व्यवसायीले इन्धन ढुवानी गर्न नमानेपछि इन्धन आपूर्तिमा समस्या

काठमाडौं, २६ भदौ । पेट्रोलियम ढुवानी व्यवसायीले इन्धन आपूर्ति रोक्न थालेका छन् । नेपाल आयल निगमले ढुवानी भाडा वृद्धि गर्नुपर्ने राख्दै व्यवसायीहरुले ढुवानीमा रोक लगाएका हुन् । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भाडा वृद्धि नभए २४ भदौबाट तेल आयात गर्न ट्यांकर भारत नपठाउने चेतावनी दिएको थियो । सोहीअनुसार उनीहरूले निगमका अधिकांश डिपोसँग करारमा रहेका ट्यांकरलाई शुक्रबार तेल लिन भारत पठाएनन् ।

सबैभन्दा धेरै इन्धन खपत हुने काठमाडौंस्थित आयल निगमको थानकोट डिपोबाट शुक्रबार भारतका लागि कुनै पनि ट्यांकर तेल लिन गएका छैनन् । त्यस्तै, दोस्रो ठूलो अमलेखगन्ज डिपोबाट दैनिक २० ट्यांकरसम्म पेट्रोल लिन भारतको बरौनी रिफाइनरी जाने गरेकोमा शुक्रबार १७ ट्यांकरले मात्रै खरिद आदेश लिएका छन् । तर, ती ट्यांकर भारत गए–नगएकोबारे निगमलाई व्यवसायीले खबर गरेका छैनन् ।

आयल निगमको अध्ययन प्रतिवेदनले चालक र सहचालकको तलब तथा भत्ता, ट्यांकरको बिमा प्रिमियम, मर्मत खर्च, विशेष मर्मत खर्च, मोबिल, टायरलगायतको खर्च शीर्षकको लागत बढेको भन्दै ढुवानी भाडादर वृद्धिका लागि सिफारिस गरेको छ । सो प्रतिवेदनले आइओसीको डिपोदेखि निगमको डिपोसम्म र देशभित्रै निगमको एउटा डिपोदेखि अर्को डिपोसम्मको दूरी हिसाब गरी ढुवानी भाडाको आधार दर वृद्धिका लागि सिफारिस गरेको थियो ।

विमानस्थलमा हवाई इन्धन अभाव
भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा १६ भदौदेखि ट्यांकर ढुवानी व्यवसायीले हवाई इन्धन आपूर्ति रोकेका छन् । जसकारण नेपालगन्ज र धनगढी विमानस्थलमा उडान गर्ने विमानलाई निगमको स्थानीय डिपोले तेल दिन छाडेको छ । भैरहवास्थित निगमको हवाई इन्धन डिपोले भने मौज्दातमा रहेको तेल उपलब्ध गराइरहेको छ । यसले बढीमा एक साता मात्रै धान्न सक्नेछ ।

तीनवटै विमानस्थलका लागि आयल निगमले इन्डियन आयल कर्पोरेसन ९आइओसी०को लखनउ टर्मिनलबाट हवाई इन्धन ल्याउने व्यवस्था मिलाइएको थियो । त्यसपछि छोटो दूरीबाट तेल ओसार्दा ढुवानी भाडा कम भई मर्कामा परेको भन्दै व्यवसायीले ढुवानी भाडादर वृद्धिका लागि दबाब दिन १६ भदौदेखि आपूर्ति रोकेका हुन् ।

धनगढीस्थित निगमको हवाई इन्धन डिपो प्रमुख गणेश जोशीका अनुसार त्यहाँ दैनिक नियमित रूपमा आठवटा उडान हुने र १० हजार लिटर हवाई इन्धनको खपत थियो । अहिले यो परिमाणको तेल काठमाडौंबाटै बोकेर विमान कम्पनीहरूले सेवा दिइरहेका छन् । नेपालगन्जस्थित निगमको हवाई इन्धन डिपो प्रमुख शिव आचार्यका अनुसार तेल अभावमा डिपोले १९ भदौबाट विमान कम्पनीहरूलाई हवाई इन्धन दिन छाडेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित