माघ नजिकिँदै गएसँगै थारू संघ–संस्थाहरूले धमाधम माघ सांस्कृतिक महोत्सव आयोजना गर्न थालेका छन्। आ-आफ्ना संघसंस्थाको आयोजनामा दाङ जिल्लामा माघ महोत्सव गर्ने होडबाजी नै सुरु भएको छ।

यसैविच थारूहरूको छाता संगठन थारू कल्याणकारिणी सभा दाङले यही पुस १९ गते एकदिने माघ सांस्कृतिक महोत्सव-२०८२,थारु सम्बत २६४९ आयोजना गर्ने भएको छ। हरेक वर्ष दुईदिने रूपमा महोत्सव आयोजना हुँदै आएको भए पनि यस वर्ष विभिन्न कारणले एकदिने मात्र आयोजना गर्न लागिएको सभाका अध्यक्ष अशोक चौधरीले जानकारी दिनुभयो।
थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूषा तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो। घोराहीको जिल्ला समन्वय समितको प्राङनमा हुन लागेको महोत्सवमा मघौटा नाचसहित थारू सांस्कृतिक नाचगान, झाँकी प्रदर्शन तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेटिने आयोजकले जनाएको छ।
त्यस्तै, महोत्सवमा थारू परिकारहरू घोंघी, माछा, गंगटा, ढिक्री, अनडीको रोटी, आलुको अचारलगायत परिकारहरूको बिक्री तथा वितरण गरिनेछ। साथै, थारू भाषाका विभिन्न पुस्तकहरू र हस्तकलाका सामग्रीहरू पनि प्रदर्शनी तथा बिक्रीका लागि राखिने अध्यक्ष चौधरीले जानकारी दिनुभयो।
सभाका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा बसेको बैठकले महोत्सव सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरेको छ। मटवाँ, थारू अगुवा तथा सरोकारवालाहरूको उपस्थितिमा बैठक सम्पन्न भएको थियो।
यसैगरी, तुलसीपुर उपमहानगरपालिका–६, जवरपुरमा यही पुस २५ गते आयोजना हुने माघ सांस्कृतिक महोत्सवको तयारी पनि भव्य रूपमा भइरहेको मूल आयोजक समितिले जनाएको छ। थारू कल्याणकारिणी सभा क्षेत्र नं. ३, नमुना भुह्यारथान तथा मटवाँ महासंघ तुलसीपुरको आयोजनामा हुन लागेको महोत्सवको तयारीलाई तीव्र बनाइएको भुह्यारथानका अध्यक्ष रामशरण चौधरीले जानकारी दिनुभयो।
त्यसैबीच, “एकता, विकास र आत्मनिर्भरताको लागि सांस्कृतिक अभियान” भन्ने मूल नारासहित यही पुस २७ गते घोराही–१७ स्थित शहीद नेत्रलाल स्मृति पार्कमा आयोजना हुने गुलरिया माघ सांस्कृतिक महोत्सवको तयारी पनि तीव्र पारिएको छ। महोत्सवको प्रचार–प्रसार, आर्थिक संकलन तथा सांस्कृतिक नृत्य टोलीहरूको नाम दर्ता प्रक्रिया अघि बढाइएको मूल आयोजक समितिका सदस्य प्रेम चौधरीले बताउनुभयो।


