थारु समुदायलाई पहिलो पटक मादल बजाउने सीप

 

सन्तोष दहित

थारु समुदायको मौलिक लोक बाजा लोप भइरहेको बेला दाङको घोराहीमा थारु समुदायलाई मौलिक लोक बाजा मध्ये मादल (मन्ड्रा) बजाउने तालिम दिइएको छ । संस्कृतिका धनि समुदायको रुपमा चिनिने थारु समुदायको युवाहरुलाई मादल (मन्ड्रा) बजाउने सीप सिकाउने र युवाहरुलाई मौलिक कला हस्तान्तरण संगसंगै यसको संरक्षणमा सहयोग पुगोस भन्ने उद्देश्यले लोक बाजा मादल (मन्ड्रा) बजाउने तालिम आयोजना गरिएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान विभागका प्रमुख अशोक राइले बताए ।

प्रतिष्ठानले हरेक समुदायको कला, संस्कृति तथा लोकबाजाको संरक्षण, प्रवद्र्धनको लागि विभिन्न ठाउँमा कार्यक्रम आयोजना गर्दै आएकोछ, उनले भने,—‘सोहि कार्यक्रम मध्ये थारु समुदायको लोक बाजाको संरक्षण, प्रवद्र्धनमा थप सहयोग पुगोस भन्ने उद्देश्यले थारु समुदायको लागि लोक बाजा मादल (मन्ड्रा) बजाउने तालिम दिएका हौं ।’ यस तालिमले थारु समुदायको लोप भइरहेको लोकबाजाको संरक्षण र उजागर गर्नेमा सहयोग पुग्ने आफूलाई विश्वास रहेको राइले बताए ।

थारु अगुवा तथा महेन्द्र बहुमुखी क्याम्पस दाङका सहयाक क्याम्पस प्रमुख कुलबिर चौधरीले नेपालमा पहिलो पटक थारु लोक बाजा मादल (मन्ड्रा) बजाउने तालिम भएको बताए । थारु समुदायको लोप भइरहेको थारु लोक बाजाको संरक्षण, प्रवद्धनको लागि विभागले आयोजना गरेको मादल (मन्ड्रा) बजाउने तालिमले युवाहरुलाई आकर्षित गराएको बताए । आफु स्वय यस तालिममा सहभागि भएर थारु समुदायको मादल (मन्ड्रा) बजाउने विभिन्न तालहरु जन्न अवसर पाएको बताए । उनका अनुसार थारु समुदायमा २२ किसिमका ताल अतर्था ख्वाट रहेको छ । तर, यी ख्वाँटहरु विस्तारै लोप भइरहेको छ, उनले भने—‘ मादल (मन्ड्रा) बजाउने तालिमले धेरै ख्वाट सिक्न मौका पाएको छु ।’

मादल प्रशिक्षक खर्कबहादुर बुढामगरले थारु समुदायको मादलमा धेरै किसिमका ताल रहेको बताए । यी सवै ताल या ख्वाँट सिकाउनको लागि कम्तिमा तीन महिना लाग्ने उनले बताए । यदपी दशदिनको विचमा पनि केहि आधारभुत प्रशिक्षण दिएको मगर जनाए । उनका अनुसार तालिममा सखिया नाँचको घेल डाउँ घेल डाउँ, घेलडाउँ घेलडाउँनक्, ठर– पैँयाको फटक तीं घरना, फटक तीं घर तीं, घरा तीन घरा को ताल सिकाएको छ । त्यसैगरी मघौटाको झाउघर न्क, थाउँ घुइ न्क् धाउ घुइ, घुइकी नकधाउ घुइघी नक्धाउ, टाक्क टाक्घुई टाक्क टाक्घुई, फट्टाउँ नख्टाउँ फट्टाउँ नख्टाउँ, ताक्खटी नक्धाउ ताक्खटी नक्धाउ र लकधाउ लकधाउ, लकधाउ ताल सिकाएको बताए । दशदिनसम्म भएको प्रदेश स्तरिय लोक बाजा मादल (मन्ड्रा) बजाउने तालिममा लुम्विनी प्रदेशका विभिन्न जिल्लाबाट २८ जनाको सहभागिता रहेको प्रतिष्ठानले जनाएको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित