मटावाँ, बरघर भलमन्सा संघको आयोजनामा भएको सांस्कृतिक महोत्सवमा थारु कलाकारहरूलाई अपमानित भएको भएका थारु कलाकारहरुले बताएकाछन् । दंगीशरण–३, चखौरामा आयोजित महोत्सवमा कलाकारहरूलाई बोलाएर पनि उचित स्थान नदिएको थारु कल्याणकारिणी सभा दाङका सदस्य शोभाराम चौधरीले बताएका छन् ।
गायिका पार्वती चौधरी लगायत थारु कलाकारहरू सम्मान गर्ने कार्यक्रम छ, जसरी पनि उहाँहरुलाई लिएर आउनुहोला सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरी र आयोजक सदस्य किउलापती चौधरीले पटक–पटक फोन गरेर भन्नुभयो, त्यहि आधारमा मैल उहाँहरुलाई लिएर गए ।, तर, उहाँहरुलाई सम्मान त परै जाओस्, बस्नसमेत ठाउँ नदिई अपमान गरियो । यो भन्दा लज्जास्पद के हुन सक्छ ? थारु अधिकारका लागि लड्नेहरूकै हातबाट थारु कलाकारहरूको अपमान भयो भने हाम्रो संस्कृति कसरी जोगिन्छ ?“ उनले आक्रोश पोख्दै भने ।
उनले थारु संस्कृतिको नाममा राजनीति भइरहेको समत आरोप लगाए । “संरक्षण र प्रवद्र्धनको नाममा लाखौं सरकारी बजेट ल्याइन्छ, तर त्यसैको मञ्चमा आफ्ना पार्टीका नेताहरूलाई मात्रै प्राथमिकता दिइन्छ । गाउँ–गाउँबाट नाच्न बोलाइएका टोलीहरूलाई प्रस्तुति दिनसमेत नदिई फर्काइन्छ,“ चौधरीले भने ।
चखौरामा आयोजित महोत्सवमा घोराहीबाट आएको टोलीमाथि अपमानजनक व्यवहार गरिएको उनले गुनासो गरे । थारु संस्कृतिको संरक्षणका लागि गरिएको भनिएको कार्यक्रममा यस्ता गतिविधि हुनु दुःखद भएको चौधरीको भनाइ छ ।