राराका अनेक रुप

नीलो आकाश, नीलै धर्ती, दूर क्षितिजमा टल्किएका सेताम्मे हिमाल। चराचुरुंगीको चिरबिर। घोडाका घाँटीमा झुन्डिएका घन्टीको एकनासको आवाज।

रारा ताल । तस्विरः सवि थारु

रारा ताल छेउ पुग्दाको परिदृश्य यस्तै हुन्छ। उकाली ओराली गरेपछि पुगिने पहाडको टुप्पोको यो ताल यतिवेला सुन्दर, शान्त र रमणीय बनेको छ। रारा घुम्ने याम भएर पनि होला, आन्तरिक तथा बाह्य पर्यटक रमाइरहेका देखिन्छन्। दुई हजार ९९० मिटरको उचाइको रारा पुगेपछि मात्रै होइन, पुग्दासम्मको यात्रा पनि रोमाञ्चक हुन्छ। गाडीबाट नेपालगञ्ज तथा सुर्खेत हुँदै मुगु पुग्दासम्म थकित महसूस हुन्छ। मुगु बजारबाट सार्वजनिक तथा निजी सवारी साधनमा मिलीचौरको यात्राले झन् थकाउँछ।

रारा ताल । तस्विरः सवि थारु

उकाली ओराली, भीरपाखा, जंगलैजंगल हुइकिँदा भने अर्कै संसारको यात्रा गरे जस्तो लाग्छ। गाडीको यात्रा मिलीचौरमै सकिन्छ। त्यसपछि आधा घन्टा जति पैदल हिँड्नुपर्छ। रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले तालसम्म सवारी प्रवेश गर्न निषेध छ। त्यो ३० मिनेटको यात्रामा अनेकथरी चराचुरुंगी, वनजंगल, भीरपाखाको दृश्यावलोकन गर्न पाइन्छ। रारा ताल छेउ पुगेपछि त सबै गाह्रोसाह्रो बिर्सिइन्छ। राराका अनेक रूप देख्न पाइन्छ।

“मौसम अनुसार, राराका अनेक रूप हुन्छन्,” रारा रहेको छायाँनाथ नगरपालिकाका मेयर विष्णुकमार भाम भन्छन्, “वसन्त र हिउँद याममा मात्रै होइन, एउटै दिनमा पनि बिहान, दिउँसो र साँझका दृश्य समेत बेग्लाबेग्लै हुन्छन्।”

झन्डै १० वर्गकिलोमिटरमा फैलिएको राराको गहिराइ १६७ मिटर छ। तालको एक चक्कर लगाउन करीब पाँच घन्टा लाग्छ। डुंगाबाट रारा सयर गर्दा भने केही समयमै वारपार हुन्छ। तालमाथिको डुंगा यात्रा रोमाञ्चक हुन्छ।राराको यही सौन्दर्यले आकर्षित गरेर होला, बर्सेनि ६० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक हेर्न आइपुग्छन्। भौगोलिक विकटता, सडक पूर्वाधार र यातायातको गाह्रोसाह्रो लगायतका कठिनाइ झेल्दाझेल्दै पनि आगन्तुकलाई राराले आकर्षित गरेकै छ।

रारा ताल । तस्विरः सवि थारु

अझ वर्षभरि पुग्ने पर्यटकको झन्डै आधाजति यही याममा रारा पुग्छन्। असोजदेखि मंसीर दोस्रो सातासम्म राराको यात्रा रमाइलो हुन्छ। त्यसपछि भने चिसो बढ्छ, हिउँ पर्न थाल्छ। अहिले घुम्न सकिएन भने अर्को यामका लागि चैत कुर्नुपर्छ। चैतदेखि मनसुन नआउँदासम्म रारा यात्रा रमाइलै हुन्छ। नजिकबाट भन्दा अझ टाढाबाट राराको सग्लो र सुन्दर स्वरूप हेरेर रमाउन  देखिन्छ। यसका लागि मुर्माटप उक्लिनुपर्छ।

हिमाल खबरबाट

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित