक्रममा समयमै पुल निर्माण सम्पन्न गरेको भन्दै निर्माण व्यवसायी पूर्णबहादुर भण्डारीलाई सम्मान गरीएको थियो । निर्माण व्यवसायी भण्डारीले व्यवसायमा ३४ वर्षमा दाङ जिल्लामा १२ वटा पूल निर्माण समयमै निर्माण गरेपनि राज्यबाट कुनै सम्मान नपाएको अवस्थामा पूर्वाधार विकास कार्यालयको सम्मानबाट उत्साहित भएको बताए । २०७३ सालमा सम्झौता भएको पुल २ वर्षमा निर्माण कार्य सम्पन्न भएको थियो । पूर्वाधार विकास कार्यालय दाङका इन्जिनियर चन्द्रबहादुर शाहले दिएको जानकारी अनुसार पुल ४ करोड ८० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएका हो । दामोदर मार्ग अन्र्तगत पुल निर्माण भएसँगै दंगीशरण र बबई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका ६ हजार बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित