एमाले दशौँ महाधिवेशन : ५० बढी जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट

काठमाडौं, २८ कार्तिक । नेकपा एमालेमा दशौँ महाधिवेशनका लागि ५० भन्दा बढी जिल्लामा १२ सय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।

स्थानीय अधिवेशनबाटै सर्वसम्मत नेतृत्व चयनको अभ्यास सुरु गरेको एमालेमा पार्टी मूल नेतृत्वले समझदारीबाटै प्रतिनिधि चयनको निर्देशनात्मक सन्देश प्रवाह गरेपछि अधिकांश प्रतिनिधि सर्वसम्मत विधिबाटै छनोट भएका छन् ।

कुन प्रदेशमा के भयो ?

प्रदेश १ : प्रदेश १ का १४ जिल्लामध्ये शनिबार भएको प्रतिनिधि छनोटमा झापाका पाँच निर्वाचन क्षेत्रमध्ये ३ र ४ मा व्यक्तिगत प्रतिस्पर्धाबाट प्रतिनिधि छनोट भएको छ । त्यस्तै, उदयपुर– १ मा पनि चुनावी प्रक्रियाबाटै प्रतिनिधि छनोट भएका छन् । इलाम, ताप्लेजुङ, संखुवासभा ओखलढुंगामा सर्वसम्मत प्रतिनिधि चुनिएका छन् । त्यस्तै, मोरङको सातवटा क्षेत्रमध्ये ६ बाहेक सबैमा सर्वसम्मत चुनिएका छन् । धनकुटा र खोटाङमा सहमतिबाटै प्रतिनिधि छनोटको प्रयास जारी रहेको तथा तेह्रथुम र सोलुखम्बुले छिट्टै चुनावी प्रक्रिया अगाडि बढाउन लागेको प्रदेश अध्यक्ष देवराज घिमिरेले जानकारी दिए । सुनसरीमा भने जिल्ला अध्यक्ष चयनलाई लिएर देखिएको विवादका कारण २९ कात्तिकमा मात्र प्रतिनिधि छनोट गर्ने तयारी छ ।

प्रदेश २ : प्रदेश २ का तीन जिल्लामा समयमै सदस्यता नवीकरण सम्पन्न नभएका कारण प्रतिनिधि छनोट लम्बिएको छ । सिराहामा सदस्यता नवीकरणको काम टुंग्याएर २९ कात्तिकमा प्रतिनिधि छनोटका लागि निर्वाचन तोकिएको प्रदेशका सहइन्चार्ज लीलानाथ श्रेष्ठले बताए ।

रौतहटमा पूर्वमाओवादी समूहले पार्टी एकतापछि आएका सदस्य सबैको नवीकरण टुंग्याउन ढिलाइ गरेको र सर्लाहीमा पनि समयमै सदस्यता नवीकरण नटुंगिएकाले प्रतिनिधि छनोट लम्बिएको छ । तर, सप्तरी, बारा, पर्सा, महोत्तरी र धनुषामा भने शनिबारै प्रतिनिधि छनोट सम्पन्न भएको पनि श्रेष्ठले जानकारी दिए ।

बागमती : बागमती प्रदेशको १३ मध्ये ११ जिल्लामा शनिबारै प्रतिनिधि चुनिएका छन् । ललितपुरको ३ नम्बर क्षेत्रमा बाहेक शनिबार सम्पन्न सबै निर्वाचन क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चुनिएको प्रदेश अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताए । काभ्रे, भक्तपुर २ र काठमाडौंका केही निर्वाचन क्षेत्रमा सहमतिमै प्रतिनिधि चुन्ने प्रयास जारी छ ।

चितवनमा भने स्थानीय कमिटीहरू महाधिवेशनको व्यवस्थापनसम्बन्धी तयारीमा पनि जुटिरहेकाले आइतबार मात्रै प्रतिनिधि छनोट गर्ने तयारी छ । बागमतीमा सबैभन्दा बढी प्रतिनिधि काठमाडौं जिल्लाबाट ४५ जना छनोट हुँदै छन् ।

गण्डकी : गण्डकी प्रदेशका ११ मध्ये सात जिल्लामा सर्वसम्मत प्रतिनिधि चुनिएका छन् । प्रदेश सचिव गोविन्द नेपालीका अनुसार प्रदेश कमिटी र मजदुर फाँटबाट १२ जना, मुस्ताङमा चार, म्याग्दीमा नौ, बाग्लुङमा १२, कास्कीमा ३०, लमजुङमा ११, गोर्खामा १५ र मनाङमा चारजनासहित ९७ जना प्रतिनिधि सर्वसम्मत छनोट भएका छन् । तनहुँ, स्याङ्जा, पर्वत र पूर्वी नवलपरासी ९नवलपुर०मा पनि सर्वसम्मत प्रतिनिधि छनोट हुने उनले बताए ।

कर्णाली : कर्णालीका दशमध्ये सात जिल्लामा शनिबारै सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । कालिकोटमा १५, डोल्पामा १०, हुम्लामा १०, रुकुम पश्चिममा सात, जाजरकोटमा नौ, जुम्लामा सात र सल्यानमा आठसहित ७३ जना प्रतिनिधि सर्वसम्मत छनोट भएको र सुर्खेत, दैलेख– २ र मुगुमा राति अबेरसम्म सर्वसम्मतिका लागि कोसिस भइरहेको प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले बताए । दैलेख– १ मा भने १० जना प्रतिनिधि निर्वाचित भएका छन् ।

लुम्बिनी : लुम्बिनीका १२ जिल्लामध्ये सबै जिल्लामा शनिबारै प्रतिनिधि छनोट भएका छन् । तीमध्ये पश्चिम नवलपरासीका दुई निर्वाचन क्षेत्र र रुपन्देहीका पाँचवटा निर्वाचन क्षेत्रमध्ये एक नम्बरमा मात्र निर्वाचन भएको छ । रोल्पा, पूर्वी रुकुम, बाँके, बर्दिया, दाङ, प्युठान, अर्घखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु तथा रुपन्देहीको १ नम्बरबाहेकका चारवटा निर्वाचन क्षेत्रमा सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् ।

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका नौमध्ये तीन जिल्लामा शनिबारै सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । कैलालीको ५ नम्बर क्षेत्रमा सर्वसम्मत भएको छ भने बाँकी निर्वाचन क्षेत्रमा पनि सहमतिकै कोसिस जारी रहेको प्रदेश अध्यक्ष कर्ण थापाले बताए ।

ओलीको जिल्लामा चुनाव
शनिबार अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाको ३ र ४, उपत्यकामा ललितपुर– ३, रुपन्देहीको क्षेत्र नम्बर १, उदयपुर– १ र पश्चिम नवलपरासीका दुईसहित सातवटा निर्वाचन क्षेत्रमा मात्र चुनावी प्रक्रियाबाट प्रतिनिधि छनोट भएका छन् । चुनाव भएका निर्वाचन क्षेत्रमा पनि अन्तिमसम्म कोसिस गर्दागर्दै व्यक्तिगत प्रतिस्पर्धा मात्र भएको नेताहरूले बताएका छन् । प्रतिनिधि छनोट हुन बाँकी जिल्लामध्ये मोरङ– ६ र सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका सीमित निर्वाचन क्षेत्रमा मात्र चुनाव सम्भावना छ । नयाँ पत्रिकाबाट

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित