सगरमाथा आरोही हरिबहादुर बुढालाई दाङमा अभिनन्दन

सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढालाई दाङमा भव्य नागरिक अभिनन्दन गरिएको छ ।

गोर्खा ग्रुप दाङको अगुवाइमा सर्वसाधारणको उपस्थितिमा घोराहीको तुलसीपुर चोकदेखि घोराहीको बजारमा परिक्रमा गरिएको थियो।

दंगालीहरुले झाँकीसहित उनको स्वागत गरे। मगर, थारु समुदायलगायत समुदायले आ–आफ्नो वेषभूषा र बाजागाजासहित दाङको दर्जनौं क्रियाशील संघसंस्था, विभिन्न विद्यालयका विद्यार्थीहरुले स्वागत सम्मानको लागि चोक चोकमा उपस्थिति भएका थिए।

बजार परिक्रमापछि बहुउद्देश्यीय सभागृहमा भएको कार्यक्रममा नागरिक अगुवा एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले बुढालाई सम्मान पत्रले सम्मान गरे।

सोही क्रममा सम्बोधन गर्दै बुढाले अपांगता भएकाहरु सक्षम हुन्छन् भन्ने देखाउनको लागि आफूले सगरमाथा चढेको बताए। आफू अपांगता भए पनि देश र समाजको लागि केही गरेर देखाउने सपना रहेको बताए। खुट्ट गुमाए पनि आफूले हौसला नगुमाएको बताउँदै बुढाले आफू भाग्यमानी भएर सगरमाथा आरोहण गर्न सफल भएको बताए।

बेलायती सेनामा जागिर खाने क्रममा ८ वर्षअघि अफगानिस्तानस्थित हेलमान प्रान्तको आक्रमणमा परी बुढाले दुवै खुट्टा गुमाएका थिए। उनी गत जेठ ५ गते ३ बजे १० मिनेट जाँदा सगरमाथा चढेर विश्व किर्तिमान कायम गरेका थिए।

यसअघि २०१६ मा सूर्यकुण्ड हिमाल नेपाल, बेन नेभिस स्कटल्याण्ड, माउन्ट ब्ल्याडक फ्रान्स हुँदै नेपालको थोराङलापाससम्म पुगिसकेका छन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित