प्रदेश ५ सरकारले ल्यायो कोरोना प्रभावित किसानहरुको लागि ५१ करोडको राहत कार्यक्रम

वुटवल, १ जेठ । प्रदेश नं. पाँच सरकारले कोरोना भाइरस (कोभिड—१९) बाट प्रभावित किसानको लागि ५१ करोड १४ लाखको राहत कार्यक्रम ल्याएको छ । विहिबार बसेको प्रदेश मन्त्रिपरिषदको वैठकले यस्तो निर्णय गरेको हो ।


साउन मासन्त भित्र खर्च गरिसक्ने गरि कोभिड प्रभावित किसानहरुको लागि कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको मुख्यमन्त्री शंकर पोख्रेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख रुपैंया खर्च गरिने छ । त्यसैगरि बेमौसमी आलु उत्पादन कार्यक्रम गुल्मी,प्युठान, रुकुम र रोल्पामा सञ्चालन गर्ने भएको छ । त्यसका लागि १ करोड २० लाख रुपैंया खर्च गरिने भएको छ । कम्तिमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गरेको हुनुपर्ने र त्यसको लागि प्रदेश सरकारले प्रति रोपनी ६ हजार रुपैंयाको दरले अनुदान दिने भएको छ ।

यसैगरि व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रमको लागि दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा र रुकुम सात जिल्लामा सञ्चालन गर्ने भएको छ । कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्ने र मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैंयाका दरले प्रदेश सरकाले अनुदान दिने दिइने छ । त्यसको लागि लागि १४ करोड रुपैंया खर्च गरिने भएको छ ।

त्यसैगरि प्रदेशका १ सय ९ वटै पालिकामा कोभिड —१९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रम संचालन गरिने भएको छ । यो कार्यक्रमका लागि २१ करोड ८० लाख खर्च गरिने छ । व्यवसायिक खेतीका लागि मल विषादी, स—साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग गर्ने र प्रति किसान २० हजारका दरले अनुदाने दिने भएको छ ।

यसैगरि ब्रोइलर कुखुरापालन साना किसान लक्षित कार्यक्रमका लागि ७ करोड खर्च गरिने भएको छ । २ हजार किसानलाई ३५ हजारको दरले अनुदान दिने भएको छ । त्यसैगरि दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख खर्च गरिने छ । दूध उत्पादनको विगत आठ महिनाको विक्री तथ्याङक हेरी लकडाउनको ४० दिनको प्रति लिटर १० रुपैंयाका दरले अनुदान दिइने छ ।

यसैगरि प्रदेश सरकारले बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड खर्च गरिने भएको छ । यो कार्यक्रम प्रदेश सकारको सवै जिल्लामा लागु हुने छ । प्रति बिघा २० हजार रुपैंयाका दरले दिने राहत प्याकेज ल्याएको हाे ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित