जोत्दा जोत्दै खेतमा ढलेका गुम्रा थारू

तिम्रो हातमा बन्दुक थिएन,

थियो हलो, थियो फालो, थियो हँसिया…
घोराही स्थत गुम्रा चोक बुधबार बिहान केहीबेर मौनजस्तै भयो । साहित्यकार भुवन चौधरीले किसान सहिद गुम्रा थारूलाई समर्पित कविता वाचन गरिरहँदा उपस्थित किसान, राजनीतिकर्मी र स्थानीयले ६६ वर्षअघिको त्यो रक्तरञ्जित इतिहास सम्झिए । हलो समातेर खेत जोतिरहेका किसानमाथि चलेको गोलीले जन्माएको इतिहास आज पनि दाङको किसान आन्दोलनको स्मृतिसँग जोडिएको छ ।

दाङका प्रथम तथा किसान आन्दोलनका सहिद गुम्रा थारूको ६६औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा सहभागी वक्ताले गुम्रा थारूको बलिदानलाई किसान अधिकारको संघर्षको आधारशिला भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङको आयोजनामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगरप्रमुख तथा एमाले दाङका इन्चार्ज नरुलाल चौधरीले सहिद गुम्राले देखाएको संघर्षको बाटो अझै सान्दर्भिक रहेको बताउनुभयो । उहाँले भूमि समस्या, किसान, सुकुम्बासी तथा गुठीपीडितका समस्या समाधान नभएसम्म आन्दोलनको औचित्य समाप्त नहुने उल्लेख गर्दै किसानका हकअधिकारको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो । उहाँले किसान आन्दोलनमा गुम्रा थारूले निर्वाह गर्नुभएको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै उहाँको योगदान दङ्गाली र समाजका लागि सधैँ प्रेरणाको स्रोत रहने बताउनुभयो ।

हलो जोतिरहेकै बेला चल्यो गोली
दाङको किसान आन्दोलनको इतिहासमा २०१७ साउन ६ गते विशेष रूपमा स्मरण गरिन्छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिव एवं वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माका अनुसार जमिन्दारविरुद्ध करिब एक दशकदेखि चलिरहेको किसान आन्दोलन त्यसबेला उत्कर्षमा पुगेको थियो । वर्षायाममा जमिन्दारहरूले किसानलाई खेत जोत्न नदिएपछि आन्दोलनरत किसानहरूले जबर्जस्ती खेत जोत्न थाले । प्रशासनले रोक्न खोजे पनि किसान पछि हटेनन् । त्यसपछि प्रहरी प्रशासनले गोली चलायो । गोली चलेपछि गुम्रा थारूले कम्मरमा झुन्ड्याएको हँसियाले प्रतिकार गर्ने प्रयास गर्नुभयो । तर बन्दुकअगाडि उहाँको प्रतिरोध टिक्न सकेन । खेत जोतिरहेकै अवस्थामा प्रहरीको गोली लागेर उहाँ ढल्नुभयो । किसान अधिकारको संघर्ष गर्दैगर्दा उहाँले त्यही खेतमा जीवन गुमाउनुभयो ।

किसान आन्दोलनका योद्धा
घोराही उपमहानगरपालिका–३ बेलुवाका कालुराम थारुका माइला छोरा गुम्रा थारूको जन्म वि.सं. १९८२ मा भएको थियो । किसान संघका सदस्य रहनुभएका उहाँ सामान्य लेखपढ गर्न सक्ने भए पनि निडर, इमान्दार र संघर्षशील किसान नेताका रूपमा परिचित हुनुहुन्थ्यो । ढाँटु चौधरी, मोतीलाल चौधरी, नारायणप्रसाद शर्मा, माणिकलाल गौतमलगायत किसान नेतासँग मिलेर उहाँ गाउँ–गाउँमा किसानलाई संगठित गर्दै किसान अधिकारको आन्दोलनमा सहभागी हुने गर्नुहुन्थ्यो । महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक सुदीप गौतमका अनुसार ३५ वर्षको उमेरमा किसान आन्दोलनकै क्रममा सहिद हुनुभएका गुम्रा थारू किसान सहिद मात्र नभई दाङका प्रथम सहिद पनि हुनुहुन्छ । २०१७ साल साउन ६ गतेको त्यो घटनापछि प्रत्येक वर्ष उहाँको सम्झनामा स्मृति दिवस मनाउने परम्परा कायम छ ।

 

 

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित