गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक

गुरुवाको तन्त्रमन्त्रले बाँकेको राप्तीसोनारी गाउँपालिका स्थित सामुदायिक वनमा मान्छे खाने बाघ एक सातादेखि गायब भएको छ । बाघको आतंक नियन्त्रणका लागि राप्ती सोनारी गाउँपालिकाका थारु गुरुवाले एक साताअघि बिशेष पूजा पाठ गरेका थिए । त्यसपछि उक्त क्षेत्रमा बाघको गतिबिधि देख्न छाडिएको दस्तावेज डटकममा यो खवर प्रकाशन गरिएको छ । थारु गुरुवाले पूजापाठ गरेपछि मान्छे खाएर आतंक मचाउने बाघ एक सातादेखि त्यस क्षेत्रमा देखिन छाडेको स्थानियले बताए । त्यसैगरि उक्त क्षेत्रमा बाघको पाईलासमेत देख्न छोडिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

स्थानीय गुरुवाहरुका अनुसार राप्ती सोनारीको सामुदायिक वन क्षेत्रको थारु देउता रिसाएपछि बाघको आतंक सुरु भएको थियो । उनीहरुले दैबी शक्तिको मन्त्रले बाघको आतंक नियन्त्रणमा आएको बताउँछन् ।राप्ती सोनारी गाउँपालिकाका प्रमुख लाहुराम चौधरीले बाघको आक्रमण नियन्त्रणका लागि गुरुवाहरुले बिशेष पूजा गरेको बताए । उनले पूजापछि बाघको आतंक नियन्त्रण हुनुमा संयोज मानिएको जनाए । कसैलाई यस्ता घटनामा बिश्वास नलाग्न सक्छ । तर पूजापछि बाघ यस क्षेत्रमा देख्न छोडेको छ, उनले भने ।

बाघको शिकारका लागि सदाबहार सामुदायिक वनका दुई ठाउँमा गत मंगलबार र बुधबार ‘पाडो’ लगेर बाँधिएको थियो । तर पाडो बाँधेका ठाउँमा बाघ नआएको डिभिजन वन कार्यालय प्रमुख ददिराम कँडेलले बताए । पाइला देखिएको स्थानमा बाघ देखा परेन । फत्तेपुरमा गत पुस २२ मा लीला विष्ट र २४ मा चाँदनी थारूको बाघको आक्रमणबाट मृत्यु भएको थियो । घाँस–दाउरा गर्न वनमा गएका बेला दुवैमाथि बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट स्थानीयको मृत्यु भएपछि निकुञ्ज र सामुदायिक वन आसपासमा त्रास छ । पछिल्लो तीन महिनामा चार जनाको मृत्यु भएपछि बाघ नियन्त्रणमा लिन चितवनको सौराहाबाट प्रकृति संरक्षण कोषको प्राविधिक टोली यहाँ आएको छ । एक साता पुगे पनि प्राविधिकको टोलीले बाघको चाल खबर पाएको छैन ।

 

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित