एमाले दशौँ महाधिवेशन : ५० बढी जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट

काठमाडौं, २८ कार्तिक । नेकपा एमालेमा दशौँ महाधिवेशनका लागि ५० भन्दा बढी जिल्लामा १२ सय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।

स्थानीय अधिवेशनबाटै सर्वसम्मत नेतृत्व चयनको अभ्यास सुरु गरेको एमालेमा पार्टी मूल नेतृत्वले समझदारीबाटै प्रतिनिधि चयनको निर्देशनात्मक सन्देश प्रवाह गरेपछि अधिकांश प्रतिनिधि सर्वसम्मत विधिबाटै छनोट भएका छन् ।

कुन प्रदेशमा के भयो ?

प्रदेश १ : प्रदेश १ का १४ जिल्लामध्ये शनिबार भएको प्रतिनिधि छनोटमा झापाका पाँच निर्वाचन क्षेत्रमध्ये ३ र ४ मा व्यक्तिगत प्रतिस्पर्धाबाट प्रतिनिधि छनोट भएको छ । त्यस्तै, उदयपुर– १ मा पनि चुनावी प्रक्रियाबाटै प्रतिनिधि छनोट भएका छन् । इलाम, ताप्लेजुङ, संखुवासभा ओखलढुंगामा सर्वसम्मत प्रतिनिधि चुनिएका छन् । त्यस्तै, मोरङको सातवटा क्षेत्रमध्ये ६ बाहेक सबैमा सर्वसम्मत चुनिएका छन् । धनकुटा र खोटाङमा सहमतिबाटै प्रतिनिधि छनोटको प्रयास जारी रहेको तथा तेह्रथुम र सोलुखम्बुले छिट्टै चुनावी प्रक्रिया अगाडि बढाउन लागेको प्रदेश अध्यक्ष देवराज घिमिरेले जानकारी दिए । सुनसरीमा भने जिल्ला अध्यक्ष चयनलाई लिएर देखिएको विवादका कारण २९ कात्तिकमा मात्र प्रतिनिधि छनोट गर्ने तयारी छ ।

प्रदेश २ : प्रदेश २ का तीन जिल्लामा समयमै सदस्यता नवीकरण सम्पन्न नभएका कारण प्रतिनिधि छनोट लम्बिएको छ । सिराहामा सदस्यता नवीकरणको काम टुंग्याएर २९ कात्तिकमा प्रतिनिधि छनोटका लागि निर्वाचन तोकिएको प्रदेशका सहइन्चार्ज लीलानाथ श्रेष्ठले बताए ।

रौतहटमा पूर्वमाओवादी समूहले पार्टी एकतापछि आएका सदस्य सबैको नवीकरण टुंग्याउन ढिलाइ गरेको र सर्लाहीमा पनि समयमै सदस्यता नवीकरण नटुंगिएकाले प्रतिनिधि छनोट लम्बिएको छ । तर, सप्तरी, बारा, पर्सा, महोत्तरी र धनुषामा भने शनिबारै प्रतिनिधि छनोट सम्पन्न भएको पनि श्रेष्ठले जानकारी दिए ।

बागमती : बागमती प्रदेशको १३ मध्ये ११ जिल्लामा शनिबारै प्रतिनिधि चुनिएका छन् । ललितपुरको ३ नम्बर क्षेत्रमा बाहेक शनिबार सम्पन्न सबै निर्वाचन क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चुनिएको प्रदेश अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताए । काभ्रे, भक्तपुर २ र काठमाडौंका केही निर्वाचन क्षेत्रमा सहमतिमै प्रतिनिधि चुन्ने प्रयास जारी छ ।

चितवनमा भने स्थानीय कमिटीहरू महाधिवेशनको व्यवस्थापनसम्बन्धी तयारीमा पनि जुटिरहेकाले आइतबार मात्रै प्रतिनिधि छनोट गर्ने तयारी छ । बागमतीमा सबैभन्दा बढी प्रतिनिधि काठमाडौं जिल्लाबाट ४५ जना छनोट हुँदै छन् ।

गण्डकी : गण्डकी प्रदेशका ११ मध्ये सात जिल्लामा सर्वसम्मत प्रतिनिधि चुनिएका छन् । प्रदेश सचिव गोविन्द नेपालीका अनुसार प्रदेश कमिटी र मजदुर फाँटबाट १२ जना, मुस्ताङमा चार, म्याग्दीमा नौ, बाग्लुङमा १२, कास्कीमा ३०, लमजुङमा ११, गोर्खामा १५ र मनाङमा चारजनासहित ९७ जना प्रतिनिधि सर्वसम्मत छनोट भएका छन् । तनहुँ, स्याङ्जा, पर्वत र पूर्वी नवलपरासी ९नवलपुर०मा पनि सर्वसम्मत प्रतिनिधि छनोट हुने उनले बताए ।

कर्णाली : कर्णालीका दशमध्ये सात जिल्लामा शनिबारै सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । कालिकोटमा १५, डोल्पामा १०, हुम्लामा १०, रुकुम पश्चिममा सात, जाजरकोटमा नौ, जुम्लामा सात र सल्यानमा आठसहित ७३ जना प्रतिनिधि सर्वसम्मत छनोट भएको र सुर्खेत, दैलेख– २ र मुगुमा राति अबेरसम्म सर्वसम्मतिका लागि कोसिस भइरहेको प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले बताए । दैलेख– १ मा भने १० जना प्रतिनिधि निर्वाचित भएका छन् ।

लुम्बिनी : लुम्बिनीका १२ जिल्लामध्ये सबै जिल्लामा शनिबारै प्रतिनिधि छनोट भएका छन् । तीमध्ये पश्चिम नवलपरासीका दुई निर्वाचन क्षेत्र र रुपन्देहीका पाँचवटा निर्वाचन क्षेत्रमध्ये एक नम्बरमा मात्र निर्वाचन भएको छ । रोल्पा, पूर्वी रुकुम, बाँके, बर्दिया, दाङ, प्युठान, अर्घखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु तथा रुपन्देहीको १ नम्बरबाहेकका चारवटा निर्वाचन क्षेत्रमा सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् ।

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका नौमध्ये तीन जिल्लामा शनिबारै सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । कैलालीको ५ नम्बर क्षेत्रमा सर्वसम्मत भएको छ भने बाँकी निर्वाचन क्षेत्रमा पनि सहमतिकै कोसिस जारी रहेको प्रदेश अध्यक्ष कर्ण थापाले बताए ।

ओलीको जिल्लामा चुनाव
शनिबार अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाको ३ र ४, उपत्यकामा ललितपुर– ३, रुपन्देहीको क्षेत्र नम्बर १, उदयपुर– १ र पश्चिम नवलपरासीका दुईसहित सातवटा निर्वाचन क्षेत्रमा मात्र चुनावी प्रक्रियाबाट प्रतिनिधि छनोट भएका छन् । चुनाव भएका निर्वाचन क्षेत्रमा पनि अन्तिमसम्म कोसिस गर्दागर्दै व्यक्तिगत प्रतिस्पर्धा मात्र भएको नेताहरूले बताएका छन् । प्रतिनिधि छनोट हुन बाँकी जिल्लामध्ये मोरङ– ६ र सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका सीमित निर्वाचन क्षेत्रमा मात्र चुनाव सम्भावना छ । नयाँ पत्रिकाबाट

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित