थारु पत्रकार संघको केन्द्रीय महाधिवेशन चैत १२ र १३ गते हुने

थारु पत्रकार संघ नेपालले पाँचौं केन्द्रीय महाधिवेशन आगामी चैत १२ र १३ गते नवलपुरमा गर्ने निर्णय गरेको छ। कपिलवस्तुको बाणगंगा ४, जितपुरमा शनिबार आयोजित केन्द्रीय कमिटीको नवौं बैठकले सो निर्णय गरेको हो।
त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि शुल्क एक हजार राख्ने निर्णय गरिएको छ भने आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय महाधिवेशनका लागि तीन जनाको नाम छनौट गरिएको छ। संघका केन्द्रीय अध्यक्ष सन्तोष दहितका अनुसार सल्लाहकार प्रदीप लेखी, मदन चौधरी र पार्वता चौधरीलाई केन्द्रीय महाधिवेशनमा पठाउने निर्णय भएको छ। बैठकले संघको विधान संशोधन मस्यौदा तयार गरेको छ।
मस्यौदा समितिद्वारा प्रस्तुत दस्तावेजमा छलफल गरी केन्द्रीय कमिटीले पारित गरेको छ। सो विधान मस्यौदालाई आगामी महाधिवेशनमा प्रस्तुत गरी अनुमोदन गरेपछि कार्यान्वयन गर्ने संघले बताएको छ। मस्यौदा विधानले संघको केन्दीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटी रहने व्यवस्था गरेको छ।
केन्द्रीय कमिटी बैठकले आगामी माघ १५ गते जिल्ला शाखा अधिवेशन गर्ने निर्णय गरेको छ। संघको १६ जिल्लामा शाखा रहेको संघले जानकारी गराएको छ। त्यस्तै, आगामी फागुन ७ गते संघको प्रदेश कमिटी गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। संघमा करिब पाँच सय थारु पत्रकार आबद्ध छन्।
विधान मस्यौदामा संघको कार्य समितिको कार्यकाल ३ वर्षको हुने प्रस्ताव गरिएको छ। यसअघि २ वर्षको कार्यकालको व्यवस्था थियो। सोहीअनुसार संघ, प्रदेश र जिल्लाको अध्यक्ष हुनलाई एक कार्यकाल कार्य समितिमा रहेर काम गरिसकेको मापदण्ड पनि बैठकले प्रस्ताव गरेको छ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित