सलह बेचेर बुटवलका अच्युत र सविनाले पाए १७० रुपैयाँ

शनिबार नेपालमा सलह प्रवेश गरेपछि प्रदेश ५ सरकारले भनेको थियो, ‘यो किरा टिपेर ल्याउनुस्, किलोको २० रुपैयाँ नगद प्रोत्साहन दिन्छौं ।’

नभन्दै आइतबार सलह बोकेर दुई बालबालिका बुटवल उपहानगरपालिकाको वडा नम्बर ४ को कार्यालयमा पुगे ।

लक्ष्मीनगरका अच्युत न्यौपानेले बोरामा उठाएर ल्याएको सलह ५ किलो र सविना थारुले प्लास्टिकको झोलामा हालेर ल्याएको सलह साढे ३ किलो रहेछ ।

बुटवल–४ का वडाध्यक्ष टंकप्रसाद पराजुली भन्छन्, ‘पानी परेपछि रुखमा बास बसेका सलह भुइँभरि खसेको थियो, बढारेर थुप्रो लगाउन सकिन्थ्यो । केटाकेटीहरूले टिपेर ल्याएका रहेछन् ।’ पराजुलीले अच्युत र सविनाले ल्याएको सलह किनिदिनु भनेर सिफारिस बनाएर उपमहानगरपालिकाको कार्यालयमा पठाए ।

वडाको सिफारिसअनुसार न्यौपानेलाई १०० रुपैयाँ र थारुलाई ७० रुपैयाँ दिएको उपमहानगरका वरिष्ठ अधिकृत तथा आर्थिक विकास महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले जानकारी दिए । सलह भने कुखुरापालक किसानलाई दिइएको छ ।

वडा नम्बर ४ का वडाध्यक्ष पराजुलीका अनुसार जम्मा भएको सलह  सय रुपैयाँ किलोका दरले किन्छौं भन्दै केही व्यक्तिले सम्पर्क समेत गरेका थिए । ‘मासु खानेहरुले किलोको सय रुपैयाँसम्म दिन्छु भन्दै मागेका थिए’ उनले भने ।

अनलाइन खबरबाट

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित