थारु कल्याणकारिणी सभाको केन्द्रीय महाधिवेशन मंसिरको पहिलो साता रुपन्देहीमा हुदै छ । सभाले मंसिरको १, २ र ३ गते २३ औं महाधिवेशन गर्न लागिएको जनाएको छ ।
महाधिवेशनको मिति नजिकिएसंगै अहिले जिल्ला जिल्लामा जिल्ला अधिवशेनलाई तिब्रता दिएको सभाका महामन्त्री प्रेमीलाल चौधरीले बताए । उनले जिल्लाको अधिवेशनसंगै महाधिवशेनको प्रतिनीधि समेत चयन गरिदै आएको जानकारी दिए । यसको पूर्ण रिर्पाेट तीन चारदिनमा आउने उनले बताए । उनका अनुसार महाधिवेशनमा करिब तीन हजार प्रतिनीधि रहने छन् ।
महाधिवेशन आउन दुइ महिना भएपनि सभाको नेतृत्वका लागि अहिले तीन जनाको नाम चर्चामा आएको छ । सभाका महामन्त्री प्रेमीलाल चौधरी, सहमहामन्त्री मिनराज चौधरी र कोषाध्यक्ष चूर्णबहादुर चौधरीको नाम चर्चामा आएको हो ।
‘सभाको अबको नेतृत्वमा कसको कसको चर्चा छ, त्यो मलाई थाहाँ छैन, तर मेरो दाबी चाही छ, सभाका महामन्त्री प्रेमीलालले भने, अहिलेसम्म मेरो विकल्प अरु कोही छैन, साथीहरुले मलाई नै सर्वसम्मत बनाउनु हुन्छ होला ।’ यदपी उनले भनेको जस्तो सजिलो चाही छैन, किनकी अहिले नै उनको पछि पछि रहेका सहमहामन्त्री मिनराज चौधरी र कोषाध्यक्ष चूर्ण बहादुर चौधरीले पनि नेतृत्वको लागि दाबी गर्दै आएकाछन् ।
यदपी प्रेमिलाल अहिलेसम्म कुनैपनि पार्टीमा नदेखिएकोले उनको सम्भावना पनि उत्तिकै रहेको स्रोतले बतायो । उनलाई एमालेका नेता तथा मधेश प्रदेशका कानुनमन्त्री समेत रहेका सभाका पूर्व महामन्त्री राजकुमार लेखीले समर्थन गर्न सक्ने एमालेका थारु अगुवाहरुले बताउछन् । उनि पार्टीमा नदेखिएपनि लेखी निकट मानिन्छन् । रौतहटका प्रेमिलाल अहिले काठमाण्डौमा बसेर व्यवसायी गर्दै आएकाछन् ।
यस्तै सभाका कोषाध्यक्ष चूर्णबहादुर चौधरीले सभाको नेतृत्व अब आफुले गर्ने बताउदै आएकाछन् । सभालाई सहि बाटोमा ल्याउनको लागि आफ्नो आवश्यकक्ता रहेको बताउछन् । ‘देशको पूरानो सस्था सबैले मानेको सस्था भएपनि विविधकारणले सभा सहि बाटोमा आउन सकेको छैन, चूर्णबहादुरले भने, आर्थिक, सामाजिक, साँस्कृति तथा राजनीतिक अधिकारलाई स्थापित गर्नको निमित्त पनि साथीहरुले मलाई अगाडि सारिरहेकाछन ।’ यदपी आफु चुनावी मैदानमा होमिनु भन्दा सर्वसहमतिको लागि सवैसंग छलफल र सल्लाह गरिरहेको बताए ।
यता सभाको निर्वाचन भएको खण्डमा चूर्ण नै जित्न सक्ने सम्भावना रहेको उनि निकट नेताहरु बताउछन् । व्याकवार्ड सोसाइटी एजुकेशन (वेस) नेपालको कार्यकारी निर्देशक समेत रहेका चूर्ण नेपाली काँग्रेस निकट हुन् । अहिलेको सत्तारुढ काँग्रेस–एमालेको गठबन्धन भएकोले चुर्णलाई टिकट दिने सम्भावना रहेको स्रोतले बतायो । एमालेबाट अहिलेसम्म उम्मेदवार नभेटिएकोले एमाले समर्थित थारुहरुले चूर्णलाई समर्थन गर्न सक्ने एमालेका एक थारु नेताले बताए । दाङ तुलसीपुर निवासी चूर्ण बौद्धिक तथा मिजासिलो, कुटनीतिज्ञ र सहयोगी नेताको रुपमा चिनिन्छन् ।
यस्तै सभाको सहमहामन्त्री मिनराज चौधरीले पनि नेतृत्वका लागि साथीहरुसंग छलफल हुदै आएको बताए । बर्दिया निवासी मिनराज पनि नेपाली काँग्रेस निकट नेता हुन् । उनि नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपाल दहित निकट नेताको रुपमा चिनिन्छन् ।