माघमय बन्दै दाङ

घोराही, २२ पुस । थारु समुदायको महान पर्व माघ आउन करिब एक साता बाँकी रहदा अहिले सिंगो दाङ माघमय बनिसकेको छ । माघको अवसरमा गाउँदेखि शहरसम्म माघ मिलन तथा माघ विशेष साँस्कृतिक कार्यक्रम गर्ने होडबाजी सुरु भएको छ । पछिल्लो समयमा माघ विशेष साँस्कृतिक कार्यक्रमको लागि स्थानीय सरकारले नै बजेट विनियोजन गरेपछि यहि सातादेखि दिनदिनै कुनै न कुनै वडामा माघ विशेष साँस्कृतिक कार्यक्रम हुदै आएको छ भने कुनै ठाउँमा तयारीमा जुटिरहेकाछन् । थारु संघसस्थाका अनुसार माघ महिनाको पहिलो सातासम्म यस्तो कार्यक्रमहरु निरन्तरता पाइरहने छ ।

थारु समुदायको कला, संस्कृतिको संरक्षण, प्रवद्धन गर्ने र एकाअर्काे समुदाय विच माया, प्रेम र सद्भाव कायम गर्ने उद्देश्यले माघ कार्यक्रमहरु गरिदै आएको थारु अगुवाहरु बताउने गरेकाछन् । विगतदेखि यस्तो खालको कार्यक्रमम गाउँ–गाउँमा हुने भएता पनि यसरी वडा स्तर, पालिका स्तर, जिल्ला स्तर रुपमा भने केहि बर्ष अगाडि देखिमात्र सुरु भएको थारु अगुवा एवं प्रध्यापक कुलविर चौधरीले बताए । यो संस्कारले समाजमा सकारात्मक सन्देश दिएको उनले दाबी गरे । उनले भने, –‘हामी सवैले एक समुदायको कला, संस्कृति अर्काे समुदायले अपनत्व गर्न सक्यों भने देशमा छिट्टै समृद्धि आउने र हरेक समुदायको कला, संस्कृतिको विकास हुने सम्भावना देखिन्छ ।’

थारु समुदायको आफ्नै छुट्टै खालको मौलिक कला संस्कृति, परम्परा रहनशहन छ, यी कला संस्कृति नै स्थानीय सरकारको सम्पत्ति हो, त्यसैले थारु समुदाय लगायत हरेक समुदायको कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने स्थानीय सरकारको दायित्व हो, घोराही उपमहागरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले भने, सवै जातजातिका आ–आफ्नै विशिष्ट र मौलिक कला, संस्कृति छन्, तर यति हुदाँहुदै पनि पछिल्लो समयमा यी संस्कृति लोपोन्मुख अवस्थामा पुगेकोले यसको समृद्ध विकासका लागि स्थानीय सरकारले अभियान नै चलाएको उनले बताए ।


त्यसैगरि दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले थारु समुदायको माघ महान पर्व मात्र नभइ यस पवर्मा छुट्टै मौलिक कला, संस्कृति लुकेको छ, ती कला, संस्कृतिको उजागर गर्ने उद्देश्यले स्थानीय सरकारले माघ विशेष कार्यक्रमको लागि हरेक बर्ष बजेट विनियोजन गर्दै आएको जानकारी दिए । उनलेभने,–‘हामी हरेक समुदायको कला, संस्कृतिको उच्च सम्मान गर्दै परम्परागत कला, संस्कृतिको राम्रो पक्षलाई लिएर नयाँ पुस्ताले ग्रहण गर्न सकेमा उनिहरुको कला संस्कृतिको संरक्षणमा टेवा पुग्ने छ ।’ यसरी युवाहरु आफ्नो कला, संस्कृति प्रति युवाहरु आकर्षित हुने भएकोले आफुहरुले हरेक बर्ष माघ पुर्व सन्ध्यमा यस्तो खालको कार्यक्रम गर्ने अभियान नै चलाएको उनको भनाइथियो ।

थारु समुदायले माघलाई महान पर्वको रुपमा मात्र नभई नयाँ वर्षको रुपमा पनि मनाउदै आएकाछन् । निकैे धुमधामका साथ उल्लासमय वातावरणमा मनाइने यस पर्बलाई थारु समुदायले करिब ७ दिन सम्म मनाउने गर्दछन् । थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीका अनुसार थारु समुदायले माघ पर्व नाचगानमा मात्र सिमित नभई उनिहरुले माघमा वर्षभरिको नियम कानुन समेत वनाउने गरेका छन् । गत वर्षको के कति काम भयो त्यसको लेखा जोखा गर्ने र आगामी बर्षको कार्ययोजना बनाउने गर्दछन् । त्यसैगरि माघ कै दिन गाउँ गाउँमा एक बर्षका लागि गाउँको नेताको रुपमा महटावा, अघवा चुन्ने गरेको उनले बताए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित