जग्गाधनी पुर्जा पाएपछि सुकुम्बासीका आँखामा खुशीका आँसु

“अब आफ्नै जग्गाको मालिक भयौँ’ भन्दै लालपुर्जा हातमा लिएर खुसीका आँसु पुछ्दै हुनुहुन्थ्यो गढवा गाउँपालिका–३, गोबरडिहाका मङ्गलप्रसाद कुमाल । झन्डै दुई दशकदेखि ऐलानी जग्गामा बस्दै आएका उहाँले शनिबार आफू बसोबास गर्दै आएको जग्गाकै लालपुर्जा पाएपछि खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जिन्दगीमा जग्गा पाउँछु जस्तो लागेको थिएन । आज जग्गाधनी लालपुर्जा पाउँदा सपना जस्तै लागिरहेको छ ।” २०६० सालदेखि ऐलानी जग्गामा बस्दै आएका कुमालका नाममा एक धुर पनि जग्गा थिएन ।

मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्दै आएका उहाँले अहिले एक कट्ठा १९ धुर जग्गाको जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्नुभएको छ । बर्सौंदेखि भोगचलन गर्दै आएको जग्गा आफ्नै नाममा भएपछि उहाँको परिवारमा खुसी छाएको छ । सोही ठाउँकी आशा परियारले पनि आफू बसोबास गर्दै आएको जग्गाको लालपुर्जा प्राप्त गर्नुभयो । पटक पटक जग्गाको नापजाँच भए पनि पुर्जा पाउन नसकेको उहाँले यस पटक प्रमाणपुर्जा पाएपछि खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “यसअघि पटक पटक नापजाँच भए पनि जग्गा पाउन सकेकी थिइनँ । आज आफ्नै नाममा जग्गाधनी पुर्जा पाउँदा धेरै खुसी लागेको छ ।” शनिबार गढवा गाउँपालिका–३, गोबरडिहाका पाँच र लमही नगरपालिकाका दुई गरी सात भूमिहीन तथा सुकुमवासी परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । गोबरडिहाका आशा परियारले १० धुर, चैती चौधरीले १७ धुर, मङ्गलप्रसाद कुमालले एक कट्ठा १९ धुर, लक्ष्मनिया कुमालले एक कट्ठा १७ धुर र लौटन चौधरीले १९ धुर जग्गाको लालपुर्जा प्राप्त गर्नुभएको छ ।

त्यस्तै लमही नगरपालिका–३ का शारदा दमाईंले साढे ११ धुर र कृष्णा सिँजालीले पाँच धुर जग्गाको प्रमाणपुर्जा प्राप्त गरेको भूमिहीन तथा सुकुमवासीका क्षेत्रमा काम गर्दै आएको सिएसआसी संस्थाका संयोजन सहजकर्ता सुनील चौधरी जानकारी दिनुभयो । उहाँका अनुसार बर्सौंदेखि बसोबास गर्दै आएको जग्गाकै जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो । गढवा गाउँपालिका–३, गोबरडिहाका पाँच र लमही नगरपालिकाका दुई परिवारलाई गरी सात परिवारलाई जग्गाको स्वामित्व प्रदान गरिएको उहाँले बताउनुभयो ।

जिल्लामा भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने क्रम जारी छ । यसअघि लमही नगरपालिकाका २३ र गढवा गाउँपालिकाका नौ घरपरिवारले प्रमाणपुर्जा प्राप्त गरिसकेका थिए । पछिल्लो पटक सात परिवारलाई पुर्जा वितरण भएसँगै जिल्लामा प्रमाणपुर्जा पाउने परिवारको सङ्ख्या ३९ पुगेको छ । यसअघि दाङ जिल्लामा छ हजार ४०२ भूमिहीन दलित, १० हजार ७८० भूमिहीन सुकुमवासी र ५२ हजार ३४ अव्यवस्थित बसोबासीसम्बन्धी निवेदन सङ्कलन भएको थियो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित