तरकारी खेतीले दियो भूमिहीनलाई खुशी

चिन्कुप्रसाद चौधरीको अचेल दैनिकी फेरिएको छ । सधैजसो विहान उठेर मजदुरीमा जाने चौधरी हिजआज भने घर नजिकै खेतबारीमा पुग्छन् । उनले मजदुरीको सट्टा खेतबारीमा ब्यस्त हुन्छन् । राप्ती गाउँपालिका वडा नं.-६, भगवानपुरका भूमिहीन चिन्कुप्रसाद चौधरी घर नजिकै करिब ७ कठ्ठा जग्गा लिजमा लिएकाछन् । त्यहि जग्गामा उनले टमाटर, फूलगोभी, भन्टा, आलु, लौका, करेला, लसुन फलाएकाछन् । अचेल उनलाई तरकारी खेतिमा भ्याइनभ्याइ छ ।

विहान सवेरै उठेर तरकारी बेच्न जान्छन् भने दिउसो तरकारी रेखडेख र गोडमेल गर्ने काममा ब्यस्त हुन्छन् । ज्याला मजदुरी भन्दा करार खेतीले सजिलो बनाएको छ, उनले भने,–‘मजदुरीमा निश्चित पैसा आउथ्यो, सकिनसकि पनि काम गर्नु पथ्र्याे तर, अहिले करार खेति गर्न थालेपछि धेरै सजिलो भएको छ ।’ आयआर्जनमा राम्रो आम्दानी र काम गर्दा पनि त्यति गाह्रो नहुने भएकाले करार खेतीले सजिलो बनाएको छ, उनले भने । करार खेतीले आफू पुर्णरुपमा सन्तुष्ट रहेको समेत सुनाए । ‘पाँच जनाको परिवार रहेका चौधरीले भने,–तरकारी खेतीबाट एक छोरा, दुइ छोरीको पढाइ खर्च र घर खर्च कटाएर पनि बार्षिक डेढ लाख बचाउने गरेका छौं, उनले भने, मलाई त मजदुरी भन्दा करार खेती धेरै राम्रो लाग्यो ।’

चिन्कुप्रसाद चौधरी जस्तै पुनाराम चौधरी, कन्है चौधरी पनि तरकारी खेतीबाट सन्तुष्ट छन् । मजदुरी गर्नुभन्दा करार खेतीले धेरै सजिलो बनाएको उनिहरु सुनाउछन् । चिन्कु, पुनाराम, कन्है त उदाहरण मात्र हुन्, यी चौधरी जस्तै दाङका ४४ भुमिहीन किसान परिवारले करार खेती मार्फत जग्गा लिजमा लिएर व्यवसायीक तरकारी खेती गर्न थालेको स्वान संस्थाका अध्यक्ष कृष्णकुमार चौधरीले बताए । उनका अनुसार अहिले भूमिहीन परिवारले ११ विगाह जग्गा लिजमा लिएर व्यवसायीक तरकारी खेती गर्दै आएकाछन् । भूमिहीन परिवारको जिवन स्तरलाई माथि उठाउनको लागि पावर परियोजना मार्फत विभिन्न सहयोग गर्दै आएको अध्यक्ष चौधरीले बताए ।

करार खेती गर्ने भूमिहीन परिवारलाई स्वान संस्थाले पावर परियोजना मार्फत विउविजन तथा प्राविधिक सहयोग गर्दै आएको छ । त्यसैगरि उनिहरुले लिजमा लिएर गर्दै आएको जग्गाको भाडा समेत स्वान संस्थाले सहयोग गर्दै आएको संस्थाका कार्यक्रम संयोजक रेमन्त चौधरीले बताए । उनका अनुसार पहिलो बर्षमा शत प्रतिशत, दोस्रो बर्ष ७५ प्रतिशत तेस्रो वर्ष ५० प्रतिशत जग्गाको भाडा तिरेर सहयोग गर्दै आएको छ । प्रति कठ्ठा बार्षिक २ हजारको दरले भूमिहीन परिवारले करार खेती गर्दै आएको चौधरीले बताए । करार खेती कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकारले पनि प्राथमिक्तामा राखेर सहयोग गर्दै आएको उनले जानकारी दिए ।

करार खेतीको स्थलगत निरीक्षण
यसैविच स्वान संस्थाद्धारा पावर परियोजना संचालित करार खेतीको बुधबार स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ । स्थलगत निरीक्षण गर्दै जिल्ला समन्वय समितिका प्रमुख जितमान नेपाली करार खेती मार्फत भूमिहीन परिवारलाई आत्मनिर्भर बनाउनमा सहयोग पुग्ने बताएकाथिए ।

यस किसिमका कार्यक्रमलाई निरन्तरता दिदै गरिब, विपन्न तथा भूमिहीन परिवारहरुको लागि राज्यले विशेष प्याकेज सहितको आयआर्जन कार्यक्रममा सहभागी गराउनुपर्ने बताएकाथिए । स्थलगत निरीक्षणमा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय प्रमुख उमबहादुर वली, जिल्ला समन्य समितिका सदस्य लोकमाया विसी, जगतबहादुर बस्नेत, स्वानका अधयक्ष कृष्णकुमार चौधरी कार्यक्रम संयोजक रेमन्त चौधरी, लेखा अधिकृत बबिता चौधरी, पत्रकार सन्तोष दहित, इन्द्र डिसी, दशरथ घिमिरे लगायतको उपस्थिी रहेकोथियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित