नेपालमा थप दुइजनमा कोरोना संक्रमण पुष्टि

रौतहट, १६ वैशाख । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको देबाही गोनाही नगरपालिकाका ३५ वर्षीय युवक र वृन्दावन नगरपालिकाका २४ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गौरले जानकारी दिएको छ ।

जनकपुरको ल्याबबाट नेगेटिभ रिपोर्टका आएको भन्दै वृन्दावनका संक्रमित वैशाख ६ गते घर गइसकेका थिए। भारतको दिल्लीमा काम गरेर चैत १७ गते नेपाल आएका उनी २२ गते चन्द्रपुर–६ स्थित महिला फुटबल एकेडेमीमा स्थापना गरिएको क्वारेन्टाइनमा बसेका थिए। ४ दिनपछि उनको स्वाब टेस्टका लागि जनकपुर पठाइएको थियो। त्यहाँबाट २९ गते नेगेटिभ रिपोर्ट आएको चन्द्रपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मातृका चालिसेले बताए।

‘त्यही आधारमा हामीले उनलाई छाड्यौं। पीसीआर रिपोर्टकै भरमा वैशाख ६ गते घर पठायौं,’ उनले भने, ‘काठमाडौंबाट फेरि पोजिटिभ रिपोर्ट आएको छ।’ दुई साता क्वारेन्टाइनमा बसेका युवकलाई जनकपुरकै रिपोर्टको भरमा घर पठाइएको थियो।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दुवैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। स्वास्थ्य कार्यालय गौरका अधिकृत महेश साहले दुवै जनाको पछिल्लो रिपोर्ट पोजिटिभ आएको पुष्टि गरे।

देवाही गोनाहीस्थित क्वारेन्टाइनमा बसेका करुनियाका संक्रमित ३५ वर्षीय पुरुष भने भारतको कोलकाताबाट लकडाउनकै क्रममा चोरबाटो हुँदै वैशाख ६ गते नेपाल आएका थिए। त्यही दिन उनलाई क्वारेन्टाइनमा राखिएको हो। तीन दिनअघि उनको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो। त्यहाँ गरिएको पीसीआर परीक्षणमा नतिजा पोजिटिभ आएको हो। ७ जनाको समूहमा रहेका उनीहरुमध्ये उनको मात्र रिपोर्ट पोजिटिभ देखिएको हो।

देबाहीका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुशवाहाले सर्लाहीका १४ वर्षीय एक किशोरसँगै उनीहरु दिल्लीबाट नेपाल आएको बताए। यसअघि कोरोना संक्रमण पुष्टि भएका रौतहटका १९ वर्षीय युवक वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
कान्तिपुर दैनिकबाट

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित