थारु समुदायको अट्वारी यस वर्ष भदौ १२ गते परेको छ । हरेक वर्ष जन्माअष्टमीको दुई आइतबार अर्थात कुशे आंैसीको पहिलो आइतबार थारु समुदायले अट्वारी मनाउँदै आएका छन् ।
यसैबीच थारु आयोगले पनि यस वर्षको अट्वारी भदौ १२ गते भएको जनाएको छ । थारु आयोगले थारु अगुवा तथा संस्कृतिविद्हरुसँग छलफल गरेर यस वर्षको अट्वारी पर्व आफ्नो क्यालेन्डरमा भदौ १२ गते भएको उल्लेख गरेको थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले बताउनुभयो ।
‘अट्वारी पर्व कुन दिन मनाउने भनेर लिखित तिथि मिति उल्लेख नभएकोले यसअघि थारु समुदायले फरक–फरक आइतबारमा अट्वारी मनाउने गरेका थिए’– उहाँले भन्नुभयो– ‘यसरी मनाउँदा एकताको सन्देश नजाने भएकोले अट्वारी पर्वलाई एकरुपता बनाउन आफूहरुले थारु अगुवा तथा संस्कृतिविद्हरुसँग छलफल गरेर एकैदिन बनाउने प्रयास गरेका हौं ।’
पुर्खाहरुले थारु समुदायको अस्टिम्की पर्वपछिको दुई आइतबार र कुशेंऔसीको पहिलो आइतबार अट्वारी मनाउने गरेकाले सोही अनुसार आफूहरुले थारु आयोगको क्यालेण्डरमा लिखित मिति उल्लेख गरेको बताउनुभयो । यसैगरी थारु कल्याणकारिणीसभा दाङले पनि भदौ १२ गतेका दिन अट्वारी
मनाउन सबै थारुहरुलाई अपिल गरेको छ । सभाका अध्यक्ष भुवन चौधरी र सचिव प्रकाश चौधरीले एक विज्ञप्ती जारी गर्दै अस्टिम्की पर्वपछिको दुई आइतबार र कुशेंऔसीको पहिलो आइतबार अट्वारी मनाउने भएकाले यस वर्ष १२ गते अट्वारी मनाउन आग्रह गरेको हो ।
के हो अट्वारी
अट्वारी पर्व थारु समुदायको एक महत्वपूर्ण पर्व हो । अट्वारी पर्व दाङका थारु राजा दंगीशरण र पाँच पाण्डव मध्ये भीमसँग सम्बन्धित रहेको पाइन्छ । थारु अगुवाहरुका अनुसार महाभारतका पाँच पाण्डवहरु र दाङका थारु राजा दंगीशरणबीच लामो समयदेखि घनिष्ट सम्बन्ध रहेको थियो । यही क्रममा पाँच पाण्डव र द्रौपदी सबैजना सुर्खेतको काँक्रेविहारमा घुम्न आएका रहेछन् । त्यही क्रममा दाङका थारु राजा दंगीशरणको राज्यमा शत्रुहरुले आक्रमण गरिरहेको खबर पाउने बित्तिकै तावामा पकाउन राखेको रोटी छाडेर भीमले भोकै पेट पानीसमेत नखाई थारु राजा दंगीशरणको पक्षमा लड्न गएछन् र शत्रुहरुलाई हराएछन् ।
यसरी भोकै पेट केही पनि नखाएर थारु राजा दंगीशरणको पक्षमा लडेर विजय हासिल गरेकोले भीम जस्तै बलियो भइन्छ भन्ने जनविश्वास भएकोले थारु समुदायले परम्परादेखि अट्वारी मनाउँदै आएका छन् । जुन घटना आइतबारको दिन परेकोले यसको नाम पनि अट्वारी हुन गएको थारु अगुवाहरु बताउँछन् । यो पर्व विशेष गरेर पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायले दुई दिनसम्म धुमधामका साथ अट्वारी मनाउँदै आएका छन् ।
यसैबीच विगत चार वर्षदेखि थारु समुदायको अट्वारीमा प्रदेश सरकारले बिदा दिदै आएको छ । यस वर्ष पनि अट्वारीको दिन लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले थारु समुदायलाई विदा दिने तयारी गरेका छन् । यसैबीच लुम्बिनी प्रदेश सरकरका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले गत वर्ष जस्तै यो वर्ष पनि थारु समुदायले अट्वारीमा विदा दिने बताउनुभयो । ‘अहिले हामीले कुनै सूचना निकालेका छैनौं’– उहाँले भन्नुभयो– ‘एक दुई दिनमा मन्त्रालयको वेवसाइटमा सूचना निकाल्छौं ।’