धर्ती र आकाश (कविता)

केवि चौधरी

धर्ती र आकाश
दुइटा संसार
बेग्लै सपना दुबैको,
जोडिएका छन
केबल तिनै
इन्द्रेणी रंगहरुले
जुनि जुनिको
कसम खाएर ।

समयको दिलमा बसि
सेल्फी खिच्दै
आकार खोज्दैछन
दुबैजना,
निराकार र तरल
मन बोकेर
उनै सपनाको इन्द्रेणीहरुमा।

एक निमेषको
रंगिन सोंचले
जिन्दगी रंगहिन हुंदा,
फेरिपनि उनै
इन्द्रेणी रंगले
बास मागेकै छ
धर्तीमा,
आकाश उसैगरि
छोपेर धर्ति
सपनाको खेती गरेकै छ ।

सपनाहरु
कहिले राता देखिन्छन
कहिले पहेंलो
र हरियो पनि,
उस्तै धर्ती र आकाश
अबिछिन्न आम्ने साम्ने ,
जोडीन्छन त केबल
इन्द्रेणी रंगहरुले
जुनि जुनिको
कसम खाएर ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित