तिथी बिगारेको भन्दै नेवार समुदायले गरे पात्रो बहिष्कार

तस्विर फाइल

काठमाडौं, कात्तिक ०४।
तिहारको बेला नेवार समुदायद्वारा मनाइने स्वन्तिः को तिथि बिगारेको भन्दै नेवार समुदायले राष्ट्रिय पञ्चांग अर्थात् पात्रो बहिष्कार गरेको छ । तिहारमा पर्ने म्हः पूजा र नेपाल संवतलाई नेवार समुदायले परम्परागत रुपमा एकैदिन मनाउदै आएको छ । तर यस वर्ष यि दुई पर्वलाई राष्ट्रिय पञ्चांग निर्णायक समितिले बेग्लाबेग्लै दिनमा राखेको छ ।
समितिले बनाएको पात्रो अनुसार यमपञ्चकका रूपमा मनाइने तिहारको पहिलो दिन कात्तिक ९ गते काग तिहार परेको छ । १० गते कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ भने ११ गते म्हःपूजा र १२ गते गोवर्धन पूजा, नेवार समुदायको न्हु दँ (नयाँ वर्ष) अर्थात् नेपाल सम्वत ११४० र भाइटीका परेको छ ।
संस्कृतिविद् हरिराम जोशीका अनुसार तिथिलाई लहरै उल्लेख गर्नुको साटो टुटाएर राख्दा व्यावहारिक पक्षमा समेत धक्का पर्न जाने र यसपालिको तिहारमा पनि यस्तै भएको संस्कृतिविद् जोशी बताउँछन् । “यमपञ्चक भनेकै पाँच दिन मनाउने पर्व हो। घडी र पला हेरेर समितिले तिहारलाई चार दिनमा समेटेको छ।” जोशी भन्छन्, “मौलिक पर्वहरूमा सिद्धान्तभन्दा व्यावहारिक पक्ष हेर्नुपर्छ ।” पञ्चांग समितिले सिद्धान्तलाई मात्र महत्व दिँदा व्यावहारिक पक्ष गडबड हुन पुगेको जोशीको भनाइ छ।
पात्रोमा औंसीका दिन म्हःपूजा राखिएको छ। पात्रोमा उल्लेख गरिएका तिथि नेवार समुदायले मनाउने स्वन्ति पर्वसँग मेल खाँदैन। जबकि नेवार समुदाय कछलाथ्व प्रतिपदाका दिन बिहान ‘न्हु दँ’ को रूपमा नेपाल सम्वत मनाउँछन् भने साँझ आत्मपूजा गर्ने भन्दै म्हःपूजा गर्छन्।
नेवार समुदायको व्यावहारिक र सांस्कृतिक पक्षलाई हेर्ने हो भने पात्रोमा उल्लेखित ११ गतेको म्हःपूजा १२ गते मंगलबार मनाउनु पर्ने हुन्छ। पात्रोअनुसार तिहार मनाउन कठिन भएपछि नेवारहरूको प्रतिनिधिमूलक संस्था नेपालभाषा मंकाः खलले समितिबाट प्रकाशित पात्रोका आधारमा तिहार नमनाइ नेवारी परम्पराअनुसार ‘स्वन्ति’ मनाउन स्थानीयलाई आह्वान गरेको छ।
मंकाः खलका सचिव नरेशवीर शाक्यले भने, ‘यसपालि औंसीका दिन म्हःपूजा छ। इतिहासमा यस्तो कहिल्यै भएको थिएन।’ ११ गते म्हःपूजा राख्दा नेपाल संवत ११३९ मै दुई पटक म्हःपूजा हुन जानुले पात्रोमै गल्ती भएको उनको ठम्याइ छ।

यता नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले भने पात्रो बनाउँदा व्यावहारिक पक्ष नभइ शास्त्रलाई नै मान्नु पर्ने बताएका छन्। आफूहरुले पात्रो बनाउँदा नेवार समुदायकै प्रतिनिधि सदस्यहरू राखेर पात्र बनाएको र त्यतिबेला नेवार समुदायको पनि सहमति रहेको उनको दाबी छ ।

पात्रोमा विवाद निस्किएपछि नेवार समुदायले यस वर्षको भाइटीका १२ गते नभएर १३ गते बुधबार मात्र मनाउने निर्णय गरेका छन्। नेवार समुदायले यस वर्षको तिहारमा १० गते भनिएको लक्ष्मी पूजा ११ गते मनाउने छन्। र १२ गते नेपाल सम्वत् र म्हपूःजा मनाउने भएका छन्।

साथै पात्रोको विवाद समाधान गर्न एवं १३ गते नेवार समुदायलाई सार्वजनिक बिदा दिन जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध गरेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित