नविन चौधरी
लहान, १९ जेठ । सखुवानान्कारकट्टी गाउँपालिका–२ निवासी बिमला चौधरीलाई खेतीपातीबाहेक अन्य सीपमूलक काममा संलग्न हुने अवसर कहिल्यै मिलेको थिएन । घरायसी खर्च व्यवस्थापनका लागि खेतीपातीमै निर्भर रहनुपर्ने बाध्यता उहाँको थियो । त्यस्तै, लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी सरस्वती सिंहको दैनिकी पनि खेतीपाती, बाख्रा र गाईभैंसीको स्याहारसुसारमै बित्ने गरेको छ । हातमा कुनै सीप नहुँदा आयआर्जनका वैकल्पिक अवसरबाट उहाँहरू टाढा हुनुहुन्थ्यो ।

तर, अहिले भने यी दुवै जना अचार बनाउने सीपमूलक तालिममा सहभागी भएपछि उत्साहित देखिनुभएको छ । जेठ १८ गतेदेखि सुरु भएको तीनदिने तालिममा सहभागी उहाँहरू स्थानीय उत्पादनमा आधारित अचार निर्माण गरी आत्मनिर्भर बन्न सकिने विश्वास व्यक्त गर्नुहुन्छ । उहाँहरूजस्तै सखुवानान्कारकट्टी गाउँपालिकाका १० जना र लक्ष्मीपुर पतारी गाउँपालिकाका २५ जना गरी ३५ जना ग्रामीण महिला तालिममा सहभागी छन् । लक्ष्मीपुर पतारी गाउँपालिका–१ की सङ्गीता सरदार पनि अचार बनाउने सीप सिकेपछि आत्मनिर्भर बन्ने विश्वास बढेको बताउनुहुन्छ । “आफ्नो कमाइ नहुँदा परिवार र समाजमा पनि आत्मविश्वास कम हुने रहेछ,” उहाँले भन्नुभयो, “अब विभिन्न प्रकारका अचार बनाएर आम्दानी गर्ने योजना बनाएकी छु ।”
तालिममा सहभागी महिलाहरूले स्थानीय उत्पादनमा आधारित अचार निर्माण गरी आर्थिक रूपमा सक्षम बन्न सकिने अपेक्षा गरेका छन् । तालिममा टमाटर, करेला र आँपका विभिन्न प्रकारका अचार बनाउने सीप सिकाइँदै छ । विशेषगरी आँपको सिजन भएकाले आँपको अचारको बजार माग राम्रो रहेको सहभागीहरूले बताएका छन् । तालिमका प्रशिक्षक तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका खाद्य अनुसन्धान अधिकृत सञ्जय खड्काका अनुसार तालिममा अचार उत्पादन, प्रशोधन, सरसफाइ तथा गुणस्तर व्यवस्थापन, प्याकेजिङ, ब्रान्डिङ र बजारीकरणसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिँदै छ । उहाँले अभ्यासमूलक सिकाइमार्फत महिलाहरूको क्षमता अभिवृद्धि भइरहेको बताउनुभयो ।
उहाँका अनुसार व्यवसाय दर्ता, साना उद्यम सञ्चालन तथा कानुनी प्रक्रियासम्बन्धी जानकारी पनि तालिममा समावेश गरिएको छ । ग्रामीण महिलाका लागि आर्थिक सशक्तीकरण परियोजनाअन्तर्गत सप्रोस नेपालले सिराहा जिल्लाको लहानमा तीनदिने अचार बनाउने तालिम आयोजना गरेको हो । महिलाहरूको सीप विकास गरी सामाजिक तथा आर्थिक सशक्तीकरणमा योगदान पुर्याउने र आर्थिक निर्णय प्रक्रियामा उनीहरूको सहभागिता बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको सप्रोस नेपालका कार्यक्रम फोकल पर्सन विजय कार्कीले बताउनुभयो ।
कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) तथा ग्रामीण महिलाका लागि आर्थिक सशक्तीकरण परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक त्रिभुवन पौडेलले परियोजनामार्फत नवप्रवर्तनशील व्यवसायिक सिकाइ पद्धति लागू गरिएको जानकारी दिनुभयो । “यस परियोजनामार्फत महिलाहरूलाई नवप्रवर्तनशील व्यवसाय विकास, उद्यमशीलता प्रवर्द्धन तथा बढी नाफामुखी व्यवसाय सञ्चालनका उपायबारे सिकाइरहेका छौँ,” उहाँले भन्नुभयो । परियोजनाअन्तर्गत गठन गरिएका महिला समूहहरूलाई वित्तीय साक्षरता, लैङ्गिक कार्य सिकाइ पद्धति, वित्तीय व्यवस्थापन, आयआर्जन, आर्थिक निर्णय प्रक्रियामा सहभागिता, नेतृत्व विकासलगायतका विषयमा पनि क्षमता विकासका कार्यक्रम सञ्चालन भइरहेको सामाजिक–आर्थिक सुपरभाइजर सुनिता थापा मगरले बताउनुभयो ।


