घोराही, भदौ २ गते । ग्रामीण महिला उत्थान केन्द्र दाङले वार्षिक समीक्षात्मक तथा अभिमुखीकरण कार्यशाला घोराहीमा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा ग्रामीण महिला उत्थान केन्द्रका संस्थापक सल्लाहकार एवं आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सोगतवीर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यशालामा संस्थाद्वारा सञ्चालित विभिन्न परियोजनामा आबद्ध कर्मचारीबीच आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न गतिविधिको समीक्षा गरिएको थियो। कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै संस्थाका कार्यक्रमबाट प्राप्त सिकाइ, अनुभव, उपलब्धि तथा चुनौतीका विषयमा विस्तृत छलफल गरिएको थियो ।

त्यसैगरी संस्थागत नीति, नियम तथा कार्यप्रणालीका विषयमा कर्मचारीलाई अभिमुखीकरण गरिएको थियो। कार्यक्रममा संस्थाका विभिन्न परियोजनाका कर्मचारीको सहभागिता रहेको थियो । पार्वती बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण व्यवसाय विकास अधिकृत हिरालाल खड्काले गर्नुभएको थियो।


