चूर्णबहादुर चौधरी
१. परिचय:
आइतवारको दिन मनाइने पर्वलाई थारु आदीवासीहरूले यो पर्वको नाम अट्वारी राखेको हो । आइत् +वार = आइतवार अर्थात थारुहरूको आफ्नो मौलिक नाम आइतवारलाई “अट्वार” (अट् + वार (अट्वार) पनि भनिन्छ । वोलीचाली र लवज मिलाउदा “अट्वारी” हुन गएको होे । विशेषगरी “अट्वारी” पर्वलाई पश्चिम नेपालको नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली, कंचनपुर र सुर्खेत जिल्लामा वसोवास गर्ने थारुहरूले धुमधामसँग मनाउने चलन रहेको छ । यो पर्वको ऐतिहासिक, धार्मिक र सामाजिक पक्षले महत्वपूर्ण मानिन्छ । चेलीवेटी र दाजुभाइहरू विच माया, स्नेह, सद्भाव कायम गरेर जुग जुग सम्म भाइचारा र भातृत्व स्थापित गरी इष्टमित्रहरू बिच बलियो सम्बन्धको डोरीले बाध्ने पर्व हो ‘अट्वारी’ ।
२. अट्वारी पर्व मनाउने कहिले देखी शुरु भयो ?
यो पर्व कहिले देखी शुरु भयो भन्ने र कसले शुरु गर्यो ? भन्ने सम्बन्धमा थारु संस्कृत विद तथा इतिहासकारहरूको आ–आफ्नो भनाइ रहेको छ । अट्वारी पर्व थारु आदीवासीहरूले पाँचौ र छैठौ सताब्दीवाट नै शुरु गरेको वलियो मत छ । यो पर्व मुख्य गरी भाद्र महिनामा पर्ने गर्दछ । अट्वारी पर्व विशेषतः कुशे औंसी (कुश अमांवस) पछिको पहिलो आइतवार को दिन मनाउने गरिन्छ । यो अत्वारी पर्व अधिकांश वर्षमा श्री कृष्ण जन्मास्तमीको दोस्रो आइतवार पर्ने भएकोले थारुहरुले अत्वारीलाई सोही अनुसार सम्झने र मनाउने गर्दछन् ।
कुनै कुनै साल या वर्षमा पित्तरपक्ष, मलमास या समय अनुकूल नभए (गाउँमा हैजा लगायत, रोग व्याध, भूकम्प, वाढी पहिरो) मा समय हेरेर अट्वारी पर्व मान्ने चलन पनि छ । खासमा थारुहरूको शुभदिन हेर्नलाई अजरीया र अधरीया को आधारमा शुभ सायत हेर्ने आदीम र मौलिक अभ्यास तथा चलन रहेको पाइन्छ । हाम्रो पूर्खाहरूले विशेष गरी शुभकार्य अजरिया शुरु भएपछि वा अजरियामा सम्पन्न गर्ने गर्दछन् ।
अट्वारी पर्वमा विशेषगरी पुरुषहरूले दिनभरी निराहार भोकै वसेर (व्रत वसेर) मनाउने गर्दछन् । तर पनि स्व – इच्छाले महिलाहरूले पनि व्रत वसेर यो पर्वमा उल्लेख्य सहभागिता जनाएको पाइन्छ । अट्वारी पर्वको सम्बन्धमा ऐतिहासिक, धार्मिक र सामाजिक तथा सांस्कृतिक पक्षवाट यसको गरिमा र महत्वलाई दर्शाउन सकिन्छ ।
क) ऐतिहासिक पक्ष:
अट्वारी पर्व मनाउने शुरुवात को वारेमा ऐतिहासिक घटना को रुपमा थारु राजा देङ्गीशरण र पाँच पाण्डवहरूको माइला भाई भिम (भेंवा) सँग सम्बन्धित रहेको छ । अजरिया अर्थात चन्द्रमा देखा पर्ने समयमा शुभकार्य को थालनी हुने गर्दछ । यसरी अट्वारी पर्वको पुजा अर्थात भेंवा (भिम) को पुजा भाद्र महिना वा कुशे औंसी पछिको पहिलो आइतवार चन्द्रमा देखापरेपछि निराहार व्रत वसेर भिम प्रति आस्था भाव, गरेर पुजा गर्दछन् । पाँचौ-छैठौँ सताब्दी तिर थारु राजा देङ्गीशरण ले दाङ जिल्लाको सुकौरा कोट (हालको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौरा गाउँ) मा रहेर शासन गरेको इतिहास पाइन्छ । (राष्ट्रिय पूरातत्व विभाग को तेस्रो उत्खनन् कार्य २०८३ वैशाख) ।
थारु राजा दंङ्गीशरण निकै शक्तिशाली थिए । महाभारत मा पाँच पाण्डवहरू र दंङ्गीशरण राजा सँग लामो समय देखी निकै घनिष्ठ सम्बन्ध रहेको थियो । यसै क्रममा पाँच पाण्डव र द्रोपदी सवै जना सुर्खेतको काँक्रे विहार मा आएर बसेका थिए । त्यसै समयमा दाङ सुकौराको थारु राजा दंङ्गीशरण राज्यमा सत्रुहरूले आक्रमण गर्ने योजना भयो । थारु राजा दंङ्गीशरण ले आफ्नो दरवारमा सत्रुहरूले आक्रमण गर्न लागेको थाहा पाउने वित्तिकै पाँच पाण्डवहरूलाई गुहार मागेका थिए । पाँच पाण्डवका माहिला भाई भिम (भेंवा) भान्सामा तल्लीन थिए । भिमले भान्सामा रोटी (भौंरी) पकाउदा पकाउदै रोटी छोडेर नखाएर त्यत्तिकै थारु राजा दंङ्गीशरण लाई साथ दिन हतियार सहित युद्धमा गए ।
युद्धमा सत्रु पक्षलाई हराएर पुनः आफू वसेको स्थान काँक्रे विहारमा फर्के । यसरी भोकै पियासै भए पनि भिमले जिउ ज्यान दिएर थारु राजा दंङ्गीशरणलाई जिताएर युद्धमा वचाए । थारु राजा दंङ्गीशरणको पक्षमा लडाई लडि विजय हासील गरेकोले थारु जातीमा भिम ज्यादै पुज्य र सम्मानित व्यक्तित्व मानिन्छन् । युद्धमा जाँदा भिम (भेंवा) ले तावामा रोटी पकाउन राखेको रोटी नजलेर एकातिर मात्र पाकिरहेको हुन्छ र त्यहि रोटी भिम युद्धबाट फर्केर आएर पाँचै भाइ र द्रोपदी ले वाडेर खान्छन् । यो युद्ध पनि आइतवार कै दिन रहन गएको जन विश्वास छ । त्यसैले यसै दिनको सम्झनामा भेवाँ (भिम) र थारु राजा दंङ्गीशरण को विचको आगाढ सम्बन्ध र विजयी उत्सवको अवसर र सम्मानमा थारुहरूले अट्वारी मनाउन थालेका हुन् (दहित, गोपाल २०६२)।
त्यसैले अट्वारी पर्वमा व्रतालुहरूले दिउसो रोटी पकाउँदा भिम (भेंवा) को नाममा एउटा ठूलो एक कर (एका तिरबाट मात्र) रोटी शुरुमा पकाएर अलग्ग चोखो हिसावले राख्ने गरिन्छ । पुजाको शुरुमा भिम (भेंवा) को नाममा पुजन अथवा चढाउने चलन छ । जून रोटीलाई “भेंवा” भन्ने गरिन्छ । यसरी भिम (भेंवा) वलियो पुरुष भएकोले उनी जस्तै वलियो पुरुष हुने संकल्पका साथ थारुहरू उनकै पुजन गरेर अट्वारी व्रत वसेर मनाउने थारु समुदायमा विश्वास छ ।
ख) धार्मिक पक्ष:
अट्वारी पर्वको वारेमा केहि धार्मिक पक्ष वाट पनि व्याख्या र आस्था राखेको पाइन्छ । श्रीमद् भागवद पुरान अनुसार यो व्रत सबभन्दा पहिले सन्तनु राजाका पुत्र राज कुमार देवदत्त अट्वारी व्रत वसेको उल्लेख छ । राज कुमार देवदत्त सुर्य उपासक थिए । राज कुमार देवदत्तहरू चार भाइ थिए, ष्० देवदत्त, ष्ष्० भिष्मपितामह, ष्ष्ष्० पाण्डु, ष्ख० विदुर । राज कुमार देवदत्त अविवाहति थिए । भिष्म पितामह दृष्टिविहिन थिए । पाण्डु कुष्ठ रोगी (पाण्डा) थिए । त्यसैले उनलाइ पाण्डु भनिएको हो । सुर्यको पुजन गरेपछि पाण्डुको रोग निको भयो । धार्मिक दृष्टिले सुर्य पुजा (अर्थात अग्नी पूजा) गरेपछि कुष्ठ रोग निको हुन्छ भन्ने प्राचिण सोच र धारणा रहेको पाइन्छ । यसरी व्रत वस्ने कार्य पहिले राज कुमार देवदत्तले शुरु गरे । पाण्डु, कुन्ती, भाद्री, कर्ण, भिम लगायत ले सुर्यको पुजा गरेर श्रीमद् भागवत मा सुनाए । त्यसपछि देवताहरू सुर्यको पुजा गर्न थाले । यसै क्रममा ठूला ठूला ऋषिमूनीहरूले पनि सुर्यको उपासक को रूपमा सुर्यको जन्मदिन आइतवार लाई ‘अट्वारी’ व्रत वसेर मनाउन थाले (छविलाल कोपिला, २०७९) ।
ग) सामाजिक पक्ष अथवा प्राचीन अभ्यास:
थारु आदीवासीहरूको जीवनशैली, विभिन्न पुजा पाठ सँग सम्बन्धित, सामग्रीहरू, मान्ने देवताहरू श्रृष्टि र प्रकृति सँग सम्बन्धित रहेको पाइन्छ । त्यसैले थारुहरू प्रकृति पुजक को रुपमा रहेको पाइन्छ । प्रकृति पुजकको रुपमा रहेको थारु समुदाय ‘अट्वारी’ पर्व लाई सुर्यको पुजा गरेर मनाउने गरेको पाइन्छ । सुर्य लाई उज्यालो, अग्नी, शक्ति (उर्जा) को प्रतिक को रुपमा मानिन्छ । सुर्यलाई रवि को उपनामले पनि चिनिन्छ । त्यसैले रवि भनेको सुर्य (सुरज) अथवा अग्नी हो । श्रृष्टि या भयावह कालरात्री लाई चिरेर सुर्यको उदय भएपछि यो संसार उज्यालो भएको किम्वदन्ती छ । सुर्यले अध्यारो लाई चिरेर उज्यालो वनाउँछ, जसले मानव मात्र नभएर पृथ्वीमा रहने हरेक जीव जन्तुलाई सरल जीवन वनाउँछ । प्रकृति पुजक थारु समुदाय ले सुर्यको पुजा उज्यालो दाताको रुपमा आस्था र विश्वास राखेर पुजा गर्दछन् । आइतवारलाई रविवार पनि भनिन्छ ।
३. अट्वारी पुजाको तयारी प्रक्रिया:
क) अट्वारी पर्वको पूर्व तयारी:
– चोखो तोरीको तेलः–
अट्वारी पर्व नजिक भयो भने अट्वारी पर्वको लागि थारुहरूले तयारी शुरु गरेको पाइन्छ । विशेषः महिलाहरूले चोखो तोरीको तेल कोल (काठको तेल पेल्ने मेशिन) मा गएर पेल्ने गर्दथे । कोलमा पेलेको तेल चोखो मानिन्छ तर आजभोली कोलको मेशिन प्रचलनमा नभएकोले कोलमा तेल पेल्ने चलन पूर्ण रुपमा हराएको छ । आजभोली गाउ गाउँमा आधुनिक मिलहरू को उपलब्धताले महिला अथवा पुरुषहरूले मिल मा गएर चोखो तोरीको तेल पेलाउने गर्दछन् ।
– चोखो चामलको पिठोः–
पुजाको लागि अट्वारीमा घरमा ढिकि वाट कुटेर चोखो चामलको पिठो तयार गर्ने गर्दछन् तर आजभोली ढिकी कुट्ने चलन पनि लगभग हराउँदै गएको छ । ढिकी बाट तयार भएको चामलको पिठो चोखो मानिन्छ । त्यसैले अट्वारीको लागि थारु महिला तथा पुरुषहरूले मिल मा गएर पिठो पिसाउन जाने गर्दछन् ।
– अट्वारीमा फलफूल, दूध, दहि र ध्यूको व्यवस्था:
अट्वारीको लागि विशेषतः केराको महत्व धेरै हुने गर्दछ । त्यसैले अट्वारी पर्वको दिनलाई ख्याल गरेर केहि दिन अगाडी नै थारु आदीवासी ज्ञान र सिप अनुसार केरालाई वोरामा वाधेर डेह्री अथवा जब्रा (माटोको भखारी) मा राखेर पकाउने चलन छ । वेलौटी (अम्रुट) लाई अट्वारी को लागि साचेर रुखमा नै संरक्षण गर्ने गर्दछन् । वारीमा खिरा पनि संरक्षण गरेर राखेको पाइन्छ । दुध र दहि को लागि गाउँमा भैसी अथवा गाइ पालकहरू सँग पहिले आफ्नो घरलाई चाहिने जति रखाउने (रोक्ने) गर्दछन् । कसै–कसैले पाहुरको रुपमा दिनलाई ध्यूमा रोटी पकाउन लाई ध्यू पनि व्यवस्था गरेको पाइन्छ । तर आजभोली केरा, खिरा, वेलौटी, दुध, दहि, ध्यू इत्यादी वस्तु वजार वाट नै किनेर लैजाने गर्दछन् । त्यसैगरी अट्वारीको भिनसर्या (दर) को लागि माछा मार्ने, घोंघी संकलन गर्ने गर्दछन् ।
भिनसर्या खाना (दर) खानेः–
अट्वारी पर्वमा दिनभरी निराहार व्रत वस्नु पर्ने भएकोले अट्वारी पर्वको अघिल्लो रात अर्थात भाले नबास्दै भिनसर्या खाना (दर) खाने गरिन्छ । दरको लागि आ–आफ्नो घरको गच्छे अनुसार खानको परिकारहरू वनाउने गरिन्छ । जस्तैः ध्यू को वासनादार भात, खिर, माछा, घोंघी, साँग सब्जी, दुध, दहि, इत्यादीको परिकारहरू वनाउने चलन छ । आजभोली मासुको व्यवस्था पनि गर्दछन् । भिनसर्या खाना (दर) तयार गर्ने व्यक्तिले सकभर स्नान गरेर भिनसर्या खाना तयार गर्ने चलन पनि छ । यसका साथै भिनसर्या भात (दर) खानेहरूले पनि स्नान गर्ने गर्दछन् । प्रायगरी पुरुषहरूले यो ब्रत वस्ने हुनाले भिनसर्या खाना (दर) पुरुषहरूले नै तयार गर्ने मौलिक चलन हो । तर पनि आजभोली महिलाहरू पनि व्रत वस्ने हुनाले खानाको तयार र अट्वारी पुजाको सामानको तयारी महिलाहरूले पनि व्यवस्थापन र पुजन कार्यमा संलग्न भएको पाइन्छ । भिनसर्या खाना (दर) खाने समय भाले वास सँगै समाप्त हुन्छ र दिनभरी ब्रत वस्ने कार्य सुभारंभ हुन्छ ।
ख) निराहार व्रत वसेको साझ अट्वारी पुजाको तयारीः–
अट्वारी व्रतको दिन साझको पूजाको लागि तयारी शुरु हुन्छ । ठुलो परिवार भएको घरको व्रतालुहरूले कामको विभाजन गरेको पाइन्छ । कुनै सदस्यहरूले खेतीपाती, घासपात, लालावाला हेर्ने गर्दछन् । कुनै व्रतालुहरूले रुख वा वारीमा फलेको फलफूलहरू संकलन गर्ने गर्दछन् । फलफूलहरू संकभर भेट्नी सहितको राख्ने चलन छ । आफ्नो घरवारीमा फलफूल नहुनेहरू वजार वाट किनेर ल्याउने गर्दछन् । फलफूल, दुध, दहिलाई गोवर ले लिपेको ठाउमा राम्रो सँग व्यवस्थीत गर्दै सफा भाँडामा राख्ने चलन छ । व्रतालुहरूले रोटीको लागि घरको ढिंकीमा वा गाउँमा छिमेकिको घरमा रहेको ढिंकीमा चोखो पिठो कुटेर तयार गर्ने गर्दछन् । ढिंकिमा कुटेको चामलको चोखो पिठो तयार भएपछि घरको वहरी (वैठक) मा या घरको एकातिरको कुनाको क्षेत्रलाई गाइको गोवरले सफा सँग लिपपोत गर्ने गरिन्छ । सोही लिपेको ठाउँमा चोखो रोटी पकाउन चुलोको व्यवस्था गरिन्छ । अट्वारी पर्वमा रोटी पकाउन चोखो आगो चाहिने हुनाले चोखो आगो गन्यारी र फोर्सा काठको घर्षण द्वारा आगो निकाल्ने गरिन्छ । चोखो आगो गाउका घरधुर्याहरू एकठाउमा जम्मा भएर निकाल्ने गर्दछन् र सोहि चोखो आगोलाई सवैघरहरूमा लैजाने गर्दछन् । पूरानो आगो अट्वारीमा अपवित्र मानिन्छ ।
ग) चोखो रोटी पकाउने व्यवस्था:-
अट्वारीको पुजाको लागि चोखो रोटी पकाउनलाई मूल पुजारी ले गंगाजल, खोला वा पानी पढेरो मा स्नान गर्नु पर्दछ । स्नान गरेर आउँदा वेलामा चोखो पानी, पानीले सफा गरेर हसिया ल्याएर लिपपोत गरेको ठाउमा सुरक्षित साथ राखिन्छ । रोटी पकाउने चोखो ठाउमा व्रतालु वाहेक अन्यलाई जान वा छुन मनाहि हुन्छ । अन्य व्रतालुहरू पनि स्नान गरेर मात्र चोखो स्थानमा प्रवेश गर्नुपर्छ । मूल व्रतालु ले सर्वप्रथम तावामा एउटा ठूलो रोटी वनाएर एक कर (अर्थात एकातिर वाट मात्र) पकाउनु पर्छ र सो रोटी लाई भेंवा (भिम) को नाममा अलग्गै छुट्याएर राख्नु पर्छ । पुँजाको शुरुमा नै भेंवालाई छुट्याएको रोटीलाई चूलोको आगोमा चढाउने (हवन) गरिन्छ । यसैगरी अट्वारी पर्वमा विभिन्न थरिका रोटीहरू पकाउने गरिन्छ । जस्तैः चामलको रोटी, अनदि चामलको रोटी, गहुको रोटी इत्यादी । अट्वारी पुजामा आवश्यक चाहिने मात्रामा रोटीको परिकारहरू तयार भइसकेपछि पुजाको लागि प्रक्रिया शुरु हुन्छ । रोटी पकाउने कामलाई पुजाको वेला स्थकित गरिन्छ ।
पुजाको स्थानमा सवै व्रतालुहरू लाइनमा अथवा गोलो घेरामा व्यवस्थित तरिकाले वस्ने गरिन्छ । व्रतालुहरूको संख्याको आधारमा रोटीको परिकार फलफूल तथा दुध दहिहरू लाई सोही वमोजीम भाग लगाउनु पर्दछ र थप एक भाग अलग्गै राख्नुपर्छ । त्यसपछि प्रत्येक व्रतालुले आ–आफ्नो लागि छुट्याएर राखेको खाने वस्तुको भागवाट अर्को अलग भाग अर्को टपरी र दुनामा छुट्याउनु पर्छ । यसरी छुट्याएको भागलाई अग्रासन भनिन्छ । यो अग्रासन भाग अलग रुपमा राख्ने चलन छ । अग्रासन छुट्याइ सकेपछि पुजाको लागि तयार भएको सवै परिकार वाट सानो सानो मात्रामा परिकार लिएर पूजा स्थानमा रहेको आगोमा चढाउने गर्नुपर्छ । यसरी आगोमा चढाउने कार्यलाई अग्यारी दिएको भन्ने गरिन्छ । त्यसपछि सुगन्धित धुप वा ध्यूले आगोमा राखेर धुपाउनु पर्छ ।
त्यसपछि गंगाजलवाट ल्याएको वेलाको चोखो जलले मूल व्रतालु पुजारीवाट पर्छिदै दुइ हात जोडेर उक्त दिनको पुजा समापन गर्ने गरिन्छ र सोहि दिनको लागि तयार भएको रोटी, फलफूल, दुध, दहि जिउनार गर्ने गरिन्छ । भात, नुन, तरकारी खान भने वर्जित नै हुन्छ । यो दिनको पुजा कार्य साझ वा सन्ध्या को समय अर्थात सुर्यास्त हुने हुने वेला सम्पन्न हुन्छ । पुजामा तयार भएको खाने पकवान, फलफूल र दुध, दहि घर परिवारको अन्य सदस्यहरूलाई पनि उपलब्ध गर्ने गरिन्छ । अट्वारी पर्वको पहिलो दिनको भेंवा लाई रोटी वाट पुजन गरी सके पश्चात व्रतालु र अन्य घर परिवार का सदस्यहरूले आफ्नो चेलीवेटीलाई छुट्याएको अग्रासन को साथमा थप पहुरा (पाहुर) को लागि रोटीहरू पकाउने कार्य साझ देखी आधा रात सम्म गर्ने गर्दछन् । यसका साथै भोलीपल्ट विहानको लागि चाहिने चामल, साग सब्जी, तरकारी, गेडा गुडिको पनि व्यवस्था गर्दछन् । पवैको साग र गेडागुडी अत्वारीमा पर्वमा महत्वपूर्ण हुन्छ ।
४. अट्वारीको फह्रार दिनः–
अट्वारीको दोश्रो दिन लाई फह्रार दिन भनिन्छ । पुजा हुनु अगाडी नखाएर व्रत वस्ने गरिन्छ । यो दिनमा विहान झुसमुस उठेर व्रतालु महिला र पुरुषहरूले चोखो भात, विजोडा संख्यामा तरकारीहरूको परिकार पकाउने गर्दछन् । जस्तैः ३ वटा, ५ वटा, ७ वटा तरकारी रहने गर्दछ । सकभर माछाको एउटा परिकार अनिवार्य जस्तै हुन्छ । यसरी खानाको सवै परिकारहरू तयार भयो भने सवै व्रतालुहरू गंगाजल, खोला वा पानी पढेरोमा स्नान गर्न जाने गर्दछन् । स्नान गर्न जाँदा अगवा व्रतालुले कासको वेलामा चोखो जल ल्याउनुपर्ने हुन्छ ।
व्रतालुहरू गंगाजल, खोला, पानी पढेरो वाट स्नान गरेर घर मा आएर एउटा कुन्टी वा कोठामा व्यवस्थीत तवरले वस्ने गर्दछन् । त्यसपछि फह्रार काहार्ने सवै परिकारहरू प्रत्येकको लागि अलग अलग थालमा भात र सानो सानो दुनीमा तरकारी राख्ने गर्नुपर्छ । प्रत्येकलाई छुट्याएको भात र तरकारीहरू क्रमशः प्रत्येकले आफ्नो भाग वाट छुट्टै टपरी र दुनाहरूमा आफ्नो चेलीवेटीहरूको लागि भाग छुट्याएनु पर्छ । व्रतालु सवैले भाग छुट्याई सकेपछि अगवा व्रतालुले चोखो भात र तरकारी को परिकारहरू थोरै थोरै निकालेर गाइको ध्यू मिलाएर अग्यारी बनाउँछन् र आगोमा चढाउछन् । यसै क्रममा देवीदेवता सँग शुभ आशिष÷वर माग्ने पनि गरिन्छ ।
यसरी आगोमा चढाएर धुप वाट सुगन्धीत गरेपछि स्नान गर्न गएको समयमा काँसको वेलामा ल्याएको चोखो जललाई दुइ हातको अंजूली ले पर्छिने चलन छ । अनि मात्र सबै व्रतालुले अन्न खाना जिउनार गर्ने गर्दछन् । यसरी दोश्रो दिनमा फह्रारको दिन अन्न जिउनार गरिसकेपछि आ–आफ्नो चेलीवेटीहरूलाई पहिलो दिन निराहार व्रत वसेको दिनको रोटी, फलफूलहरू र दोश्रो दिन फह्रारको चोखो भात र तरकारी अग्रासनको रुपमा दिन जाने गरिन्छ । अग्रासन भनेको आफूले जिउनारगर्न भन्दा अगाडीको गास हो । त्यसलाई चेलीवेटीको लागि छुट्याएर राखीन्छ । अट्वारीमा चेलीवेटीहरूले आफ्नो माइति वाट दाजूभाइ अथवा वुवा – काकाहरूवाट अग्रासन को निकै आशा गरेका हुन्छन् र निकै महत्वको साथ प्रतिरक्षारत हुन्छन् । त्यसैले पनि दाजुभाइहरू अग्रासन लाई ताजैको अवस्थामा आ–आफ्नो चेलीवेटी कहाँ पु¥याउनलाई आतुर हुन्छन् । चेलीवेटीहरूले पनि आफ्नो दाजु भाइहरूलाई सेवा सत्कार गर्न मिठो खानाको परिकारहरू तयार पारेको हुन्छन् । मिठो जाँडको झोल, मद (रक्सी) र अन्य पेय पदार्थ पनि व्यवस्था गरेको पाइन्छ ।
अग्रासन दिने चलन र चेलीवेटीहरूले आ–आफ्नो घरमा आफ्नो दाजुभाईहरूलाई गरेको मान मर्जात दाजुभाई र दिदीबहिनीहरू विचको आगाढ माया र स्नेह रहेको पाइन्छ । यसरी चेलीवेटीहरू विच, दाजुभाइहरू विच, माया, स्नेह, सदभाव कायम गर्दै जूगौ जूग सम्म भाइचारा र मातृत्व स्थापित गर्न र चेलीवेटी इष्टमित्रहरू विच प्रगाढ सम्बन्धको डोरीले वाधेर पुस्ता दरपुस्ता सम्म निरन्तरता दिने उच्चतम अभ्यास र चलनको रुपमा लिन सकिन्छ । धार्मिक पक्षसँग जोडिएको भिम (भेंवा) को बहादुरीको गाठा थारु महाकाव्य वर्किमार को जतिया पैधारमा पनि वर्णन गरेको पाइन्छ । उक्त श्लोकमा भिमको ठूलो दाजु धरम यूधिष्ठिरले यसरी भनेका छन्

सहिदेव देथु पण्डित विना हुइटु, भेंवा देथु वल विना हुइटु, मै जैठु र राजा भंग हो । मै जैठु र राजा भंग हो र राजा युधिष्ठर धरम से चलो पाँचो पण्डो राजा औतार । यसको भावार्थ– भेंवा (भिम) यति शक्तिशाली वलियो छ भन्ने वारेमा भिमको ठूलो दाजुले थाहा पाइ सकेका थिए र कुनै पनि घटना चाडपर्व सँग सम्बन्धित वा जुरेको हुन्छ । त्यसैले पाँच भाई पाण्डवहरु कौरवहरुसँग लड्न बडो होसियार हुनुपर्ने सरसल्लाह हुन्छ । राजा युधिष्ठीरलाई सुझबुझसँग निर्णय गर्न र पाँच भाईको एकता भइराख्न बाँचा गर्दछन् । त्यसैले भिमको शक्ति सौ भाइ गौरवहरूसँग जुरेको छ ।
कहानी यसरी शुरु हुन्छ
– दुरपत राजाको छोरी रानी दुरपती धेरै नै सुन्दर हुन्छ । सुन्दर दुरपती लाई देखेर सौ भाई कौरवहरू र रौनालाई लोभ लाग्दद्ध । थारु महाकाव्य ‘वर्किमार’ अनुसार दुर्षत राजाले भनेको चिज पाँच पाण्डवले मात्र पुरा गर्न सक्ने हुनाले पाँच पाण्डहरूले रानी दुर्वती लाई विवाह गर्दछन् । पाण्डवहरूले रानी दुर्पती लाई विवाह गरेको देखेर कौरवहरू लाई धेरै जलन हुन्छ । कौरवहरूले पाँच पाण्डवहरूलाई छाकवास उठीवास गराएर दुख दिने गर्दछन् । कौरवहरूले कपटी पासा खेलाएर पाँच पाण्डवहरूलाई हटाएर वनवास खेद्ने गर्छन् । वनवास मा पनि धेरै किसिमको दुख कष्ट दिने गर्दछन् ।
– यसैक्रममा भेंवा (भिम) लाई डानुका आहारा बनाउछन् तर डानलाई भेंवाले मारेर घर आउँछ ।
– राजा वैराथले हात्तिसँग वल्लोलाई अर्थात भिम सँग लडाइ दिन्छन् तर भेंवाले हात्तिलाई पनि मारेर घर आउँछ ।
– किचकालाई रानी दुर्पतीको बहा (हात) पक्राई दिन्छन् तर भिमले किचका लाई मारेर घर आउँछ ।
– त्यसैगरी दौनागीर राजाले लाखको घरमा पाँच पाण्डवहरूलाई हुलेर आगो लगाइ दिन्छ । तरपनि भेंवाले मानिक खुटा (खम्वा) उखेलेर आफ्ना दाजु भाइहरूलाई आगो लागेको घरवाटै वाहिर निकाल्छ । त्यसैले हाम्रा पूर्खाहरूले भेंवा (भिम) को यस्तो वल र शक्ति देखेर कुशे औशी पछिको चन्द्रमा (अजरिया रात) देखेपछि को प्रथम आइतवार को दिन भिम (भेंवा) को आस्था र सम्मान मा अट्वारी पर्वको व्रत वसेर पुजा गर्ने गरेको पाइन्छ ।
५. अट्वारीको अन्य चलन:-
अट्वारी पर्वमा एउटा आस्था र विश्वास पनि छ । यदि अट्वारी पर्वको दिनमा परिवारमा कुनै सदस्यको, लालावाला, मूर्गी चिङ्गना को मृत्यु भएमा जूठो व्रत मानिन्छ । त्यसपछि नचोखिदा सम्म व्रत वस्ने चलन हुदैन । यदि जूठो व्रत बसेमा सुर्य देवता, चन्द्र देवता, अग्नी देवता, पाँच पाण्डव देवताहरू वाट शुभफल पाउनु पर्ने अवसरमा अशुभफल पाउने मान्यता रहन्छ । त्यसैले अट्वारी व्रत कसरी खुलाउने ? बारे मा यसको आफ्नै अभ्यास र मान्यता छ । यसवारेमा वर्ष भरिको जूनकुनै आइतवार मा परिवारमा मनुस्य लगायत लालावालाले वच्चा जन्माएमा र मूर्गी चिङ्गनाले वच्चा निकाले भने व्रत खुलाउने चलन पनि छ ।
६. अट्वारी पर्वको विशेषताहरू:-
– अट्वारी पर्व भाद्र महिनाको कुशे औंशी अर्थात चन्द्रमा देखिएपछि (अजरिया) को पहिलो आइतवार मा निराहार व्रत वसेर मनाउने चलन छ । यो दिन भेंवा (भिम) ले युद्ध जितेको दिनको रुपमा लिइने गरिन्छ ।
– अट्वारी पर्वको ऐतिहासिक, धार्मिक, सामाजिक पक्षले महत्वपूर्ण मानिन्छ । अग्राशन दिन जाने चलनले चेलीवेटी र दाजुभाइहरू विचको माया, स्नेह, सदभाव कायम गर्दै जूग जूग सम्म भाइचारा र मातृत्व स्थापित गर्दै इष्टमित्रहरू विच बलियो सम्बन्धको डोरीले बाँध्ने पर्वको रुपमा चिनिन्छ अट्वारी पर्व ।
– यदि कुनै वर्ष वा सालमा पित्तरमास, मलमास वा गाउँमा सम्या, हैजा लगायत रोगब्याध, भूकम्प, वादी पहिरो भएमा समय हेरेर अट्वारी पर्व मान्ने चलन पनि छ । अर्थात् छोट्की अट्वारीको रुपमा अन्य आइतबारलाई पनि मान्न सकिन्छ ।
– अट्वारी पर्वमा भेंवा (भिम) लाई वल र शक्तिको प्रतिकको रुपमा स्मरण गर्दै आफू पनि भेंवा (भिम जस्तै) वल र शक्ति मिल्ने मनोकांक्षा का साथ निराहार व्रत बस्ने गरिन्छ ।
– आइतवारमा अट्वारी पर्व मनाइन्छ । आइतवारलाई रविवार पनि भनिन्छ । रवि भनेको सुर्य वा अग्नी हो । अट्वारीमा निराहार व्रत वसेर सुर्य वा अग्नीको पुजा गरेमा सम्पूर्ण रोगव्याधवाट मुक्त हुने आस्था र विश्वास छ ।
७. अत्वारी पर्वबारे चुनौति र युवाहरुको जिम्मेवारी:-
- अत्वारी पर्वको ऐतिहासिकता, धार्मिक र सामाजिक पक्षको आफ्नै मौलिकता रहेको छ । थारु जातिका पर्वहरुको तिथिमिथि तय हाम्रा पूर्खाहरुले अजरिया र अधरियाको गनना गरेर गर्ने गरेको अभ्यास र चलन छ । थारुहरुको प्रायजसो सबै पर्वको तिथि अजरियाबाट शुरु हुने गरेको पाइन्छ । तरपनि थारुहरुले आफ्नो पूर्खाहरुको अभ्यासलाई अनुसरण नगरेर गैर थारु समुदायको चाडपर्वको तिथिमिथिलाई अंगाल्दै जानु ठूलो चनौतीको रुपमा देखिन्छ । त्यसैले थारु बुढीजिवि तथा युवाहरुले आफ्नो पूर्खाहरुले चलाइको चलन, अभ्यास र मौलिकतालाई नै निरन्तरता दिन जरुरी देखिन्छ । अत्वारी पर्व भाद्र महिनाको कुशे औशिको अर्थात अजरियाको पहिलो आइतवार भेवा (भीम) ले युद्ध जितेको दिन रहे पनि अन्य तिथिबारे मत प्रकत गर्नु औचित्व हिन रहेको देखिन्छ ।
- अत्वारी पर्वलाई दाजुभाई तथा दिदि बहिनीहरुबिच भातृत्व प्रेमको रुपमा लिइन्छ । धरै समयको अन्तरालको भेटपछी दाजु र दिदि बहिनीहरुबिच एक आपसमा विश्वास तथा पारिवारीक सम्बन्ध बढ्ने गर्दछ । तर धेरै सम्मान र मर्जातको नाममा अत्याधिक मदीरा सेवन गर्ने र गराउने चलनले नकारात्मकतालाई वढावा दिन्छ । मदिराको अत्याधिक सेवनले बाटोमा झैझगडा हुने, पानीमा डुवेर मर्ने र सडक दुर्घटनासम्म हुने सम्भावना रहने गर्दछ ।
- आजभोली आधुनिकताको नाममा अत्वारी पर्वको मौलिक पक्षलाई बिर्सिएर तडक भडक गर्ने र घरमै उपलब्ध सरसामानको प्रयोग भन्दा बजारीया सामानको प्रयोगमा बढावा दिने गरेको पाइन्छ । यसका साथै युवा पिढीमा अत्वारी पर्वको महत्व र मौलिकता बारेमा जानकारी दिने, लिने र सिक्ने चासो देखिदैन । त्यसैले हाम्रो मौलिक पूजा, संस्कृतिमा ह्रास हुदै गएको पाइन्छ । अव युवाहरु स्वयं जागरुक भएर यस्तो मौलिक चाडपर्व र संकृतिलाई मौलिक रुपमा मनाउन नेतृत्व गर्न जरुरी छ ।
(लेखक:- बेस संस्थाको कार्यकारी निर्देशक तथा थारु कल्याणकारीणी सभाका केन्द्रिय कोषाध्यक्ष हुनुहुन्छ)
सन्दर्भ सामाग्रीहरू
– दहित, गोपाल (वि.सं. २०६२) थारु संस्कृतिको परिचय ।
– थारु, चन्द्र प्रसाद (वि.सं. २०७२) थारु लोक संस्कृति, हमार रिति हमार धर्म ।
– कोपिला, छविलाल (वि.सं. २०७९) थारु समुदायको अट्वारी कहिले र कसरी ? आलेख ।
– चौधरी, जुठीलाल (वि.सं. २०८३, भाद्र) अन्तरवार्ता ।


