एमाले र जसपाबीच वार्ता, रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने जसपाको शर्त

काठमाडौं, २५ फागुन । नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्ता साझेदारीका लागि वार्ता टोली गठन गरेका छन् । एमालेको तर्फबाट अर्थमन्त्री समेत रहेका विष्णु पौडेल र संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ र जसपाको तर्फबाट लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल वार्ता सदस्य रहेकाछन् ।

उक्त वार्ता टोलीविच सत्ता सहकार्यको लागि छलफल समेत गरेको छ । छलफलमा जसपाले प्रतिनीधि सभा सदस्य रेशम चौधरी सहित टीकापुर राजबन्दी रिहाइ गरिएमा सरकारमा सहभागि हुन सक्ने संकेत देखाएको स्रोतले जनाएको छ । यसअघि २३ फागुनको विहान जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । प्रधामन्त्री ओलीले सांसद चौधरीको रिहाइको लागि सकारात्मक रहेकोले आफुहरु वार्ता टोली गठन गरेर वार्ता गर्न गएको जसपाका नेता कर्णले बताए ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकतालाई मान्यता नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नेतृत्वको सरकार कायम राख्नलाई जसपाको साथ लिन खोजिरहेकाछन् । माओवादी केन्दले सरकारको समर्थन फिर्ता लिएमा प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

२७५ सदस्यीय प्रतिनीधि सभामा बहुमतको लागि १३८ सिट चाहिन्छ । एमालेसंग १२१ सिट र जसपासंग ३४ सिट भएकोले यी दुइ दल मिल्दा बहुमत भएकोले एमालेले जसपासंग सत्ता सहकार्यको लागि वार्ता अगाडि वढाएको एमाले स्रोतले जनाएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित