थारू राजनीतिको बाटो

चन्द्रकिशाेर

संविधान बन्दै गर्दा थारूहरूले अस्तित्वविहीनताको दलदलबाट उम्किनका लागि शान्तिपूर्ण संघर्ष गर्दै थिए । आशा थियो, संघर्षबाट प्राप्त नैतिक बलका अगाडि नियन्त्रणकारी नियत टिक्न सक्नेछैन, तर त्यस्तो भएन ।

निसासिएको समुदायले आफ्ना बन्धनहरू चुँडाल्न खोज्दा स्थायी सत्ताले त्यसैलाई कसरी गलपासो बनाइदियो, यो बुझ्न टीकापुरको दृष्टान्त यथेष्ट छ । धरातलीय यथार्थ र आवश्यकतामा आधारित नीति निर्माण गर्नुको साटो वर्चस्वशाली वृत्तको हित संरक्षण नीति स्विकार्नुले संविधानसभाकै क्षमतामा रहेको कमीलाई प्रतिविम्बित गर्छ ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारूहरूको जनशक्ति प्रकट भएका बखत जस्तो घटनाक्रम विकसित भयो, त्यसले राज्यशक्तिको वैधानिक एकाधिकारमा क्षयीकरण ल्याइदियो । यसबाट वञ्चित समुदायमा राज्यप्रतिको भरोसा भंग भयो । राज्यले नै नवसंरक्षणवादी संस्कृतिलाई संस्थागत गर्ने कार्यलाई निरन्तरता दियो । राज्यले समुदायविशेषप्रति पूर्वाग्रह राख्न मिल्दैनथ्यो । राजनीतिक स्थिरताका लागि नयाँ सामाजिक र राजनीतिक सम्झौतामा आधारित संविधान निर्माण हुनु अपरिहार्य थियो, तर त्यो पक्षलाई बलजफ्ती लत्त्याइयो । अनि संविधानको गर्भमै सम्भावित द्वन्द्वहरूको बीउ रहन आयो । यिनै पृष्ठभूमिमा ‘थारू राजनीतिके आबक् डगर’ अर्थात् अबको थारू राजनीतिको बाटोबारे उनीहरूमा भुइँतहसम्मै मन्थन हुन थालेको छ ।

एकपटक युद्धमा गुमाएको, पछि जंगबहादुरको पौरखले नयाँ मुलुकका रूपमा नेपाली भूभागमा जोडिन आएको भूभाग थारू राजनीतिको आधारक्षेत्रका रूपमा स्थापित भएको छ । यसका केही तात्कालिक र केही पुराना कारण छन् । माओवादी सशस्त्र संघर्षको सबैभन्दा गहिरो चोट थारू समुदायमा परेको छ । त्यतिखेर माओवादीका नाममा सुरक्षाकर्मीबाट बाँके, बर्दिया र कैलालीमा मारिने र यातना पाउनेहरूमा थारूहरूकै संख्या माथि आउँछ । प्रत्यक्ष आक्रमणमा माओवादीतर्फ ज्यान दिनेहरूमा पनि थारूहरूकै बाहुल्य रह्यो । त्योभन्दा पूर्व राणाशाहीविरुद्धको आन्दोलनमा थारूहरूको समेत रगत बगेको छ । तर इतिहास साक्षी छ, राणाशाहीपश्चात् उदाएको राजाशाहीमा पहाडबाट मधेस झर्ने चलनले गति लिन थालेपछि सोझासाझा थारूहरू ठगिनु ठगिए ।त्यतिखेर पहाडबाट विस्थापित भएका आन्तरिक शरणार्थीहरू एउटा डोको बोकेर मधेस झर्थे र रातारात ठालु भइटोपल्थे । औलो उन्मूलनका केही वर्षभित्रै यो थारूवान पहाडियाहरूको हातमा गयो र रैथाने थारूहरू शरणार्थी जमिनदारहरूका कमैया बन्न पुगे ।

अहिले पनि थारू जनमनमा नेपाली सत्ता भनेको एउटा खास वर्गको चौकीदार हो, त्यसको निहित स्वार्थ परिवृत्तको पहरेदार हो र वर्चस्वशाली नियतको तावेदार हो भन्ने गहिरो बुझाइ छ । व्यवस्थाहरू बदलिए पनि थारूहरूलाई फेरिएको संविधानको जालोले माकुराले झिँगालाई झैं फसाएर राखिदियो । हिजोका दिनमा कसैले कुनै थारूलाई हप्काएरै उसको जग्गा जबर्जस्ती खोस्थ्यो, उसलाई उठिबास लाउँदै घरसमेत हडप्थ्यो; अहिले जनआन्दोलनपश्चात् सरकारले कमैया प्रथा कागजमा उन्मूलन त गर्‍यो, तर ती झन् अनेक समस्यामा अल्झिन पुगे । टीकापुर प्रकरणमै पनि सरकारी संरक्षणमा थारूहरूका घरमा लुटपाट भयो, न्यायिक निरूपणको निहुँमा निर्दोषहरूलाई थुनामा राखियो । अनुसन्धानका नाममा सोझासाझालाई फसाइयो, अनेक यातना दिइयो । कतिपयले आफ्नो थातथलो छाडेर सीमावर्ती भारतीय क्षेत्रमा शरण लिए ।

जनताको मतादेश पाएका सांसद रेशम चौधरीलाई शपथ त खुवाइयो, तर संसद्मा आफूलाई मत दिएका नागरिकहरूको सरोकारलाई उठाउने अवसरबाट वञ्चित गरियो । यस्तोमा थारूहरूले राज्यका जम्मै संरचना यथास्थितिलाई निरन्तरता दिने नियतले अभिप्रेरित भएको ठान्नु स्वाभाविकै हुन्छ । आन्दोलनका कारण नयाँ विचारहरू उत्पन्न हुँदा बहस र विवाद हुनु स्वाभाविक हो । तर बहसलाई नै निषेध गर्न खोज्ने काम भने लोकतान्त्रिक मान्यतामा पर्दैन । संविधानले एउटा बाटो देखाउनुपर्छ । संवैधानिक रचनाबाट मुलुकले केही लक्ष्य निर्धारित गर्छ । के हामी त्यही दिशामा बढदै छौं जसको परिकल्पना संविधानको प्रस्तावनामा लेखिएको छ ? यहीँनिर नियम, नियत र नियतिको त्रिभुजीय दलदलमा आफूहरूलाई घचेटिएको थारूहरूको बुझाइ छ । वर्तमान शासकको मानसिकता, थारूहरूको नजरमा, राजा महेन्द्रको भन्दा किमार्थ पृथक् छैन ।

शासकहरूको नजरमा थरूहट उपनिवेशका रूपमा रहँदै आयो । थारूहरूलाई सोझासाझा सेवकको छवि दिइयो । थरूहटको उर्वर भूमि जागिर, बिर्ता, बक्सिस, नजराना, दान, दाइजोका रूपमा दिने जुन चलन राणाहरूले चलाए, त्यो शासकीय मानसिकता अझै छ । औलो उन्मूलनसँगै पहाडी क्षेत्रबाट तराईमा आन्तरिक आप्रवासनका लागि प्रोत्साहित गरियो । एकीकृत बस्ती विकास आयोजनामार्फत पुनर्वास गराइयो । भूमिसुधारका नाममा हदबन्दी गर्दै जग्गा खोसियो । सहरीकरणका निहुँमा थरूहटलाई पहाडीकरण गरियो । यसको नियत नै राज्य संयत्र तथा राज्यशक्तिको अभ्यास हुने निकायहरूबाट थारूहरूलाई पर राख्नु थियो । यस्तो सुनियोजित कार्यमा राज्यलाई अपेक्षित सफलता मिलिरह्यो ।

राजनीति मुलुकमा विद्यमान जातीय, भाषिक, सांस्कृतिक, धार्मिक र आर्थिक शोषणसहित सबै खाले विभेदबाट मुक्तिको बाटो प्रशस्त गर्ने संयन्त्र रहेकामा दुईमत नहोला । तर राजनीतिक दलहरूको नेतृत्व वर्ग समावेशिताको खिलाफमा रहुन्जेल त्यो सम्भव हुन्न । टीकापुरमा थारूहरूको ऐक्यबद्धताको अभीष्ट निर्माणाधीन संविधानले फेरि उपनिवेशको दुर्योग खडा नगरोस् भन्ने थियो । तर सोह्रबुँदे सहमतिका नाममा खडा भएका केही नेताको कम्पनीले थारूहरूको जुर्मुराहटलाई क्रूरतापूर्वक कुल्चियो । थारूहरूलाई दानवीकरण गर्ने संकथनलाई प्रश्रय दिइयो । मिडिया स्वयं थारूहरूका लागि विपत् बनेर उदायो त्यतिखेर । थारूहरू सामाजिक उत्पीडन र राजनीतिक बहिष्करणमा परेको तथ्यलाई बेवास्ता गरियो । यी सबै निकट अतीतका नग्न यथार्थ हुन् र यिनै पीडाहरूले थारूहरूलाई फेरि एकजुट पार्दै छन् ।

टीकापुर काण्डको वार्षिक सम्झना गर्दै थारूहरू अतीतको सिंहावलोकन र आगतको आकलन गर्न लागिपरेका छन् । केही समय चुप्प लागेका त्यो समुदायका नेता लक्ष्मण चौधरी कारामुक्तिपछि फेरि जुर्मुराउँदै छन् । लक्ष्मणहरूको विश्लेषणमा वर्तमान राज्य संरचना सामन्तवादी तथा जातिवादी छ, जसलाई भत्काएर नयाँ बन्ने आर्थिक–सामाजिक–सांस्कृतिक संरचनामा थारूहरूको स्थान खोज्न सकिन्छ । वर्तमान संवैधानिक निकायहरू कागजमा मात्र स्वतन्त्र छन् । यसको प्रमुख कारण कार्यकारिणीमा शक्ति अति एकीकृत हुनु हो । जब कुनै संस्था अति शक्तिशाली हुन्छ, तब राज्यका तन्त्रहरू तिनकै मनपरीतन्त्रको प्रतिच्छाया हुन पुग्छन् ।

केही कुरा यस्ता हुन्छन्, जो कैयौं दशक बितिसक्दा पनि स्मृतिबाट ओझेल पर्दैनन्, बरु शक्तिशाली प्रतीक बन्न पुग्छन् । टीकापुर थारूहरूका लागि राज्यको चरित्र बुझ्ने त्यस्तै माध्यम भएको छ । यो कोरोनाकालमा उनीहरूले त्यसको वार्षिकीमा भौतिक सम्मेलन त गर्न सकेनन्, तर डिजिटल आयोजनहरू गरे । अब उनीहरू राजनीतिक कथ्यहरू कविता र कलाका माध्यमबाट सम्प्रेषित गर्दै छन् । युवाहरू नव हाँक र हौसलाका साथ अघि सर्दै छन् । उनीहरू लाल आयोगको प्रतिवेदन सार्वजनिक, दोषीहरूमाथि कारबाही, निर्दोषहरूको उन्मुक्ति वा टीकापुर क्षेत्रबाट निर्वाचित रेशम चौधरीको रिहाइको कुरा मात्र गर्दैनन्, यी त राजनीतिक माग हुँदै हुन्, औपनिवेशिकताको प्रत्येक पासोलाई चुँडाल्न चाहन्छन् । आफूहरू विभिन्न दलमा आबद्ध हुँदा आफ्नो ऊर्जा विभाजित भएको र त्यसबाट संस्थापनलाई ‘फुट गराऊ र शासन गर’ को नीति कार्यान्वयनमा सहजता भएको थारूहरूको विश्लेषण छ । थारूहरू अब आफ्नै राजनीतिक शक्ति चाहन्छन् । थारू अस्मिताबोधको परिणतिका रूपमा रेशम चौधरीले जिते पनि शपथग्रहणमा जसरी उनले थारू परिधानलाई चटक्क बिर्से, त्यसलाई आम थारूले संस्थापनलाई रिझाउने उनको चटकका रूपमा लिएका छन् । रेशम भोलि अचानक रिहा भएर नेकपा कार्यालयमा टीका लगाउन जान बेर छैन भनेर पनि उनीहरू सन्देह गर्छन् । उनीहरूले कुनै नायकको खोजीभन्दा समुदायलाई अहिंस्रक संघर्षतर्फ मोड्न चाहेका छन् । किनभने यतिखेर चिनिएका थारू नेताहरूलाई आ–आफ्ना दलको झोला बोकाउँदै, त्यसमा केही हालिदिने नाटक चलेको छ । त्यसै गरी लडाकु थारूहरूलाई हिंसाको औजार बनाउन चाहने द्वन्द्वजीवीहरूको दृष्टि पनि परिरहेको छ । थारूहरूमा विकसित हुँदै गरेको मनोविज्ञानलाई कसैले उपेक्षा गर्न मिल्दैन ।

वर्तमानमा साबिकको थरूहटको जनसांख्यिक बनोट बदलिइसकेको छ । अब त्यसमा सामञ्जस्य कसरी ल्याउने, त्यो थारू पक्षले पनि सोच्नुपर्छ । नेपाल भनिनका लागि धोती, गम्छा, मजेत्रो, दौरा, टोपी — सबै थरीको उपस्थिति चाहिन्छ । राज्यसँग असहमति राख्दै गर्दा आफ्ना छिमेकीप्रति अलिकति पनि असहिष्णु देखिनु हुन्न, यसबाटै थारू राजनीतिले पोषण पाउँछ भन्ने हेक्का राख्नैपर्छ । टीकापुरमा आर्थिक अवसर प्रशस्त छन्, जसको पहिचान गर्दै राज्यले लगानी गरेर त्यहाँको माहोल फेरि गुलजार बनाउनुपर्छ । फूलबारी एफएम फेरि सञ्चालनमा आउने माहोल सरकारले अहिलेसम्म किन बनाएन ? टीकापुरसँग जोडिएको सवाल थारू राजनीतिको निर्णायक अन्त होइन, त्योभन्दा अगाडिको लडाइँ तिनको अभीष्ट हो ।

कान्तिपुर दैनिकबाट साभार

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित