तीन वर्षमा घोराहीको रूप फेरियोे

नरुलाल चौधरी दाङको घोराही उपमहानगरपालिकाका प्रमुख हुनुहुन्छ । घोराहीको रूप फेर्ने महत्वाकाङ्क्षी प्रतिबद्धताका साथ निर्वाचन लड्नुभएका उहाँसँग निर्वाचन जितेपछि आजसम्म गरेका काम, विकास निर्माण र भावी योजनाका बारेमा पत्ररकार कटीकाबहादुर बस्नेतले गर्नुभएको कुराकानी ।

उपमहानगर पालिकाभित्रका तीन वर्ष कस्ता रहे ?

घोराहीलाई मुलुककै उत्कृष्ट उपमहानगर बनाउने सङ्कल्पका साथ कार्यसम्पादन गर्दै हाम्रा तीन वर्ष बितेका छन् । मेरो नेतृत्वमा रहेको जनप्रतिनिधिको टिमका सामु धेरै चुनौती र अवसर थिए । हामीले चुनौतीभन्दा पनि अवसरलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आइरहेका छौँ ।

कार्यकालका मुख्य उपलब्धि के–के हुन् ?

तीन वर्षमा हामीले घोराहीको रूप फेरेका छौँ । हामीले १९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरेका छौँ । १९ वटै वडामा वडा कार्यालय स्थापना गरेका छौँ । अहिले सबै वडामा त्यहीँबाट सेवा सञ्चालन भइरहेको छ । जलाशय निर्माणको क्षेत्रमा पनि हामीले नमुनायोग्य काम गरेका छौँ । अहिलेसम्म २५ वटा जलाशय निर्माण भइसकेका छन् ।
सबै वडा जोड्ने सडक कालोपत्रे भइसकेका छन् । उपमहानगरपालिका क्षेत्रमा पर्ने विभिन्न ठूला सडकको ट्र्याक खुल्ने काम भएको छ । अहिले गाउँ क्षेत्रका मुख्य सडक पनि हामीले धमाधम कालोपत्रे गरिरहेका छौँ । अन्य धेरै सडक कालोपत्रेको प्रक्रियामा छन् ।
सहज सघन सहरी सडक अन्तर्गतका सबै आयोजना यो आर्थिक वर्षभित्र सम्पन्न भइसक्नेछन् । बजार क्षेत्रको सरसफाइलाई व्यवस्थित गर्ने हाम्रो अभियान एक हदसम्म सफल भएको छ ।
अहिले हामीहरूले फोहोरबाट ग्यास निकाल्नका लागि ग्यास प्लान्ट निर्माणको काम पनि गरिरहेका छौँ । माघसम्म फोहोरबाट ग्यास निकालिसक्ने छौँ । हरियाली प्रवद्र्धनको क्षेत्रमा उपमहानगरपालिकाले राम्रो उपलब्धि हासिल गरेको छ । हामीले निर्वाचनमा जे प्रतिबद्धता व्यक्त गरेका थियौँ, त्यही प्रतिबद्धता अनुरूप अहिले काम पूरा गरिरहेका छौँ ।
बालमैत्री उपमहानगर बनाउनका लागि प्रक्रिया अगाडि सुरु गरेका छौँ । पूर्ण सरसफाइ र पूर्ण स्वच्छ पानी आम नागरिकलाई पु¥याउनका लागि विभिन्न योजना सञ्चालन गरेका छौँ । सङ्घीय, सरकार प्रदेश सरकार र हामी स्थानीय सरकारको तर्फबाट विभिन्न योजना अगाडि बढाएका छौँ । धेरैजसो बस्तीमा स्वच्छ खानेपानी उपलब्ध गराइसकेका छौँ । यस्ता धेरै काम गरेका छौँ ।

बाँकी कार्यकालमा के गर्नुहुन्छ ?

अझै कार्यकाल दुई वर्ष रहेकाले हामीहरू योजना पूरा गर्ने लक्ष्यमा अगाडि बढेका छौँ । रोजगारीको अवसर सिर्जना गर्नका लागि यहाँका उद्योग, धन्दा, कलकारखानालगायतका व्यवसायलाई प्रवद्र्धन गरिरहेका छौँ । विभिन्न सङ्घसंस्था तथा सरोकारवाला निकायसँग समन्वय गरेर रोजगारमूलक काममा युवालाई कसरी प्रेरित गर्न सकिन्छ भनेर योजना बनाइरहेका छौँ ।
सामूहिक कृषि खेती, बाख्रापालन लगायतका काममा पनि प्रोत्साहन गरिरहेका छौँ । अहिले किसानले भैँसीपालन, गाईपालन र मौरीपालनको काम गरिरहेका छन् ।
सामाजिक सुरक्षाको क्षेत्रमा पनि राम्रो काम भएको छ । हाम्रो कार्यकाल आएपछि एक हजार रुपियाँ भत्ता बढेको छ । प्रधानमन्त्रीको प्रतिबद्धता अनुसार हामीहरू पनि हाम्रो कार्यकालभित्र सामाजिक सुरक्षा भत्ता पाँच हजारसम्म पु¥याउने छौँ ।

थारू भाषाको संवद्र्धनमा के गर्नुभयो ?

यहाँको भाषा क्षेत्रको विकासमा पनि हामीले एक हदसम्म उपलब्धि हासिल गरेका छौँ । थारू भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन हामी सफल भएका छौँ । थारू भाषा सिक्नका लागि अरू भाषीलाई पनि सजिलो होस् भनेर आधारभूत तहको शिक्षामा थारू भाषाबाट पाठ्यक्रम सञ्चालन गर्ने योजना अगाडि बढाएका छौँ ।

जलाशय निर्माणले कस्तो प्रभाव पारेको छ ?

जलाशय बहुउपयोगी भएका छन् । सुरुमा हेर्दा सामान्य पानी जम्मा भएको जस्तो मात्रै मानिन्छ तर यसका बहुआयामिक फाइदा छन् । अहिले धमाधम सहरीकरण भइरहेको छ । ठाउँठाउँमा पक्की घर तथा संरचना बनिरहेका छन् । आकाशबाट खसेको पानी जमिनमुनि जान पाइरहेको छैन । यही कारणले गर्दा हाम्रो जमिनमुनि पानीको सतह घटिरहेको छ । अहिले कृत्रिम जलाशयका कारण ती क्षेत्रमा सुकेका कुवा पनि रसाउन थालेका छन् । त्यसैगरी सिँचाइका लागि पनि ती कृत्रिम जलाशय उपयोगी भएका छन् । त्यस आसपासका आम किसानले बाह्रै महिना सिँचाइ गर्न पाउने भएका छन् । त्यसैगरी वातावरण संरक्षणको सवालमा पनि जलाशय अत्यन्त बहुउपयोगी भइरहेका छन् । पर्यटन क्षेत्रको विकासका लागि पनि अब हामीले निर्माण भएका जलाशयमा डुङ्गा चलाउन सुरु गरेका छौँ ।
अब त्यहाँ होटेल तथा विभिन्न पसल खुल्नेछन् । यसबाट धेरै युवाले प्रत्यक्ष रोजगारी पाउनेछन् । साथै कृत्रिम जलाशयमा माछापालन गरेर पनि युवाले आम्दानी गर्न सफल भएका छन् ।

लुम्बिनी प्रदेशले तीन महानगरको निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसतर्फ यहाँको तयारी देखिँदैन नि ?

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले तीन महानगरपालिकाको सङ्कल्प प्रस्तुत गर्नुभएको छ । हाम्रो जिल्लामा घोराही र तुलसीपुरलाई मिलाएर महानगरपालिका बनाउने प्रदेश सरकारको सङ्कल्प अनुरूप नै हामीले काम गरिरहेका छौँ । दुईवटा उपमहानगरपालिकाको सहकार्यमा दीर्घकालीन योजना तयार गरी काम भइरहेको छ । हामी प्रचारमुखीभन्दा पनि परिणाममुखी भएर काम गरिरहेका छौँ ।

उपमहानगरलाई कस्तो बनाउने सपना देख्नुभएको छ ?

पहिलो कुरा त घोराही उपमहानगरपालिकालाई स्मार्ट सिटी बनाउँछौँ भनेका छौँ । हरित नगर बनाउँछौँ भनेका छौँ । कृषिलाई व्यवस्थित गर्दै आत्मनिर्भर नगर बनाउँछौँ भनेका छौँ । यहाँ अन्तर्राष्ट्रियस्तरको एयरपोर्ट बनाउने सपना देखेका छौँ । यी सबै कामको सुरुवात भइसकेका छन् । हिजो रोकिएका बाटा कालोपत्रे हुन थालेका छन् । त्यस्तै यहाँका मठमन्दिरको संरक्षणको काम पनि सुरुवात भएका छन् । घोराहीलाई पर्यटनको केन्द्र बनाउने गरी काम अगाडि बढिरहेका छन् ।
स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउन विभिन्न गतिविधि सञ्चालन गर्ने योजना छ । शिक्षाको क्षेत्रमा शिक्षक छनोट कार्यविधि पास गरिसकेका छौँ । शैक्षिक गुणस्तर सुधार गर्न नीति निर्माण गरेर अघि बढ्ने कोसिस गरिरहेका छौं। मान्छेलाई लघुउद्यमतिर प्रोत्साहित गर्न तालिम दिने, युवालाई स्वरोजगार गराउने कुरा र पर्यटकीय क्षेत्रको विकासमा पनि हामी विशेष जोड दिएर अघि बढिरहेका छौँ ।

तपाईं किसान पृष्ठभूमिबाट उदाएको जनप्रतिनिधि । तपाईं प्रमुख भइसकेपछि यहाँका आमकिसानले के फाइदा लिन सके ?

हामीले निर्वाहमुखी खेती प्रणालीलाई अन्त्य गर्दै व्यावसायिक खेती गर्नुपर्छ भनेर भनेका छौं। यस कुरालाई सचेतनामूलक ढङ्गले अगाडि बढाइरहेका छौँ । हामीले बनाएका कृत्रिम जलाशयका वरपर अहिले धमाधम व्यवसायिक कृषिको काम भइरहेको छ । हामीले त्यहाँका किसानलाई व्यावसायिक खेतीका लागि अभिप्रेरित गरिरहेका छौं। उपमहानगरले अगाडि सारेको योजनाकै कारण त्यहाँका स्थानीयले केही हदसम्म आम्दानी पनि बढाउन सफल भएका छन् ।
यहाँका किसान धमाधम व्यावसायिक कृषिमा लाग्नु भएको छ । सिँचाइको सही सदुपयोग गर्न सक्नुभएको छ । हामीले उपमहानगरमा व्यावसायिक खेती तथा पशुपालन गर्ने किसानलाई विभन्नि औजार तथा अनुदान प्रदान गरिहेका छौँ । फलफूल खेती र टिमुर खेती भइरहेको छ । कृषिलाई यान्त्रीकरण गर्नका लागि हामी स्थानीय तहबाट पनि पहल गरिरहेका छौँ । प्रदेश सरकारले पनि आफ्ना योजना अगाडि बढाइरहेको छ । अहिले धेरै किसानले आधुनिक कृषियन्त्र प्रयोग गर्न थाल्नुभएको छ । समग्रमा किसानको आम्दानीका स्रोत बढेका छन् ।

आगामी दिनमा यहाँलाई जनताले कुन भूमिकामा देख्न पाउँछन् ?

हामी राजनीतिकर्मी भनेका जनताका सेवक हौँ । जनताकै कारण आज म यो भूमिकामा छु । नगर प्रमुखको भूमिकामा रहँदा मैले जहिले पनि जनताकै लागि काम गरेको छु । हाम्रो कामको मूल्याङ्कन जनताले पक्कै पनि गरिरहनुभएको होला । राजनीतिकर्मीलाई भूमिका दिने जनताले नै हो । मलाई घोराहीका जनताले जुन भूमिका दिनुहुन्छ म त्यही भूमिकामा हुनेछु ।

गोरखापत्र अनलाइनबाट साभार

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित